अन्ततः मोरङमा जसपालाई एमालेको ‘धोका’

 गृहजिल्ला मोरङमा एमालेसँग कुराकानी भइरहेको बताउँदै जसपा अध्यक्ष उपेन्द्र यादव भने अझै आशावादी नै देखिएका छन् ।

विराटनगर । सप्तरी २ मा आफै संकटमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग कच्चा गठबन्धन गरेर गृहजिल्ला मोरङका आफ्ना अन्य उम्मेद्वारहरुलाई पनि संकटमा धकेलेका छन् ।

धेरै सिट पाइने आशासहित अन्तिम समयमा सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग तालेमलका लागि तयार भएका यादव एमालेको ‘धोका’ का कारण गृहजिल्ला मोरङमै असहज अवस्थामा पुगेका हुन् ।

एमाले–जसपाबीचको सहमतिअनुसार मोरङको प्रतिनिधि सभाको एउटा क्षेत्र र प्रदेश सभाको तीन वटा क्षेत्र जसपाले लिने तय थियो । तर, प्रतिनिधि सभाअन्तर्गत मोरङ–५ मा बागी उम्मेदवारी दिएका एमालेका योगेन्द्र मण्डलसहित प्रदेश सभाका अन्य दुई जनाको उम्मेदवारी कायमै रहेको छ । मोरङ–५ मा जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवको उम्मेदवारी परेको छ भने उनीविरूद्ध एमालेका मण्डलले बागी दिएका हुन् ।

उम्मेद्वारी फिर्ता लिने दिन बुधबार एमालेका कुनै पनि उम्मेद्वारले मोरङमा मनोनयन फिर्ता गरेनन् । जसपाका उम्मेद्वारहरुले पनि उम्मेद्वारी कायमै राखेका छन् ।

मोरङ ५ मा ‘स्वतन्त्र’ उम्मेद्वारी दिएका मण्डल सो क्षेत्रमा एमालेबाट टिकटका दाबेदार थिए । लामो समयदेखि उनी चुनावी तयारीमा होमिएका थिए । खासगरी जीवन विकास समाज नामक लघुवित्तमार्फत प्रभाव जमाएका उनी यसपटक एमालेबाट एक्लो दाबेदार थिए । तालमेलका क्रममा सो क्षेत्र जसपाको भागमा परेपछि उनले स्वतन्त्र उम्मेद्वारी दिए ।

एमालेमा लामै समय काम गरिसकेका मण्डलले अन्तिमसम्ममा उम्मेद्वारी फिर्ता लिने आशामा जसपा थियो । तर, उनलाई उम्मेद्वारी फिर्ता गर्न लगाउन एमालेले कुनै चासो नदिएपछि मोरङमा एमालेप्रतिको जसपाको भरोसा टुटेको नेताहरु बताउँछन् । यद्यपि सार्वजनिक रुपमा भने यसबारे मुख खोलिहालेका छैनन् ।

जसपा नेताहरूले मण्डललाई एमालेकै योजनामा उठाइएको बताएका छन् । ‘मण्डलबारे एमाले नेताहरू अहिलेसम्म केही बोलेका छैनन्’, जसपाका ती नेताले भने ‘फिर्ता गराउन पहल पनि नहुँदा शंका त स्वतः हुने भइगयो ।’ यो क्षेत्रबाट सत्ता गठबन्धनले माओवादीका शिवकुमार मण्डललाई उम्मेदवार बनाएको छ । मण्डल यही क्षेत्रबाट २०७४ मा पनि चुनाव जितेका नेता हुन् ।

एउटै गठबन्धनबाट दुई वटै दलको उम्मेदवारी कायम रहेपछि मोरङमा एमाले–जसपाबीचको गठबन्धन नै धरापमा पर्ने देखिएको छ । मोरङका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ५ तथा प्रदेश सभाको ४ ‘ख’ ५ ‘ख’ र ६ ‘ख’ जसपालाई दिने र अन्य क्षेत्रमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति ती दुई पार्टीबीच भएको थियो । तर, मोरङको क्षेत्र नं ४ ‘ख’ मा एमालेका जीवन घिमिरे र ६ ‘ख’ मा पर्शुराम बस्नेत उम्मेदवार कायमै छन् ।

पूर्वसहमति अनुसार एमाले–जसपा गठबन्धनबाट ४ ‘ख’ मा सञ्जय सिंह र ६ ‘ख’ बाट राजेन्द्र गुप्ता उम्मेदवार बनेका छन् । उनीहरूको पनि उम्मेदवारी कायमै छ । एमाले उम्मेदवार जीवन घिमिरेले फिर्ता लिने गरी आफूले उम्मेदवारी नदिएको बताइसकेका छन् । ‘मैले फिर्ता लिने गरी उम्मेद्वारी दर्ता गराएकै होइन’, घिमिरेले भने ‘अब हामी चुनावमा होमियौं ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले भने एमालेसँगको संवाद कायमै रहेको उल्लेख गर्दै सहमतिको आशा जिवितै रहेको बताएका छन् । ‘एमाले र हाम्रो गठबन्धन भएको होइन, चुनावी तालमेल मात्रै भएको हो,’ यादवले भने, ‘मतदानअघि सम्म पनि सहमतिको प्रयास जारी रहनेछ । एमालेसँग कुराकानी भइरहेको छ ।’

यादवले यसो भने पनि जिल्लाका नेता÷कार्यकर्ता भने एमालेले गम्भीर धोका दिएको बताइरहेका छन् । उपेन्द्र यादवले अहिले प्रतिक्रिया नदिन निर्देशन दिएको कार्यकर्ता बताउँछन् । ‘अध्यक्षजीले हतारमा नबोल्नु भन्नुभएको छ’, जसपाका एक नेताले भने, ‘यो पाराले कसरी तालमेल जोगिन्छ ?’

भागबन्डाका क्रममा आफूले पाएको क्षेत्रमै एमालेले उम्मेदवारी दिएपछि बुधबार उम्मेदवारी फिर्ता गर्ने समय छउन्जेल जसपा एमाले नेताहरूसँग छलफलमै थियो । तर, एमालेले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि मोरङका प्रदेश सभाका दुईटा क्षेत्रमा जसपा र एमाले उम्मेदवार कायम भएका छन् । एमाले नेतृत्वको विपक्षी गठबन्धनभित्र मोरङमा उम्मेदवारी फिर्ता नभएर विवाद भइरहेका बेला सत्ता गठबन्धनका उम्मेदवारहरूले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मोरङ–४ को प्रदेश सभा निर्वाचन क्षेत्र ख मा गठबन्धनबाट कांग्रेसका भीम पराजुलीले टिकट पाएपछि उम्मेदवारी दिएका एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मीले उम्मेदवारी फिर्ता लिएका छन् । मोरङ–६ को क्षेत्र ख बाट पनि एकीकृत समाजवादीका वसिम आलमले उम्मेदवारी फिर्ता लिएका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट प्रदेशका मन्त्री केदार कार्की उम्मेदवार छन् भने एमालेका पर्शुराम बस्नेत उम्मेदवार छन् ।

जसपाका लागि सुनसरी १ मा पनि एमालेका बागी उम्मेद्वार चुनौती बन्ने निश्चित भएको छ । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गराएका एमालेका नेता मनोजकुमार मेयाङ्बोले उम्मेदवारी कायमै राखेका छन् ।

एमालेका नेताहरुले मनोनयन फिर्ता गराउन प्रयास गरे पनि उनले उम्मेद्वारी फिर्ता गर्न अस्वीकार गर्दा जसपा नेता अशोक राईलाई सकस पर्ने देखिएको छ । मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन फिर्ता गराउने समय तोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त समयभित्र मात्र प्रदेशसभा (१) र प्रदेशसभा (२) का १–१ जना स्वतन्त्र उम्मेद्वारले मात्र मनोनयन फिर्ता लिएका छन् ।
एमाले र जसपाबीच चुनावी तालमेल हुँदा सुनसरी १ जसपाको भागमा परेपछि स्थानीय कार्यकर्ता असन्तुष्ट हुँदै मेयाङ्बोको उम्मेदवारी दर्ता भएको हो । एमालेले जयकुमार राईलाई एकल उम्मेद्वार सिफारिश गरेको भए पनि तालमेल हुँदा एमालेले जसपाका अशोक राईलाई समर्थन गरेको थियो । पार्टीको यो निर्णयमा चित्त नबुझाएका एमाले नेता, कार्यकर्ताहरुको साथ लिएर धरानका पुर्वमेयर तथा एमाले प्रदेश कमिटी सचिवालय सदस्य मेयाङ्बोले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनले उम्मेद्वारी फिर्ता नलिएपछि एमाले जसपाका संयुक्त उम्मेद्वार अशोक राईलाई प्रत्यक्ष असर पर्नेछ । मेयाङ्बोको समर्थनमा एमालेकै प्रदेश, जिल्ला, नगर र वडा कमिटीका नेता, कार्यकर्ताहरु खुलेका छन् । सत्ता गठबन्धनबाट भने प्रतिनिधिसभामा माओवादी केन्द्रका मुक्साङहाङ मेयाङ्बो उम्मेदवार बनेका छन् ।

बिहिबार, २७ असोज, २०७९, बिहानको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर