बालबालिकाको भविष्यमाथि खेलवाड

 सम्पादकीय

अपराधमा बालबालिकाको प्रयोगको घटना नौलो होइन । तर, विराटनगरमा देखिएको अपराधको पछिल्लो ‘ट्रेन्ड’ ले यस्ता कर्ममा बालबालिकाको प्रयोग बढेको देखाएको छ । खासगरी बाइक चोरी धन्दा चलाउँदै आएको संगठित गिरोहले बालक प्रयोग गरेर चोर्ने र उनीहरुकै संलग्नतामा त्यसलाई गन्तव्यमा पुर्याउने चलाखी गरेको भेटिएको छ । पैसाको लोभ देखाएर हुर्कौलो उमेरका किशोरहरुलाईसानैदेखि अपराधकर्ममा लगाउने काम खतराको संकेत हो । राज्य, अभिभावक र स्वयम् संलग्नहरुकै भविष्यका लागि पनि यो सुखद् खबर होइन ।

जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांक अनुसार पछिल्लो समयमा विराटनगरमा बाइक चोरीको घटना ह्वात्तै बढेको छ । यस्ता घटनामा उपयोग हुनेहरु चाहिँ बालकहरु छन् । भर्खरै मात्रै मोरङ प्रहरीले चोरी अभियोगमा दुई जनालाई पक्राउ गर्यो, जसमा क्रमशः १५ र १६ वर्षका किशोर थिए । नेपालको कानुनले उनीहरुलाई बालक नै भनेको छ । शिक्षा लिने, जीवनोपयोगी सीप सिक्ने उमेर भएकै कारण राज्यले उनीहरुमाथि विषेश निगरानी राखेको हुन्छ । निकृष्ट र असुरक्षित श्रममा लगाउन नपाइने, उनीहरुलाई काममा लगाए बालश्रम हुने प्रबन्ध पनि कानुनतः गरिएको छ । तर, तथ्यहरुले चाहिँ त्यही उमेरका बालकहरुलाई अपराधमा प्रयोग गरिएको पाइन्छ । यसरी उपयोग भएर अपराधमा सहभागी हुनेहरु अरु कति होलान् ? सम्भवतः यो गम्भीर सवालमा राज्ययन्त्र सजग छैन । यसैको परिणाम हो, अपराधमा उनीहरुको प्रयोग ।

कानूनले वर्जित गरेका श्रमका क्षेत्र अनेक छन् । त्यस्तो क्षेत्रमा बालबालिकालाई प्रयोग रोकिएको छैन । सबैभन्दा उदेकलाग्दो चाहिँ उनीहरुलाई अझै पनि अपराधमा प्रयोग गरिनु हो । लागुऔषध ओसारपसार गर्ने गिरोहले बालबालिका प्रयोग गर्दै आएको धेरै भयो । हम्मेसी प्रहरी निशानामा नपर्ने, थोरै पैसामै काम लगाउन सकिने भएपछि बालबालिकालाई खटाउने आपराधिक गिरोह धेरै छन् । लागुऔषध कारोबारको जालो भत्काउन प्रहरी असफल हुनुको एउटा मुख्य कारण त्यसमा बालबालिका सामेल हुनु पनि हो । लागुऔषध बोकेर सीमा वारपार गर्ने बालबालिकामा प्रहरी नजर कमै पुग्छ । यसको फाइदा कारोबारीले उठाएका छन् । संलग्न बालबालिकाको भविष्य भने अन्धकारतर्फ तीव्र गतिमा अग्रसर भइरहेको छ ।

बाइक चोरीको घटनामा कलिला उमेरका किशोर प्रयोग गर्नु पनि कम खर्चले काम चलाउने र सुरक्षित हुने गिरोहको बठ्याइँ नै हो । यसै पनि भारतसितको खुला साँध नेपाली भूभागका लागि सदा चुनौतीको विषय हुँदै आएकै छ । सीमापार अपराधको सिलसिला कायमै छ । यस्तै अपराधमा बालबालिका मुछिनु उनीहरुको अधिकारमाथिको हमला पनि हो । यो उमेर खेल्ने, सिक्ने र पढ्ने हो । यहीबेला अपराधका घटनामा उनीहरुलाई संलग्न गराउँदा तिनले अन्ततः सिक्ने त्यही कर्म हो । समाजको काँचो माटो मानिने बालबालिकालाई निश्चित आकार दिने बेलामा बाइक चोर्न, लागुऔषध ओसार्न लगाउने काममा लगाउनेहरुको खोजी गरेर कडा सजाय दिने र यस्ता प्रयासलाई निरुत्साहित तुल्याउन राज्य, अभिभावक र नागरिक संघसंस्थाको सचेत प्रयास अत्यावश्यक छ ।

बुधबार, १६ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर