दशैंका दुःखद दुर्घटना : १७ जनाको मृत्यु

असोज २१ देखि सोमबारसम्म १४ जिल्ला रहेको प्रदेश १ मा १ सय ५६ वटा सवारी दुर्घटना

विराटनगर । संखुवासभा मादी नगरपालिका–१ तिनजुरेस्थित भित्रि कच्चि सडक खण्डमा ट्याक्टर भीरबाट खसेर चालकको मृत्यु भयो । मृत्यु हुनेमा तेह्रथुम लालिगुराँस नगरपालिका १ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल छन् ।

आइतबार बिहान १ बजे टुटेबाट गुफातर्फ जाँदै गरेको अन टेस्ट ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट बायाँ अन्दाजी तीन सय मिटर तल भीरमा खसेर दुर्घटनाग्रस्त हुँदा चालक दाहालको घटनास्थलमा नै मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी मादीमुलखर्क, टुटेदेउराली र ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आइतबार नै संखुवासभा चिचिला गाँउपालिका ३ केराबारी स्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको गाडी दुर्घटनामा परि दुई जनाको मृत्यु भयो । आयोजनाको एडिट फोरको पटेल कम्पनीको डबलूबी ११ टिसी ०२९६ नम्बरको मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चालक भारत बिहार का ३५ वर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपी का ४० वर्षीय श्रीनिवास सिंह रहेका छन् । बेलुका ८ बजे गिटी सिमेन्ट घोली पुर्याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १ सय ५० मिटर तल खसि दुर्घटना भएको थियो । सो दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

यसैगरी झापाको भद्रपुर नगरपालिका ४ रंगेडाडामा फूलपातिको भोलिपल्ट मंगलबार भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भयो । सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको थियो । मृत्यु हुनेमा साईकल यात्री भद्रपुर नगरपालिका ६ का ६० वर्षीय महेश सिंह राजवंशी रहेका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी टेयाङकीको गाडीले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राजबंशीको उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पु¥याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालक भद्रपुर नगरपालिका १० का २१ वर्षीय आमसमणी टुडु वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा छन् ।

सवारी दुर्घटनामा मृत्यु हुने उल्लेखित घटना प्रतिनिधि मुलक हुन् । दशैं अर्थात् घटस्थापना असोज २१ देखि सोमबारसम्म १४ जिल्ला रहेको प्रदेश १ मा १ सय ५६ वटा सवारी दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुने १६ जना पुरूष र १ जना महिला रहेको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते ५३ र सामान्य घाइेत २ सय ४३ जना रहेका छन् । दशैं सुरू भएको ११ औं दिनसम्म प्रदेशको सबैभन्दा बढी दुर्घटना मोरङमा भएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ । मोरङमा दुर्घटना संख्या बढी देखिए पनि मुत्यु हुनेको संख्या कम रहेको छ ।

५३ वटा दुर्घटना भएको मोरङमा चार जनाको मृत्यु भएको छ । मोरङपछि सुनसरीमा दुर्घटना बढीरहेको छ । सुनसरीमा ४८ वटा दुर्घटनामा परि पाँच जनाले ज्यान गुमाएका छन् । मोरङमा भन्दा चार वटा दुर्घटना कम भएपनि मृत्यु हुनेको संख्या बढी हो । यसैगरी झापामा २३ वटा दुर्घटनामा परि ४ जनाले अकालमै ज्यान गुमाएका छन् । उदयपुरमा १४ वटा दुर्घटना भएको छ । तर, दुर्घटनामा परि कसैले पनि ज्यान गुमाएको छैन । यस्तै संखुवासभामा ७ वटा दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । इलाममा एउटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धनकुटा, पाँचथर, ताप्लेजुङ्ग, भोजपुर, खोटाङ्ग, ओखलढुंगा र सोलुखुम्बुमा दुर्घटना भएपनि कसैको ज्यान नगएको ट्राफिक प्रहरीले जनाएको छ । १४ जिल्ला रहेको प्रदेशमा १३ वटा जिल्लामा दुर्घटना भए पनि तेह्रथुममा दशैंको सोमबारसम्म आइपुग्दा कुनै दुर्घटना नभएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।

भित्री सडकमा बढी दुर्घटना

साँघुरो सडक, कच्ची र जोखिम युक्त सडकको कारणले यसपटक मुख्य राजमार्गमा भन्दा पनि भित्री सडकमा सबैभन्दा बढी सवारी दुर्घटना भएको पाइएको छ । नयाँ खुलेका भित्री सडकहरू साँघुरो र समयमै निर्माण सम्पन्न नभएका जिर्ण सडकमा सबैभन्दा बढी दुर्घटना हुने गरेको १ नं. ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी बासुदेव खतिवडाले जानकारी दिए । ‘अहिले जतिपनि दुर्घटना भएका छन् । त्यो राजमार्गमा भन्दा पनि भित्री र पहाडी जिल्लाको साँघुरो सडकमा बढी दुर्घटना भएको पाइएको छ,’ ट्राफिक प्रहरी प्रमुख एसपी खतिवडाले भने, ‘साँघुरो र जिर्ण सडक । चालकको लापरवाहीपूर्ण तरिकारले सवारी चलाउँदा राजमार्गमा भन्दा पनि भित्री सडकमा बढी दुर्घटना भएको पाइएको छ ।’

सोमबार, ०१ कार्तिक, २०७८, साँझको ०५:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर