विराटनगर । कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश १ का अस्पतालहरुमा बेड अभाबको अवस्था आइरहेको बेला यहाँका अक्सिजन उद्योगहरुले भने अन्य प्रदेशमा अक्सिजन पठाइरहेका छन् ।
प्रदेशमा कोरोना संक्रमितको लागि छुट्याइएका बेड सबै भरिएका छन् भने नयाँ विरामीले भर्ना नपाउने अवस्था छ । थप विरामीको लागि कोभिड उपचार बेडक विस्तार गर्न सरकारले नसकेको कारण अक्सिजन पर्याप्त उत्पादन भएपनि विरामीले प्रयोग गर्न नपाएको अवस्था छ ।
प्रदेशमा रहेका अस्पतालहरुको माग अनुसार अक्सिजन आपूर्ती सहजै गरिरहेका उद्योगहरुले नियमित उद्योग सञ्चालन गरेर अक्सिजन अन्य प्रदेशमा पठाएका हुन् । काठमाडौं, बुटवल, नेपालगञ्जसहित विभिन्न क्षेत्रका अस्पतालमा अक्सिजनको अभाबमा विरामीले ज्यान गुमाउन थालेपछि प्रदेश १ बाट अक्सिजन पठाउन थालिएको हो ।
सुनसरीको खनारमा दुर्गा, सोनापुरमा विनायक र पाथीभरा प्लाण्टले अक्सिजन उत्पादन गर्छन् । मोरङमा हिमाल अक्सिजन ग्यास प्लाण्ट र मारूती अक्सिजन ग्यास प्लाण्टले उत्पादन गर्छन् । ती उद्योगले गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको स्काई ट्रक र सडक मार्गबाट पनि अक्सिजन अन्य प्रदेशमा गइरहेको छ ।
अन्य प्रदेशबाट आएको सिलिन्डरलाई यहाँका उद्योगले भरेर पठाउने गरेका छन् । उद्योगले प्रदेशको अक्सिजनको मागलाई धान्दै अन्य अस्पतालमा आपतकालीन उपचारका लागि आवश्यक अक्सिजन आपूर्ति गर्न थालेका हुन् । पाँच उद्योगले दैनिक २ हजार ७ सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएकोमा प्रदेशमा अहिले दैनिक १ हजार सिलिन्डर खपत हुँदै आएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाका अनुसार प्रदेशको मागलाई असर नपर्नेगरि उद्योगलाई २४ घण्टा नै सञ्चालन गर्न लागाएर अन्यत्र अक्सिजन पठाइएको हो । प्रदेशमा सहज आपूर्ति व्यवस्था भइरहेसम्म यो कार्यले निरन्तर पाउने प्रशासनले जनाएको छ । जिल्ला प्रशासनको अनुमतिमा सम्बन्धित उद्योगले अक्सिजन पठाउने गरेका छन् ।
मोरङका हिमाल र मारुती अक्सिजन उद्योगले एक सातादेखि दैनिक १ सयदेखि ३ सय सिलिन्डर अक्सिजन अन्य प्रदेशका अस्पतालमा पठाइरहेका छन् । एक सातामा दुई उद्योगले १ हजार सिलिन्डर अक्सिजन अन्यत्र पठाएको प्रशासनको रेकर्ड छ ।
मोरङका २ उद्योगले पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक १५ सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएका छन् । माग कम भएको समयमा ती उद्योगले दैनिक ५ सिलिन्डर मात्र उत्पादन गर्ने गरेका थिए । उत्पादनलाई नियमित गर्न उद्योगमा सुरक्षा र नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।
उता सुनसरीका रहेका तीन वटा उद्योगले एक सातामा २ हजार बढी अक्सिजन सिलिन्डर अन्य प्रदेशमा पठाएका छन् । ती उद्योगले दैनिक १ हजार २५५ सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएका छन् ।
अक्सिजन अभावका कारण स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुन पुगेको अवस्थामा प्रदेश बाहिरका अस्पतालको मागलाई पनि धान्दै आएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । शनिबार एयर लिफ्टमार्फत भैरहवामा तीन पटक अक्सिजन पठाइएको छ ।
सुनसरीबाट काठमाडौँमा २४० सिलिण्डर, रूपन्देहीमा १२० सिलिण्डर, जनकपुर २ सय सिलिण्डर, मकवनापुरमा १५० सिलिण्डर, दाङमा १ सय ५० सिलिण्डर पठाइएको छ । यस्तै सप्तरीमा १ सय सिलिण्डर पठाउने तयारी छ ।
अक्सिजन उद्योगका सञ्चालकहरुले उत्पादन पर्याप्त भएपनि सिलिण्डरको अभाब रहेको बताएका छन् । सुनसरीको इटहरीस्थित दुर्गा अक्सिजन उद्योगका प्रोपाइटर आशिष मित्तलका अनुसार अहिले अन्य प्रदेशबाट आएका खाली सिलिन्डर भर्नको लागि उद्योग नियमित सञ्चालन भइरहेको छ । यसअघि दैनिक १२ घण्टा मात्र उद्योग सञ्चालन हुने गरेको उनले सुनाए ।
अहिलेसम्म उद्योगहरुले नियमित उत्पादन गरिरहेको भएपनि उद्योगहरूसँग पनि केमिकल लिक्वीडको न्यून मौज्दात रहेको बताइएको छ । उद्योग सञ्चालकहरूले कच्चा पदार्थको अभाव रहेको जानकारी सरकारलाई दिइसकेका छन् । अहिले सञ्चालनमा रहेका अधिकांश प्लान्टहरु ‘केमिकल लिक्वीड’ प्रशोधन गरेर अक्सिजन उत्पादन गर्ने प्रकृतिका भएकोले कच्चा पदार्थ आयात नभएमा समस्या हुनेछ । सारडा ग्रुपले सञ्चालन गर्दै आएको अक्सिजन प्लान्टले भने केमिकल लिक्वीड र एयरबेस दुबै विधिबाट अक्सिजन उत्पादन गर्ने गरेको छ ।
प्रदेश अस्पतालहरुमध्ये सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको नोबेल मेडिकल कलेजसँग आफ्नै अक्सिजन प्लान्ट छ । अन्य अस्पतालले भने उद्योगकै उत्पादनमा निर्भर छन् ।