दशैंको शुभकामना

 सम्पादकीय

हिन्दु नेपालीहरुको चाड वडा दशैंको आज फुलपाती । योसँगै दशैं हाम्रो घरआँगनमा भित्रिएको छ । सुख, शान्ति र समृद्धिको कामनासहित हर्षसहित नेपालीहरुले दशैं मनाउने गरेका छन् । तर, यस पटकको दशैं भारी वर्षाका कारण सिर्जित प्राकृतिक विपत्तिले मनाउन सहज छैन । असोजको दोस्रो साता आएका भिषण वर्षापछिको बाढी पहिरोले ठूलो धनजनको क्षति गर्यो । जसले सबै नेपालीहरुको दैनिकी नै बिथोलिदियो । २५० भन्दा धेरैको मृत्यु, कतिपय अझै बेपत्ता बनाएको बाढी र पहिरोले ठूलो भौतिक क्षति गरेको छ । सयौं घरबारविहिन छन् भने कतिपय सडक सञ्जालमा अबरोध रहेकोले दशैं मनाउने गाउँघर पुग्ने नागरिकलाई पनि सास्ती भोग्नुपर्ने अवस्था छ । दशैंको मुखमा आएको प्राकृतिक विपत्तिका कारण महान् चाड दशैं खल्लो नै हुने अवस्थामा दशैंको शुभकामना पनि भारी मनले दिनुपर्ने बाध्यता छ ।

एक दशकभित्रै महाभूकम्प, कोरोना महामारी बेहोरेको नेपालमा यस पटकको दशैंमा प्राकृतिक विपत्ति बेहोर्दै दशैं मनाउनु पर्ने भएको छ । दूरदेशमा रहेकाहरु आफन्त भेट्न, मान्यजनको आशिष थाप्न घर फर्किन थालेपछि दशैं आयोको अनुभूति हुने गरेको छ । तर, यो वर्ष अघिल्लो वर्ष जस्तो सबै गाउँघर फर्कन पनि सकेनन् । आउन चाहेकाहरुले पनि विपद्को कारण आफ्नो योजना क्यासिल गर्न बाध्य भए । वर्षभरीको दौडधुप, व्यस्तता र तनाब विर्सेर दशैं मनाउने तयारीलाई बाढी र पहिरोले बिथोलिदियो । यद्यपी दशैं आएको छ । देशमा आइपरेको पीडा र शोकको बिचमा विगतको जस्तो उत्साहपूर्ण नभएपनि दशैंको रमझम सुरु भइसकेको छ । यो पर्वका अवसरमा हामी हाम्रा समस्त पाठक, लेखक तथा विज्ञापनदाताहरुमा हार्दिक शुभकामना प्रकट गर्दछौं ।

दशैंको मुखमा देशले भोग्नुपरेको विपद् र त्यसबाट भएको क्षतिको जिम्मेवार राज्य हो । विपद् आउँदैछ भन्ने सरकारले पूर्वसूचना पाएर पनि क्षति कम गर्ने सरकारले पूर्वतयारी नै गरेन । विपद् सुरु भएपछि त सरकार नै बेपत्ता झै भयो । नागरिकले पनि सचेतना अपनाएनन् । यसबाट राज्य र आम नगरिकले पनि आगामी दिनको लागि पाठ सिक्नुपर्छ । यहि घटना कारण आम जनजीवन सधैंभर शिथिल हुन सक्दैन । समाजलाई गतिशील बनाउनुपर्छ । जो जीवित छन्, उनीहरूका लागि राज्यले आवश्यक योजना बनाउनुपर्छ, उनीहरूलाई नियमित जीवनमा फर्काउनुपर्छ । समयको गतिसँगै अगाडि बढाउन सहयोग गर्नुपर्छ । राज्य अनि समाज दुवैको दायित्व हो यो ।

विपत्तिले निम्त्याएको शोकलाई शक्तिमा रूपान्तरण गर्दै अगाडि बढ्नुपर्छ । दशैंमा हुनेखानेहरूले धेरै फजुल खर्च गर्ने र शान सौकात प्रदर्शन गर्नेभन्दा पनि हुँदा खानेहरूलाई साथ दिनुपर्छ । सबै सँगै मिलेर चाड मनाउनुपर्छ । दशैंबाट यो प्रेरणा सबैलाई मिल्न सकोस् । फेरि पनि सबैलाई विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना ।

बिहिबार, २४ असोज, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर