विराटनगर । असंवैधानिक ढंगले संसद विघटन गरेर निर्वाचनको घोषणा गरेको कदमको विरोधमा विद्यार्थीले शनिबार विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो अंकित पुत्ला उँधोमुन्टो पारेर झुण्ड्याएका छन् ।
विराटनगर–७ स्थित प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको अगाडि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा पुत्ला उँधोमुन्टो पारेर पिपलको बोटमा झुण्ड्याइएको हो ।
अखिल क्रान्तिकारी मोरङ जिल्ला ईन्चार्ज ताजिम अन्सारी र जिल्ला अध्यक्ष टेकेन क्षेत्री लगायतको नेतृत्वमा विरोधस्वरुप उक्त कार्यक्रम गरेको सो संगठनले जनाएको छ ।
शनिबार नै नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) माधव–खनाल पक्षीय विद्यार्थी संगठनले संसद विघटन विरुद्ध आन्दोलित हुने निर्णय गरेका थिए । सोही निर्णय अनुसार कार्यक्रम गरिएको विद्यार्थी नेता अन्सारीले बताए ।
माओदी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी० अध्यक्ष रन्जित तामाङ र नेपाल निकट विद्यार्थी संग गठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आजै संयूक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
उनीहरुले कोरोना महामारी र निशेधाज्ञाबीच स्वास्थ्य सतर्क अपनाउँदै आन्दोलित हुने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।
विरोधका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झुण्डाउने, पुत्लालाई उल्टो बनाई विरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजनिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगाएतका कार्यक्रम रहेका छन् ।