विराटनगर । प्रदेश १ सरकारले झापाको सताक्षीधाममा पानीको स्रोत नै नभएको ठाउँमा करोडौं लगानी गरेर ओभरहेड ट्याङ्की बनाएको पाइएको छ ।
सताक्षीधाम नगरपालिका करिव १० करोड लगानी गरेर खानेपानी आयोजना निर्माण गरिसकेपछि त्यस ठाउँमा भूमिगत पानीको स्रोत नै नभएको पुष्टि भएको हो ।
जमिनमुनी पानीको स्रोत नभेटिएपछि सरकारको करोडौं लगानी जोखिममा परेको छ । ओभरहेड ट्याङ्की निर्माण गरिएको क्षेत्र वरपरका वैकल्पिक स्थानमा डिप बोरिङ्ग गर्दा पानीको दिगो स्रोत फेला नपरेको आयोजनाले जनाएको छ ।
जमिनमुनीको पानी ओभरहेड ट्याङ्कीमा जम्मा गरेर वितरण गर्न सताक्षीधाम नगरपालिका ११ स्थित दूधेमा सताक्षी खानेपानी आयोजना निर्माण गरिएको थियो । आयोजना अन्तिम चरणमा पुगेपछि डिप बोरिङ्ग गरिएको थियो । डिप बोरिङ्ग गरेपछि केही दिन पानी आएर आयोजना उद्घाटन भएकोमा केही दिनपछि बोरिङ्गबाट पानी आउन बन्द भएको हो ।
उपभोक्तामार्फत सञ्चालित आयोजनामा डिभिजन कार्यालयले ३–४ ठाउँमा डिप बोरिङ्ग गर्दा पनि पानीको दिगो स्रोत भेटाएको छैन । ‘डिप बोरिङ्ग गरेको ठाउँबाट केही दिन पानी आउने, त्यसपछि बालुवा आउन थाल्ने समस्या देखियो,’ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका डिभिजनल इन्जिनियर सयन श्रेष्ठले भने । पटक–पटक डिप बोरिङ्क गर्दा पनि पानीको स्रोत फेला नपरेपछि डिभिजन कार्यालयले त्यस क्षेत्रको भौगोलिक सर्भे गर्दा सो क्षेत्रमा पानीको स्रोत नै नभएको पुष्टि भएको छ ।
प्रदेश सरकारले झण्डै १० करोड रुपैयाँको लगानीमा सताक्षीधाम खानेपानी आयोजना निर्माण गरिरहेको छ । उपभोक्ता समितिले ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांक निर्माण गरेको छ । कतिपय क्षेत्रमा पाइपलाइन बिस्तारको काम पनि भएको छ । तर, आयोजना असफल भएपछि स्वच्छ पानी पाउने स्थानीयको सपना अधुरो बनेको छ ।
अहिले सताक्षीधामको खोलाको मुहानबाट पानी ल्याएर पुराना उपभोक्ताहरुले पानी पिउँदै गरेको इन्जिनियर श्रेष्ठले बताए । उनले भने ‘त्यस क्षेत्रमा जति गरेपनि भूमिगत पानी आउने सम्भावना छैन, त्यसैले त्यस क्षेत्रमा रहेका अन्य आयोजनाहरुसँग मर्ज गरेर सताक्षीधामका उपभोक्ताहरुलाई पानी उपलब्ध गराउने विकल्पबारे मैले सुझाव दिइरहेको छु ।’
खानेपानी आयोजना निर्माण गर्दा निर्माण स्थलमा पानीको स्रोत भए नभएको, पानीको गुणस्तर राम्रो भए नभएको बारेमा पूर्व अध्ययन गर्ने, विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य गर्नुपर्नेमा त्यसो नगरी लगानी गर्दा सरकारको करोडौं रुपैयाँ खेर जाने अवस्था आएको हो । प्रदेशसभा सदस्य झलकसिं दर्लामीले प्रदेशसभामै इन्जिनियरहरुको क्षमता, काम गर्ने तरिका र तयार हुने डिपिआरमाथि प्रश्न उठाउँदै भनेका थिए ‘हाम्रा इन्जिनियरहरुले कसरी काम गर्छन् ? खानेपानी आयोजनाको डिपिआर कसरी गर्छ ? पानीको स्रोत नै नभएको ओभरहेड ट्याङ्की बनाउँदा करोडौं नोक्सानी हुन पुगेको उदाहरण मेरो निर्वाचन क्षेत्रको सताक्षीधाम खानेपानी आयोजना भएको छ ।’
सांसद दर्लामीले पहिले नै पानीको स्रोत भए नभएको निक्र्यौल नगरी ओभरहेड ट्याङ्की कसरी बनाउन थालियो भनेर प्रश्न उठाएका थिए । डिभिजन कार्यालयका प्रमुख इन्जिनियर श्रेष्ठ तराई क्षेत्रमा पानीको खास समस्या हुँदैन भन्ने भएर काम गर्दा यस्तो भएको बताउँछन् ।
सताक्षीधाम खानेपानी आयोजनाले लक्षित गरेको उपभोक्ताहरुलाई अहिलकै अवस्थामा पानी पु¥याउन असम्भव रहेको भन्दै इन्जिनियर श्रेष्ठले दूधे, झिलझिले र सताक्षी तीनैवटा खानेपानी आयोजना नजिक रहेकोले मर्ज गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् । ‘आयोजनाहरु मर्ज गर्न सकेमा माथिका उपभोक्ताहरुलाई पनि झिलझिले आयोजनामार्फत पानी वितरण गर्न सकिन्छ’ श्रेष्ठले भने ‘त्यसो गर्न सकिएन भने सताक्षीका उपभोक्ताहरु मुहानमै सीमित हुनेछन् र नयाँ उपभोक्तालाई पानी उपलब्ध गराउन सकिने अवस्था हुँदैन ।’
पानीको स्रोत नभेटिए पनि ओभरहेड ट्याङ्की बनेकै कारण सरकारको लगानी खेर गइहाल्यो भन्न नमिल्ने इन्जिनियर श्रेष्ठ बताउँछन् । उनले भने ‘सरकारको लगानी खेर गयो भन्ने होइन, आयोजनाहरु मर्ज गर्न सकेमा झिलझिले तर्फबाट डिप बोरिङ गरी ट्याङ्कीको सदुपयोग गर्न सकिन्छ ।’
दूधेस्थित आयोजना मात्र होइन झापाका अरु थुप्रै खानेपानी आयोजनाहरु यस्तै अलपत्र अवस्थामा छन् । भद्रपुर नगरपालिकाको पृथ्वीनगर स्थित सोमबारे खानेपानी आयोजना निर्माण भइसकेपछि पानीमा आर्सेनिक भेटिएको थियो । त्यसपछि आयोजना बन्द भएको छ ।
डिभिजनल इन्जिनियर श्रेष्ठले स्थानीय उपभोक्ताको निष्कृयताका कारण त्यस आयोजनामा पानीको गुणस्तर सुधार गर्ने र सञ्चालन गर्ने प्रयत्न सफल नभएको बताएका छन् । उनले भने ‘मैले एक वर्षदेखि त्यहाँका उपभोक्ताहरुलाई छलफलका लागि बोलाएको छ, नगरपालिकाका मेयरलाई पटक पटक समन्वय गरिदिन भनेको छु, तर कुनै प्रगति भएको छैन ।’
याे परियोजना निर्माणकार्य काे सबै जिम्मेवार लाई हदैसम्मको कार्यवाही संघै दस करोड काे भ्रष्टाचारकाे मुद्दाको बिगाे बनाइ निर्माणकार्य काे जिम्मेवारहरु बाट बुझाउन लाउनुपर्ने