कुमार लुइँटेल
कतै चामलका बोरा, कतै एक पोको खाद्यान्न अनि कतैकतै पकाइएको खानाको प्याकेट । सडकमा लाम लागेका केही मानिसहरुलाई उभ्याएर खिचेका छन्, फोटा । भूजा, चाउचाउ, दाल, नूनका झोला झुन्ड्यार खिचाएका छन् । मास्क, सेनिटाइजर र ग्लोब्स त कति हो कति । लिनेलाई छेकेरै भएपनि दिँदै गर्नेहरु ‘फुलफ्रेम’मा अटाएकै छन् । निरन्तर खिच्न अनि ‘पोस्ट्याउन’ भ्याएकै छन् । फोटासँगै छोटाछोटा भिडियो उत्तिकै अपलोड भएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा हिजोआज राहत दिँदै गरेका र ‘दिने भनेर आफूलाई दाबी गर्नेका’ ठूला फोटाहरु देख्न र हेर्न पाईएको छ । के गर्नु तलपट्टि, कमेन्ट लेख्नै पर्यो ‘गुड जब, किप ईट अप’ । कतिले नेपालीमै ‘राम्रो काम, शुभकामना छ’ लेख्नुभएको छ ।
दोस्रो लहरको कोरोना कहर सकिनै लागेको छ । स्वास्थ्य विज्ञले नै भनेका छन् ‘घट्दो क्रममा छ । तर, जोखिम उत्तिकै छ’ । यही मेसोमा राहत विरतणको दोस्रो श्रृखंला विराटनगरमा पनि खुबै चल्यो । के विराटनगर मात्र जिल्लाका दूरदराजसम्म राहत सामग्री र तिनका वितरकहरु पुगे । धेरै स्वघोषित दाताहरुको तस्बिर हेर्न पाइयो । के मोरङमात्र प्रदेश १ भरका फोटाहरु आए । दलगत, संस्थागत अनि व्यक्तिगत । ‘वितरणमा खटिएकाहरु को हुन् ?’ यो प्रश्नले मनमा डेरा जमायो । तर, धेरै त हामीले चिनेकै अनुहार पो रहेछन् । ‘अहो ! कस्तो राम्रो काम ।’ यस्तै भन्न मन लाग्यो ।
मनमा फेरि प्रश्नका तरेली उठे । के तिनले आफ्नै बुँताले राहत दिएका हुन् ? आफ्नै तलबको रकम कटाएर चामल खरिदेका हुन् ? कि तिनले आफ्नै पिताजीको धन ल्याएर सहयोग गरे ? वा साँच्चै आफूसँग भएरै समस्यामा परेकाहरुलाई दिएका होलान् ? एक मनले भन्यो ‘सायद होला’ तर, अर्को मनले ‘अहँ ! हुँदै होइन’ भन्यो । पत्याएन ।
राहतको नेपाली अर्थ प्राकृतिक प्रकोपमा परेकाहरुको वा दुःखीहरुको उद्धार गर्ने काम, अड्ने उपाय र सान्त्वना भनेर लेखिएको छ । हिन्दी शब्दकोषमा आराम, चैन सुख, करार भनिएको छ । अर्थ जो होस्, यो राम्रो काम हो ।
मैले चिनेका राहत वितरणकर्ता समाजमा पनि चिनिएकाहरु नै हुन् । उनीहरुमध्ये धेरैको सामाजिक, नैतिक, पारिवारिक, व्यक्तित अनि आर्थिक हैसियत समाजलाई थाहा नहुने कुरै भएन । मैले आफ्नो मनलाई सान्त्वना दिन खोजे ‘हैन हौ ! आफ्नै धनले दिएका होलान् ।’ तर, अहँ ! विश्वासै लागेन ‘उनीहरु मनकारी हुँदै होइनन् । र कदापी हुन पनि सक्तैनन्’ अर्को विचार आयो ।
‘डमी’हरु अरुको पाउपोस गर्छन् । अरुबाटै लिन्छन् अनि आफ्नै जस्तो गरी वितरण गरेको ढोंग रच्छन् । देखाउन खोज्छन् । अनि समाजले पत्याओस् भन्ने अपेक्षा गर्छन् । ती धमास दिन पनि पछि पर्दैनन् । ‘हगाई भन्दा पदाई ठूलो’ भन्ने नेपाली उखान त्यसै चरितार्थ भएको होइन रहेछ । कोरोनाकालका बेला रोजगारी गुमाएका, समस्यामा परेका अनि श्रमिक वर्गलाई राहत चाहिएकै हो । राहत दिनु गलत थियो भन्ने मनसाय वा विरोध दुबै होइन । तर, डमी महोदयहरुले राहत दिएको भन्ने सारा समाज, विश्व र त्रि–लोक अनि चौध भुवनले पत्याएकै छैनन् । ‘म किन पत्याउँ ?’ साँचि यसरी अफवाहपूर्ण रुपमा गरिएका हर्कतको प्रशासनले विवरण राख्छ कि राख्तैन् होला ?
म त ती दाताप्रति नतमस्तक छु, जो बाहिर आफ्नो परिचयसमेत देखियोस् भन्ने चाहँदैनन् । जो सहयोग गर्छन् तर, प्रचार चाहँदैनन् । आफू बाहिर देखिनबाट परै भाग्छन् । आफूले मेहनतले कमाएको र थोरै समाजका लागि छुट्याएको धनले सहयोग गर्छन् । दुःखमा परेकालाई खोजीखोजी सहयोग गर्छन् । भएको दिन्छन् । फोटा खिचाउँदैनन् । टिभीमा देखिने र समाचार लेखाउने काम गर्दैनन् । बरु थप सहयोगापेक्षी भए जानकारी पो माग्छन् !