विराटनगर । नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने देखिएकोले कोशीसहित केहि प्रदेशमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाका अनुसार हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि वर्षा गराउने प्रणाली (न्यूनचापीय क्षेत्र) को विकास भएकाले अबको केही दिन बदली र वर्षाको सम्भावना रहेको बताए ।
मौसमविद् अधिकारीका अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको २–४ दिन भारी वर्षाको सम्भावना रहेको छ । पूर्वमा विकसित न्यूनचापीय प्रणाली देशको पश्चिम र सुदूरपश्चिमसम्म प्रभाव नरहन सक्ने विभागले जनाएको छ । पूर्वी र मध्य भेगमा भने धेरै पानी पर्ने सम्भावना रहेको अधिकारीले बताए ।
यो बेला मनसुनको प्रभाव बढी कृषि र यातायात क्षेत्रमा पर्नसक्ने भएकाले सम्बन्धित निकायलाई सतर्कता गराउन अनुरोध गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी ३–४ दिनसम्म कोसी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको संभावना छ ।
वर्षाले पहाडी भूभागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह केही बढ्नसक्ने र दैनिक जनजीवन तथा सडक, हवाई यातायातसमेत केही प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
रातिको समयमा पनि कोसी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।