आर्थिक वर्ष २०७८/०७९ को बजेट

विराटनगर महानगरपालिका : आकार खुम्चिने बजेटमा जनस्वास्थ्यलाई उच्च प्राथमिकता

विराटनगर । आन्तरिक स्रोत सुनिश्चितताको अभाव र कोरोना महामारी लगायतका कारणले विराटनगर महानगरको आउँदो बजेटको आकार खुम्चिने भएको छ ।

प्रदेशको राजधानी विराटनगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने जनाएको छ । संघीय र प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट ल्याइसकेको अवस्थामा यतिबेला प्रदेशका स्थानीय तहहरुलाई बजेट निर्माणको चटारो छ । स्थानीय तहहरु आउँदो असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण पेश गर्न आवश्यक तयारीमा जुटेका छन् । प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरले पनि कोरोेना महामारीबाट पाठ सिक्दै स्वास्थ्य केन्द्रित बजेट ल्याउन लागेको जानकारी दिएको हो ।

आन्तरिक श्रोत सुनिश्चितताको अभावका कारण आगामी आर्थिक वर्षको बजेटको आकार खुम्चिने भएपनि सिङ्गो बजेटको ७ देखि ८ प्रतिशत हिस्सा स्वास्थ्य क्षेत्रले ओगटने विराटनगर उपप्रमुख एवं बजेट तर्जुमा मूल समितिकी संयोजक इन्दिरा कार्कीले बताईन् । उनले स्वास्थ्य क्षेत्रका लागि नेपाल सरकारबाट प्राप्त हुने सर्शत अनुदानबाहेक महानगरको आन्तरिक श्रोतबाट पनि अढाई करोड बराबरको स्वास्थ्य क्षेत्र लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

‘हामीले चालु आर्थिक वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौं,’ उनले भनिन, ‘स्वास्थ्यमा पनि कोरोना रोकथाम तथा प्रतिकार्यका लागि बिशेष बजेट छुट्याएका छौं । सम्पुर्ण नगरबासीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनु पनि बजेटको प्राथमिकता हुनेछ ।’

आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्यपछि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको महानगरको बजेट तर्जुमा समितिले जनाएको छ । समितिका अनुसार नगरबासीको आर्थिक विकास हुने, गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउने, जनताको जीवनस्तर, आम्दानी तथा रोजगारीमा सहयोग पुग्ने, उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, महिला बालबालिका तथा लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुग्ने र राजश्व परिचालनमा योगदान पुर्‍याउने लगायतका योजनाहरु आगामी आर्थिक बर्षको बजेटमा समेटिएका छन् । यस्तै दिगो विकास, गुणस्तरीय सेवा प्रवाह, सुशासन र संस्थागत विकास, विपद व्यवस्थापन तथा क्रमागत योजनाहरु पनि बजेटको प्राथमिकतामा परेका छन् ।

आगामी आर्थिक वर्षमा विपद व्यवस्थापन तथा कोरोना महामारी नियन्त्रणका लागि पनि महानगरले थप २ करोडको छुट्टै कार्यक्रमको व्यवस्था गरेको छ । जनस्वास्थ्य सुधारको क्षेत्रमा पनि अढाई करोेडको विभिन्न कार्यक्रमहरु थप गरिएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताए । ‘हाम्रो बजेट स्वास्थ्य र शिक्षा क्षेत्रमा केन्द्रित छ,’ उनले भने, ‘अन्य क्षेत्रको बजेट कटौती गरेर भएपनि स्वास्थ्य र शिक्षाको क्षेत्रमा पर्याप्त बजेट आउँछ ।’

कोरोना महामारीका कारण चालु आर्थिक वर्षमै पनि महानगरका आन्तरिक श्रोतहरु प्रभावित भएका छन् । महानगरले लक्ष्य अनुसारको प्रगति गर्न सकिरहेको छैन । चालु आ.ब.मा ९६ करोडको आन्तरिक श्रोत परिचालन गर्ने अनुमान गरेको महानगरले हालसम्म करिब ३२ करोड मात्र राजश्व संकलन गर्न सफल भएको छ । जसले गर्दा महानगरको वित्तीय व्यवस्थापन समेत चुनौतीपुर्ण बनेको छ । यो अवस्था आगामी आर्थिक वर्षमा पनि दोहोरिने सम्भावना प्रबल भएकाले चालु आ।ब।को तुलनामा बजेटको आकार सानो बनाउने महानगरको तयारी छ । आन्तरिक श्रोतहरु सङ्कुचन भएको तथा आम्दानीका लागि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानको भर पर्नुपर्ने भएकाले आगामी आर्थिक वर्षको बजेटको आकार पनि खुम्चिने सम्भावना रहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/०७९ जनप्रतिनिधिहरुकोे अन्तिम कार्यकाल पनि भएकाले विगतमा सञ्चालित नगरस्तरीय र वडास्तरीय क्रमागत योजनाहरुलाई पनि आगामी आर्थिक वर्षमै सम्पन्न गर्ने महानगरको निति छ । आकाशे पुल, विरेन्द्र सभागृह र प्रधानमन्त्री पार्क लगायतका योजनाहरु पनि आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने महानगरको तयारी छ । चालु आर्थिक वर्षका लागि ३ अर्ब ३७ करोडको बजेट ल्याएको महानगरपालिकाले भने आर्थिक वर्ष २०७८/०७९ का लागि मात्र ३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरिरहेको जनाएको छ ।

मङ्गलबार, ०८ असार, २०७८, रातीको १०:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर