भरत गुरागाईँ बर्बरीक
सिराने माइलोको दबाब छ, ममाथि ‘एउटा नाटक लेख्नू न’ । स्वभाविक हो उसको माग किनभने म नाटक लेख्ने कर्म गर्छु । तर, उ समसामयिक राजनीतिको बारेमा नाटक लेख्नु भन्छ । जो म लेख्न रुचि राख्दिनँ । सिराने माइलोको मन राखिदिन पनि मैले नाटक लेख्नु पर्नेछ । मान्छेको भिडभित्र यतिबेला म दुई वटा दृश्यहरु देखिरहेछु । एउटा दृश्यमा राष्ट्रवादको भद्दा गीत गाउँदै नाङ्गा मान्छेहरु देखापरेका छन् । उनीहरु गरिब भएर नाङ्गा भएका होइनन्, नाङ्गो हुनु उनीहरुको धर्म हो । बाँच्नका लागि उनीहरुले उत्पादनसँग जोडिएको काम गर्नुपर्दैन । अर्काे दृश्यमा म देखिरहेको छु, अर्काथरी मान्छेहरु, तिनीहरु पनि नाङ्गै छन् । जो एकअर्कालाई निकृष्टभन्दा निकृष्ट गाली गर्न व्यस्त छन् र आफूले लगाएको कट्टु पनि इँजार चुँडिएर झरेको हेक्का राख्दैनन् । यी दोस्रो थरिकाले पनि बाँच्नका लागि उत्पादनसँग जोडिएको काम गर्नुपर्दैन । वस्तुतः यी दुबै दृश्यमा देखिएकाहरु परजीवी हुन् । यी दृश्यहरु टुलुटुलु हेर्न एक आम नागरिकको हैसियतले म पनि तपाईं जस्तै विवश छु ।
मलाई लाग्थ्यो, राजनीति भनेको असल मनसाय भएका स्फटिक जस्ता मान्छेहरुको विचारको परिचालन हो । यति लामो समय भ्रम र ऐंठनमा बाँचेको रहेछु । पार्टी नामको पसल थाप्ने, डाका, गुण्डा र ज्यानमाराहरुको ठूलो चौतारी पो हुँदो रहेछ पार्टी भनेको । म यतिबेला चाणक्यलाई सम्झिन्छु, जसले राजनीतिमा नीतिका कुरा जीवनभर गरिरहे । कन्फ्युसियसले सत्तामा सदाचार र सुशासनको वकालत गरे । आज हरिबिजोक छ, मैले बच्चैदेखि बुझ्दै आएको राजनीति र अहिले भोगिरहेको राजनीतिको समानता र सम्बन्ध कहीँ कतै भेट्दिन । सिराने माइलोले अलि बढी नै दबाब दिइरहेछ । विगतमा उसले मेरो अभिनयमा एउटा नाटक हेरेको थियो । त्यस नाटकमा मैले एक ईण्डियनको भूमिका निर्वाह गरेको थिएँ, माइलोलाई खुब राम्रो लागेको थियो । ऊ अहिले पनि त्यही नाटक झल्झली सम्झिन्छ ।
देशभक्तिका कुरा गरौँ न, एकछिन । हाम्रो देशका पार्टीहरु र हामीले भोट दिएर नेता बनाएका मान्छेहरु आफू सत्तामा हुन्जेल भारत, अमेरिका, चीन वा विदेशीहरुको गुलाम नै हुन्छन् । टाँङमुनि छिर्छन् र विदेशीको हितमा राष्ट्रघाती सम्झौता गरेर देशभक्तिको बकवास गर्छन् । जब तिनीहरु नै सत्तास्वादबाट ओर्लिन्छन्, तिनै विदेशीहरुको चर्काे विरोध गर्न झण्डा बोकेर हामीलाई सडकमा ओराल्छन् । हाम्रो देशमा कति पार्टी त विदेशीकै स्वार्थका लागि खोलिएका छन् । यो गन्जागोलको माझमा म सिराने माइलोको इच्छा कसरी पूरा गर्न सकूँला ।
थोरै शब्दमा कम्निष्टहरुका पनि कुरा गरौँ न । तेस्रोधार ! हाहाहा… । खासमा यो तेस्रो धार होइन । यो अवसरवादीहरुको झुण्ड हो । यो झुण्डले अब अलि लामै समयसम्म सङ्लो पानीलाई धमिलो पार्छ । के पी शर्मा ओली, माधवकुमार नेपाल र प्रचण्डलाई बारम्बार क्वाँक्वाँ रुवाउँछ । हेर्दै गर्नुहोला यो कुरा प्रमाणित हुँदैछ र अझै प्रष्ट हुनेछ । तपाईँलाई थाहा छ नि । ‘ओल्लाघरका नरे पल्लाघरमा सरे ।’ मलाई पढिरहनुभएका साथीहरु ! म यतिबेला आइसोलेशनमा छु । मेरो सिङ्गो परिवार यतिबेला कोरोनासँग युद्ध गर्दैछ । यो त मेरो निजी र बेग्लै कुरा हो । अँ एमसीसी हल्ला र यसको श्रंखला तपाईं पनि हेर्दै र सुन्दै हुनुहुन्छ । सडकमा एमसीसीको विरोधमा जतिसुकै चर्का कुरा गरे पनि त्यो सक्कली होइन । यिनीहरु सबैजसो नै राष्ट्रका विरोद्धमा र एमसीसीको पक्षमा छन् । मेरो गाउँमा लाग्ने मेलामा कुस्ती खेलको आयोजना हुने गर्छ । कुस्तीबाजहरु कुस्ती खेलिरहँदा तिनीहरुको बीचमा निकै ठूलो दुश्मनी छ कि जस्तो लाग्छ । तर, जब चितपट भएर खेल सकिन्छ । ती कुस्तीबाजहरु आफ्नो गुरुलाई बीचमा राखेर रमाउँदै रमाउँदै जुलेबी (जेरी) खान्छन् । आहा ! कस्तो समानता छ हाम्रो गाउँका कुस्तीबाज र नेपाली राजनीतिका खेलाडीबीच । सरकारको कडा आदेश छ, एमसीसीको विरुद्ध नबोल्न । म बोल्छु, म एमसीसीको विरुद्धमा छु । सरकारले पक्डेर जेल हाल्छ रे । कोई बात छैन । म त्यहीँ जेलभित्रबाट नै राजनीतिक नाटक लेखेर सिराने माइलोको इच्छा पूरा गरुँला ।