पहिले अविश्वास, अहिले विश्वास !

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको पृष्ठभूमि कस्तो छ ?

विराटनगर । एमाले नेता तथा प्रदेश १ का सांसद भीम आचार्य बिहीबार प्रदेश १ को मुख्यमन्त्री बनेका छन् ।

बुबा बालाप्रसाद आचार्य र आमा लक्ष्मीदेवी आचार्यको पहिलो सन्तानको रुपमा वि.सं. २०१६ साल वैशाख १४ गते धनकुटामा जन्मिएका आचार्यको स्थायी ठेगाना भने सुनसरीको इनरुवा–६ हो । व्यवस्थापन विषयमा स्नातककोत्तर अध्ययन गरेका आचार्यको राजनीतिक पृष्ठभूमि लामो छ । २०३२ सालको पञ्चायत विरोधी आन्दोलनबाट प्रभावित आचार्य पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा अध्ययन गर्ने क्रममै २०३५ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भए ।

२०३६ सालमा इन्जिनियरिङ अध्ययन संस्थानको स्ववियु सचिवमा अनेरास्ववियुबाट निर्वाचित आचार्य २०३८ सालमा सरस्वती बहुमुखी क्याम्पस, लैनचौरको स्ववियु सचिवमा निर्वाचित भएका थिए ।

राजनीतिक संगठनमा नेताको छवि बनाइसकेका आचार्य ०३८ सालमै तत्कालिन नेकपा (माले)को युथ लिगको सचिव भए । ०३९ सालमा सम्पन्न अनेरास्ववियुको सातौं राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित भएका आचार्य सोही वर्ष नेकपा (माले) लिडिङ युथ लिगको सचिवमा पनि निर्वाचित भएको इतिहास छ ।

०४१ सालमा राजकाज मुद्दामा २ वर्ष जेल र पटक पटक गरी ११ पटक गिरफ्तार बसेका आचार्य ४४ सालमा नेकपा (माले) उपत्यका विद्यार्थी क्षेत्र हेर्ने पार्टी जिल्ला सचिव र अनेरास्ववियुको केन्द्रीय सदस्य भए । ०४६ सालको जनआन्दोलनमा नेकपा (माले)द्वारा गठित प्रजातान्त्रिक आन्दोलन समन्वय समिति’को सचिव बनेका उनी जनआन्दोलनको योजना निर्माणमा सक्रिय सहभागी भए ।

वि.सं. ४७ देखि ५५ सालसम्म नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीको रुपमा जिल्ला फर्किएका उन ०५४ सालमा नेपालगंजमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।

यस्तै ५७/०५८ सालमा पार्टी केन्द्रीय कार्यालयको सचिव भएका उनी २०५८ देखि ०६५ सम्म एमालेको कोशी अञ्चल इन्चार्जको जिम्मेवारी निभाएका छन् । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा आचार्य सुनसरीको तत्कालिन क्षेत्र नम्बर ६ बाट लगातार निर्वाचित भए । पहिलो संविधानसभाको कार्यकालमा नेकपा एमाले संसदीय÷संविधानसभा दलको प्रमुख सचेतक भएका आचार्य २०७० सालमा गठित सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए ।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय समिति सचिवमा निर्वाचित उनी त्यसपछि नेकपा एमाले १ नम्बर प्रदेश संगठन कमिटिको संयोजक र माओवादी–एमाले पार्टी एकतापछि प्रदेश कमिटीको इन्चार्ज समेत भए ।

यस्तै २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १(२)बाट निर्वाचित भएपनि धेरैले आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रचार गरेका थिए । तर, शेरधन राईलाई मुख्यमन्त्री बनाउने एमाले संस्थापन (ओली)पक्षको चाहनाका अगाडि आचार्य संसदीय दलको नेताको निर्वाचनमा २ मतले हारेका थिए ।

नेकपामा विवाद हुँदा माधव पक्षमा लागेका आचार्यसहित दलको बहुमत सदस्यले आफ्नै नेतृत्वमा शेरधन राईलाई मुख्यमन्त्रीबाट हटाउन अविश्वासको प्रस्ताव हाले । त्यति मात्रै होइन राईलाई दलको नेताबाट हटाएर आचार्यलाई दलको नेता पनि चयन गरियो । सभामुखको अनिच्छा र ओली सरकारको दबाबका कारण उक्त प्रस्ताव विचैमा तुहियो । पार्टी विभाजनपछि पनि माधव समूहमा लागेर ओली पक्षको खुबै आलोचना गर्ने आचार्य पछिल्लो समय भने सोही समूहमा लागेका थिए । अन्ततः उनले आफ्ना कट्टर आलोचकहरुकै समर्थनमा बिहीबार प्रदेश १ को दोस्रो मुख्यमन्त्रीको रुपमा कार्यभार सम्हाल्न पुगेका छन् । धेरैले उनको यो कदम कच्चा मानेका छन् । उनी कच्चा हुन् कि पक्का भन्ने विषय भने अबको १ महिनामा हुने राजनीतिक रस्साकस्सीले प्रमाणित गर्नेछ ।

बिहिबार, १० भदौ, २०७८, साँझको ०५:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर