कुमार लुइँटेल
शतरंज अर्थात चेस खेलमा ‘प्यादा’ को चाल टेढोमेढो हुँदैन । उसको धर्म र कर्तव्य नै हो बाँकी सबै (मोहरा) गुटीसँग समन्वय गरेर अघि बढ्नु । अर्थात समग्र खेलमा नियमपूर्वक सञ्चालन हुनु । ‘वन सट मुभ’ को सिद्धान्तमा चल्ने प्यादालाई व्यक्तिगत रुपमा सबैभन्दा कमजोर गुटी मानिन्छ । यद्यपि अन्यको तुलनामा यसको संख्या भने धेरै हुन्छ । स्वामी अर्थात राजा (किङ) को रक्षा खातिर ‘शतरंज’ खेलको नियम र परिधिभित्र रहनु प्यादाको मौलिक पहिचान हो ।
उसको चाल सिधा हुन्छ । एक वर्ग वा दुई वर्ग अगाडि बढ्नुभन्दा उसँग अर्काे विकल्प हुँदैन । अरु गुटी जस्तो दाँयाबाँया, तलमाथि र छड्के चल्न पाउँदैन । एक पल्टमा एक चाल हुनु र पछाडि फर्कने सम्भावना नहुनुले प्यादाले आफ्नो चाल चाल्दा निक्कै सावधान हुनुपर्छ । नत्र खेल नै पूरै खराब भई पराजयतर्फ मोडिन सक्छ ।
राजनीतिमा पनि प्यादाहरुको काम स्वामीभक्ति नै हो । र, उनको रक्षा गर्न जोडबल गर्नु उसको चासो र कर्तब्य पनि हो । चेसका प्यादा पछाडि फर्कन नसक्ने भएकोले स्वामीको ईसारा र भावभङ्गीमाको खासै ख्याल गर्दैनन् अथवा बुझ्दैनन् । तर, राजनीतिका प्यादामा भने यस्तो गुण विरैले पाइन्छ । नियम र परिधिको उनीहरुलाई वास्ता नहुनसक्छ । स्वामीको ईशारामा मात्र चल्ने गर्नाले खासका प्यादाको मौलिक पहिचानमाथि नै हिजोआज यिनले बज्रपात नै गरिदिएका छन् । अझ प्रधानमन्त्री केपी ओलीका गनेचुनेका प्यादाले त राजनीतिक शतरंजका अधिकांश खेलाडीलाई माथ नै खुवाई दिएका छन् ।
नेपाल प्रादेशिक संरचनामा गएपछि ७ वटा प्रदेश सरकार गठन भए । जनमत पाएकै आधारमा तीमध्ये ४ वटामा प्रधानमन्त्री ओलीका प्यादाको नेतृत्व छ । उतारचढावबीच यो यद्यपि अझै कायमै छ । अर्थात मुख्यमन्त्रीको ताज पहिरिने स्वर्णिम अवसर प्राप्त गरिरहेकै छन् । तर, यिनको चाल र खेल खेल्ने प्रक्रियाले भने राजनीतिको शतरंजलाई मैलो गरिदिएको छ । खेलको नियम जस्तै राजनीतिको नियम मानिने देशको कानून र संविधानलाई मिचेर टेढोमेढो चल्नाले कुरो बिग्रिएको हो । तर, ‘ओली प्यादा’हरु यसमै मस्त देखिन्छन् ।
यो साताभर लुम्बिनी प्रदेशको प्यादाको चालबारे खुबै चर्चा भयो । अगाडि बढ्नुपर्नेमा दाहिने–देबे्र, तल–माथि र तेर्सोसमेत भ्याईदिए । त्यो अप्राकृतिक चाल थियो । चल्न पाइँदैनथ्यो । बिलखबन्द त बढ्यो नै अन्ततः स्वयम् प्यादा नै अगाडि बढौं, विपक्षी गोटीले मार हान्देला, पछि फर्कौ चल्न नपाइएला भन्ने अवस्थाबाट गुज्रियो । यो चालै प्यादाको लागि नोक्सानदायी देखियो । खेल पराजयतर्फ उन्मुख हुने हो कि भन्ने शंशय छँदैछ ।
गण्डकी प्रदेश र १ नम्बर प्रदेशका प्यादाहरु बारबार ‘शतरंज’को नियम उल्लङ्घन गर्न खप्पिस मानिन्छन् । व्यवहारमा यस्तै देखिएका पनि छन् । अल्पमतमा परिने भय । संसद छल्ने साझा चरित्र । स्वामीभक्ति र गुणगान अनि धूपद्वार मिल्दो व्यवहार भएका छन् । संघीय राजधानी धाई रहनुपर्ने, प्रदेशका काम लथालिंग छाडिदिने अनि स्वास्थ्य जोखिमका जनताको बेवास्ता गर्ने स्वभाविक गुण मानिएको छ । हरहम्मेसी प्रदेश राजधानीमा नभेटिने अर्को स्वभावबारे जनस्तरमै चर्चा छ ।
भन्नु नै पर्दा प्रदेशमा सरकार गठन हुँदा सर्वसाधारणमा अलग्गै चमकको महसुस थियो । परको सिंहदरबार नजिकै आयो भन्ने थियो । विकासले गति लिने अपेक्षा भाथ्यो । तर, त्यो तेज कुर्सी मोह र कमाउधन्दाले चौपट्टै भएर गएको छ । यी प्यादाको काम र व्यवहारले प्रदेशका शासकप्रति जनताको विश्वास र दृष्टिकोणलाई स्खलित गरिदिएको छ । ‘पिर्का र गुन्द्रीको जगमा उभिएको’ प्रदेश सरकारको आवश्यकतामाथि नै प्रश्नचिन्ह खडा भईसकेको छ । सदनमा विपक्षीको मागको वास्ता नगर्नु अथवा जवाफ दिन जरुरी नठान्नु, बरु संविधान र प्रदेशको कानून मिचेरै भएपनि सत्ता टिकाउन तल्लीन रहनुले जनतामा संघीयताप्रति नै वितृष्ण बढेको छ ।
प्राकृतिक र नियमसंगत रुपमा सक्रिय प्यादामा धेरै नै संभावना हुन्छ । यसको सबैभन्दा ठूलो शक्ति भनेकै पदोन्नति हो । कुनैपनि समय प्यादाले सफलतापूर्वक चेसबोर्डको अन्तिम वर्गसम्म पुग्ने सामथ्र्य राख्दछ । खेलको नियम नै हो, प्यादा राजाबाहेकका अरु शक्तिशाली गोटीमा बदलिनसक्छ । अर्थात त्यो हात्ती, घोडा, उँट जेमा पनि पदोन्नति हुने सामथ्र्य राख्दछ । प्रायःजसोले मन्त्रीमै पदोन्नति हुने रहर गर्छन् । किनकी चेस (शतरंज) मा सबैभन्दा शक्तिशाली मन्त्रीलाई नै मानिन्छ । किनकी उसको चाल तलमाथि, दायाँबायाँ र अगाडि पछाडि जता पनि हुनसक्छ । तर, ‘ओली प्यादा’हरुले भने शतरंजको जस्तै राजनीतिमा पदोन्नति संभावनाको ढोकामा भोटे ताल्चा नै ठोकिदिएका छन् ।
Ramro chha.