नविन पौडेल
नेकपा एमाले विभाजन र अलिहेको राजनीतिक परिस्थितिलाई कसरी लिनु भएको छ ?
– नेपालमा कम्युनिष्ट पार्टीको इतिहास हेर्ने हो भने जब–जब पार्टी केही ठूलो र मजबुत हुन्छ । सरकारमा संलग्न हुन्छ, अवसरमा पुग्छ । तब, नेतृत्वमा रहेका व्यक्तिलाई देशीविदेशी प्रतिक्रियावादीहरूले घेराबन्दी गरेर पार्टी फुटको अवस्थामा पुगेको देखिन्छ । त्यो यथार्थबाट एमाले पनि अछुतो रहेन । एमाले यसअघि पनि पटक–पटक विभाजित भएको छ । दुई तिहाई नजिकै रहँदा पार्टी पंक्तिलाई बेवास्ता गर्दै आन्तरिक सहमति र सम्झौतालाई पालना नगरी पार्टी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढ्ने कोशीस गरे । संघीयता र गणतन्त्रलाई जनमानसमा हेर्ने दृष्टिकोण नै नकारात्मक बनाउने पुरानो योजना अनुसार नै उनले संविधानविपरीत प्रतिगामी काम गरे । त्यही कारण प्रतिगमन र अग्रगमनबीचको टकरावले एमाले विभाजन भयो । पार्टी विभाजन किमार्थ राम्रो होइन । यद्यपि विपरीत ध्रुवको तालमेल लामो समयसम्म सम्भव थिएन फुट्यो । अब प्रगतिशीलहरूको एकतामा जोड दिएर अगाडि बढ्नुपर्छ ।
माथिल्लो तहका नेताहरूको झगडाका कारण राजनीतिक पार्टीमा संलग्न तपाईजस्ता युवामा कस्तो असर पर्छ ?
– झट्ट हेर्दा झगडा पद र प्रतिष्ठाको जस्तो देखिए पनि व्यवस्था र विचारको झगडा हो भन्ने मेरो बुझाइ छ । यसबाट पाठ सिकेर नामको मात्र एकता होइन वैचारिक र भावनात्मक एकता गरेर मात्र अगाडि बढ्न सकिन्छ । यसको असर दीर्घकालिन नहोला । तथापि विभाजन खिचातानीले तमाम युवा राजनीतिकर्मीलाई केही हतोत्साहि बनाएको छ ।
अहिलेका पार्टीहरूमा देश निर्माण गर्ने र समृद्ध बनाउने ठोस योजना छ ?
– ठोस योजना भएको पार्टी माओवादी केन्द्र नै हो । अब फेरि जनताले माओवादी केन्द्रलाई अवसर दिनुपर्छ । अहिलेको गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी राज्यप्रणाली माओवादीको एजेण्डा हो । यसलाई कसरी कार्यान्वयन गर्ने र जनहित, मुलुकहितमा कसरी प्रयोग गर्ने भन्ने योजना केवल माओवादीसँग मात्रै छ ।
त्यसो भए अहिले माओवादीको कार्यशैली सोही योजना अनुसार बनेको छ ?
– माओवादी पार्टी र त्यसको नेतृत्व सदैव जनहितमा र आफ्नो एजेण्डामा अडिग देखिएको छ ।
पार्टीहरूले अबलम्बन गरेको नीतिगत व्यवस्था र कार्यशैलीले नयाँ पुस्तालाई नेतृत्व विकासमा के–कस्तो अवरोध सिर्जना गरेको छ ?
– पार्टीहरूले नयाँ पुस्तालाई योजना बनाएर नीतिगत रूपमा नेतृत्वमा अवसर दिनुपर्छ । अहिले माओवादीको विधानमा २० प्रतिशत युवालाई संगठनमा समावेश गराउने गरि शंसोधन भएकाले युवाको भूमिका सशक्त हुने अपेक्षा गर्न सकिन्छ ।
अबका युवाहरूले देश निर्माण र राजनीतिक प्रणालीको सुधारमा कस्तो भूमिका खेल्नुपर्दछ ?
– देशमा विद्यमान कर्मचारी संयन्त्र र त्यहाँ मौलाएको अनियमितता र विकृति विसंगतिको विरुद्धमा युवाहरूले आफूलाई सशक्त बनाउन जरुरी छ । नेताहरूले जे गरे पनि ताली ठोकेर झोला बोकिरहेमा देश विकास असम्भव छ । अहिले नेकपा र एमाले विभाजनमा युवाहरू पनि दोषी छन् । आफ्नो नेताले जे भने पनि जतिसुकै गलत गतिविधि गरेपनि निहीत स्वार्थका लागि त्यसको समर्थन गर्ने र गुटबन्दीमा सहभागी हुने युवाको कारण पनि देश विकासमा बाधा उत्पन्न भएको छ । तसर्थ ठिकलाई ठिक र गलतलाई गलत भन्ने हिम्मत युवाहरूले गरेमा नेतृत्व पनि सचेत हुन्छ ।