विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक जनाको हत्या भएको छ । आइतबार राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबास घर भइ इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरेर बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको हो ।
बढीगंगा ६ का नानु लिम्बूको भतिजीको बर्थ–डे (जन्मदिन) मनाउन रिजन आइतबार राती घर गएका थिए । नानु र रिजन साथी हुन् । बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका दुई युवा समूहबीच विवाद भएको हो । बुढीगंगा – ६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ÷सात जनाको समूहसँग दाहालको विवाद भएको थियो । विवाद बढदै गएपछि रिजनलाई लिएर बुढीगंगा ६ डम्बर बाहदुर लिम्बुको बारीमा लगेर आक्रमण गरेका थिए । उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ ।
टाउँकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ । घटना छुट्याउन गएका नानु लिम्बु र कमल थापा पनि घाइते भएका छन् । लिम्बुको दाँया हातमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।
हत्या गरिएका दाहाल र घाइते थापा खनारमा डेरा गरेर बस्दै आएका आएका थिए । दुवै जना खनारस्थित रिलायन्स धागो उद्योगमा कार्यरत रहेको प्रहरीले जनाएको छ । शनिबार राती रिजन र बुढीगंगा ६ डल्लेपुरका २५ वर्षिय धनबहादुर तामाङको झगडा भएको थियो । झगडा हुदा रिजनले धनबहादुरलाई एक झापड हानेका थिए । त्यही झापड हानेको रिस फेर्न रिजन बर्थडेको आएको मौका छोपेर आक्रमण गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । ‘अघिल्लो दिन रिजन र धनबहादुरको झगडा भएपछि स्थानीय नविन लिम्बुको घरमा पुगेर रिजनले माफि पनि मागेका रहेका छन् । माफि मागेपछि मिलेर गएका थिए । तर, झापड हानेको इख धनबहादुरले लिइरहेका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘त्यही झापड हानेको रिस फेर्न रिजनको हत्या हुन पुग्यो ।’
घटनापछि प्रहरीले दुई युवालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । प्रहरीले बढीगंगा ७ का २५ वर्षिय अजय श्रेष्ठ र धनकुटा ४ दव्रेबास घर भइ इटहरी १३ बस्दै आएका २४ वर्षिय कमल थापालाई मोरङ प्रहरीमा ल्याएर अहिले घटनाबारेमा अनुसन्धान सुरु गरेको छ ।