देउवा पराजयको काउन्ट डाउन सुरु

 अनन्तराज न्यौपाने

नेपाली राजनीतिक आकाशका उज्ज्वल नक्षत्र वीपी कोइरालाको जन्मजयन्ती भर्खरै सकिएको छ । नेपाली काङ्ग्रेसले कर्मकाण्डी रूपमा भएपनि यस पटकको भदौ २४ लाई त्यति महत्त्व दिएन । यसको मुख्य नेतृत्व गर्नुपर्ने स्वयं पार्टी सभापति र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले हो । तर, एमसीसी समस्या सुल्झाउन नेपाल आएका दुई अमेरिकी व्यक्तित्वका अगाडि देउवाले आफ्ना राजनैतिक गुरुलाई चटक्क बिर्सिए । नेपाली काङ्ग्रेसले देशभरिमा कुनै राम्रो कार्यक्रम गरेको र वीपी विचारलाई प्रवाह गरेको खबर पढ्न यसपटक पाइएन । बरु अभिनयका कृत्रिम शैलीमा प्रस्तुत हुने उनका प्रवक्ता विश्वप्रकाश शर्माले सुन्दरीजल गएर वीपीलाई सम्झने प्रयत्न गरे । त्यसो त, शर्मा पनि वीपीलाई सम्झनेभन्दा आफ्नो उम्मेदवारी घोषणालाई बढी प्राथमिकतामा राखेर सुन्दरीजल गएको प्रतीत हुन्थ्यो ।

बीपी कोइरालाको निधन भएलगत्तै काठमाडौंमा भारतीय नेताहरूको ओइरो लागेको थियो । त्यसबेलासम्म भारतका उच्च स्तरका नेताहरू कि त वीपीका समकालीन थिए वा वीपीले तिमी भनेर सम्बोधन गर्ने हैसियतका थिए । वीपी आफैँ भारतीय स्वतन्त्रता सङ्ग्राममा लागेका थिए र नेहरु, जयप्रकाश, राममनोहर र डा.राजेन्द्रप्रसाद जस्ता वरिष्ठका घनिष्ठ मित्र थिए । वीपीलाई गुरु मान्ने भारतका समाजवादी नेता एवम् पत्रकार जर्ज फनान्डिज पनि वीपीका शवयात्रामा आएका एक नेता थिए ।

शवयात्राको भोलिपल्टै भएको शोकशभामा नेता फनान्डिजले नेपाली काङ्ग्रेसका नेताहरूलाई सान्त्वना दिँदै भनेका थिए, ‘वीपी भनेको व्यक्ति होइन विचार हो र यो विचार रक्तवीजका रूपमा छ । त्यसैले आज एउटा वीपीको निधन भएर केही फरक पर्दैन । रक्तवीजको यो शोकबाट लाखौँ वीपीहरू नेपालमा जन्मने छन् र नेपालमा प्रजातन्त्रको पुनःस्थापना गर्नेछन् ।’

नभन्दै वीपीको निधन भएपछि पनि नेपालमा सङ्घर्षको क्रम रोकिएन । नेपाली काङ्ग्रेसले लगत्तै २०४१ सालमा विन्तीपत्रको आन्दोलन र २०४२ मा सत्याग्रहको कार्यक्रम चलायो । २०४६ सालसम्म आइपुग्दा फनान्डिजको भविष्यवाणी र शुभकामनाले मूर्त रूप पाइसकेको थियो । संयुक्त जनआन्दोलनले प्रजातन्त्रको पुनःस्थापना गरी छाड्यो ।

तर, नेपाली काङग्रेसमा २०४६ पछि वीपी विचार सेलाउँदै गयो । मरेका बाउको वार्षिक एकोद्दिष्ट श्राद्ध र पितृ पक्षमा महालय श्राद्ध गरी वर्षमा २ पटक सम्झेजस्तो वीपीलाई पनि वर्षमा २ पटक सम्झने औपचारिकता पूरा गर्न थालियो । समग्रमा नेपाली काङ्ग्रेसले वीपी विचार पोलेर खायो ।
अहिले नेपाली काङ्ग्रेस १४ औँ महाधिवेशनका सङ्घारमा छ । यही परिप्रेक्ष्यमा जिल्ला–जिल्लाका वडा र पालिकामा चुनावको लहर छ । यसक्रममा पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरामा जुन शैली र रवैया अपनाइएको छ, त्यसले काङ्ग्रेसको परम्परा, मर्यादा र पहिचानको धज्जी उडाएको छ । सभापति देउवाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरेर एकलौटी रूपमा डडेलधुराका पालिकाका वडा–वडामा पार्टीको आन्तरिक निर्वाचन गराएका छन् । चालीसौँ वर्षदेखि वीपी विचार बोकेर नेपाली काङ्ग्रेसमा लागेको भुइँ कार्यकर्ता आज देउवाका प्रहरीको लठ्ठी खाएर लज्जित हुन विवश छ । पञ्चायतकालका अन्तिम दिनमा जनकपुरमा हेमबहादुर मल्ल, मोरङमा बद्री मण्डल, हेटौंडामा कमल थापा र भैरहवामा निरञ्जन थापाजस्ता नेता यस्तै कुरूप ताण्डव प्रस्तुत गर्थे । यसको अभिभावकत्व त्यस बेलाका भूमिगत गिरोह मानिने ज्ञानेन्द्र, धीरेन्द्र र शरदचन्द्र शाहले लिएका हुन्थे । आज तिनै शरद्चन्द्र शाहका ठाउँमा शेरबहादुर छन् र सरकारी संयन्त्र तथा सुरक्षाकर्मीलाई दुरूपयोग गरेर आफ्ना पक्षमा चुनावी परिणाम घोषणा गराइरहेका छन् । यसरी देउवाले बीपी विचारलाई सिधै डस्टबिनमा मिल्काएका छन् ।

२०३७ को जनमत सङ्ग्रह र यसको परिणामलाई स्वीकार गर्नु वीपी कोइरालाको प्रजातान्त्रिक चरित्र र मर्यादाको उत्कर्ष स्वरूप थियो । वीपीले जनमतको परिणामलाई अप्रत्यासित, व्याख्या गर्न नसकिने र बुझ्न नसकिने भएपनि यसलाई स्वीकार गर्छु भन्ने वक्तव्य निकालेका थिए । त्यस्ता महान् नेताबाट दीक्षित देउवा पार्टीको आन्तरिक निर्वाचनको परिणाम आफ्ना पक्षमा पार्न प्रहरी र सेना परिचालन गरिहेका छन् भने योभन्दा ठूलो विडम्बना अर्को के हुनसक्छ ?

देउवाका यस्तै अलोकतान्त्रिक कदमहरूले के सङ्केत गरिरहेको छ भने उनको राजनीतिक पतन छिट्टै र अवश्यम्भावी छ । जुन नेता जनताका आडमा नभई मनी, मसल र पावरका आधारमा टिकेको हुन्छ उसलाई कसैले हराइरहनु पर्दैन । ऊ आफ्नै दुष्कर्मले हारिरहेको हुन्छ । यसै भएर नै देउवालाई कुनैबेला साथ दिने विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठदेखि विश्वप्रकाश शर्माहरूले छाडिसकेका छन् । देउवाको गैरकाङ्ग्रेसी बोलीवचन, शैली र कार्यकलापले काङ्ग्रेस परम्परामा हुर्किएका नेतालाई त्यहाँभित्र टिक्न गाह्रो र असजिलो भइरहेको छ । आज देउवा मुलुक र पार्टीको उपल्लो पदमा भएर पनि त्यसैले एक्लिएका छन् र पार्टीभित्र उनको पराजयको काउन्ट डाउन सुरु भइसकेको छ ।

मङ्गलबार, २९ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर