सम्पादकीय
कोरोना जोखिम कायमै रहेका बेला प्रदेश १ का सीमा नाकाहरु धमाधम खुलिरहेका छन् । यसले स्वाभाविक रुपमा चिन्ता थपेको छ । तर, के सधैंभरी नाका ठप्प पारेर हाम्रो जनजीवन धान्न सम्भव छ ? पक्कै कठिन छ । त्यसैले उद्योगी–व्यवसायीको निरन्तरको दबाबमा नाकाहरु खुल्न थालेका छन् । नाकामा हुने खुकुलोपनले मुलुकको आर्थिक क्षेत्रको रक्तसञ्चार सुधार्ने अपेक्षा गर्न सकिन्छ । तर, यही नाका खोल्ने निर्णय नै कोरोनाको अर्को लहरलाई गरिएको खुला निम्तो बन्ने अवस्था आउन दिनु हुँदैन ।
पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमण दर घटेको छ । बुधबार त संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ । यसले दोस्रो लहरको प्रभाव मत्थर बन्दै गएको संकेत गर्छ । यद्यपि यो आँधी आउनुअघिको सन्नाटा हुन पनि सक्छ । किनभने कोरोनाको तेस्रो लहरको उच्च जोखिममा नेपाल रहेको विज्ञहरुले बताइसकेका छन् । छिमेकी भारतमा तेस्रो लहरको संकेत प्रष्ट देखापरिसकेका कारण पनि नेपाल खतरा नजिकै छ । त्यसैले अहिले घटेको संख्यालाई आधार मानेर लापरबाही गर्ने छुट छैन ।
तेस्रो लहरको जोखिम कायमै रहेका बेला प्रदेश १ का सीमा नाकाहरु धमाधम खुल्न थालेपछि यहाँ संक्रमणको पुरानै दर दोहोरिने त होइन भन्ने आशंका उच्च भएको छ । भारतीय भूभागमा संक्रमणको सिलसिला कायमै भएका बेला नेपाली पक्षले नाकामा नै सतर्कता देखाउनुपर्छ । दुई साता अघिदेखि विराटनगर नाका खुला गरिएको प्रदेश १ मा अब काँकडभिट्टा नाका पनि खुला भएको छ । कोरोना महामारी नियन्त्रणमा आइनसकेको भारतीय भूमिबाट केही कागजातसहित नेपाल आउन खुला गरिँदाको जोखिमबारे सरकारले पूर्वानुमान गर्ने, नाकामा स्वास्थ्य प्रोटोकलको पालना गर्ने कुरामा कुनै सम्झौता गर्न हु्ँदैन ।
आफूले गरेको कमजोरीकै कारण विगतमा ठूलो समस्या आइलागेको तथ्यलाई सरकारले मात्रै होइन, सर्वसाधारणले पनि पाठका रुपमा लिन जरुरी छ । भारतीय भूभागमा कोरोनाले आतंक मच्चाउँदा वैकल्पिक बाटो हुँदै नेपाल आउने, क्वारेन्टिनको मापदण्ड पालना नगर्ने, कोरोना परीक्षण पनि नगर्ने कमजोरी नागरिक पंक्तिबाट प्रदर्शित भयो । मास्क लगाउन, दुरी कायम गर्न देखाएको अनिच्छा त झनै ठूलो आकारमा देखियो । त्यस्तै लकडाउन वा निषेधाज्ञा घोषणा गरेर ढु्क्कसँग बस्ने गल्ती सरकारी पक्षबाट भयो । यी सबै कमजोरीहरुको कूल योग नै दुई चरणको कोरोना महामारी थियो । यसर्थ यी गल्तीहरु दोहोरिन नदिन सरकार र नागरिक दुवै पक्ष चनाखो बन्नैपर्ने बाध्यता छ ।