खाद्यान्न बाहेकका उद्योग प्रभावित

माग घटेपछि उत्पादन कटौती गर्दै उद्योग

विराटनगर । मोरङ र सुनसरी जिल्ला प्रशासन कार्यालयले साताब्यापी निषेधाज्ञा जारी गरेपछि यस क्षेत्रमा सञ्चालित उद्योगहरुले उत्पादन कटौती गर्न थालेका छन् ।

मोरङ, सुनसरी, झापा लगायतका जिल्लामा कोरोना संक्रमणको दर तिब्रगतिमा बढ्न थालेकोले उद्योगमा कार्यरत मजदुरहरुसमेत संक्रमित हुँदा कतिपय उद्योग प्रभावित भएका छन् ।

त्यसबाहेक जनसंख्या धेरै भएका जिल्लाहरु कोरोना संक्रमणबाट प्रभावित भएको र अहिलेसमम ३२ जिल्लामा निषेधाज्ञा जारी भइसकेकोले बिस्तारै बजारमा बाट उत्पादित वस्तुको माग घट्दै गएको उद्योगीहरुले बताएका छन् ।

‘बजार बन्द हुँदा वस्तुको माग स्वभाविक रुपम घट्छ’ उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले भने ‘दैनिक उपभोग्य वस्तु, खाद्यान्न आदि उत्पादन उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन भएपनि अरु उद्योगहरुमा बिस्तारै प्रभाव बढ्दै गएको छ । ’ बजार बन्द भएपछि उपभोक्ताहरुले अत्यावश्यक वस्तुहरुको आपूर्तिमा ध्यान दिन्छन् । निषेधाज्ञा र लकडाउनको अवधिमा निर्माण कार्यहरु रोकेर सहज अवस्थाको पर्खाइमा रहने भएकोले निर्माणमा प्रयोग हुने वस्तु उत्पादन गर्ने उद्योगहरु यतिबेला सबैभन्दा धेरै प्रभावित हुने गर्दछ । विभिन्न जिलहरुका निषेधाज्ञा गर्ने क्रम सुरु भएपछि यस क्षेत्रका निर्माण सम्बन्धी उद्योगहरुले ५० प्रतिशत उत्पादन कटौती गरिसकेको अध्यक्ष प्याकुरेलले जानकारी दिए । अघिल्लो वर्ष भएको लकडाउनमा निर्माणसँग सम्बन्धित उद्योगहरु सबैभन्दा धेरै प्रभावित भएको र भर्खरै मात्र ती उद्योगहरुले गति लिने वातावरण बनिरहेको थियो । फेरी बजार बन्द हुने अवस्था उत्पन्न भएकोले त्यस्ता उद्योगहरुले यस पटक झन् ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था आउन सक्ने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।

निषेधाज्ञाको अवधि केही समय बढ्दै गएको खण्डमा तंग्रिदै गएको होटल व्यवसाय, पर्यटन व्यवसाय, यातायात र मनोरञ्जनका क्षेत्रहरु सबैभन्दा धेरै प्रधावित हुने र तयसबाट धेरैले आफ्नो व्यवसायबाट हात धुनुपर्ने अवस्था आउन सक्ने अध्यक्ष मुन्दडाको भनाइ छ । उनी भन्छन् ‘गतवर्षदेखि लामो समय होटल, रेष्टुराँ, पार्क र पर्यटकीय स्थलहरु बन्द भएका थिए, भर्खरै ती क्षेत्रहरुमा गतिविधि हुन थालेको थियो फेरि बन्द गर्नुपर्ने अवस्था आइप¥यो । यो लामो समय गयो भने धेरै सञ्चालकहरुले व्यवसाय धान्न सक्ने अवस्था रहँदैन ।’ पुराना व्यवसायीले घाटा व्यहोर्ने र मूल्य वृद्धि गरेर प्रतिष्पर्धा गर्ने अवस्था नहुने हुँदा नयाँ फर्महरु स्थापना भई प्रतिष्पर्धा गर्न आउने अवस्था विकसित हुने भएकोले ती क्षेत्रहरु पूर्ण धराशायी हुने खतरा रहेको उनको भनाइ छ ।

निषेधाज्ञाको सुरुवाति चरणमा प्रभाव नदेखिएपनि यो अवस्था लम्बिदैँ जाँदा उद्योग ब्यापारको क्षेत्रमा नकारात्मक प्रभावहरु बढ्दै जाने उद्योगी व्यवसायीहरुले बताएका छन् । त्यसका लागि सरकारले उद्योग र उद्योगमा काम गर्ने श्रमिकहरु दुवैलाई लक्षित गरेर कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् ।

उद्योग व्यवसाय धराशायी हुन्छन् भन्ने नाममा जनताको स्वास्थ्यप्रति खेलवाड गर्न नहुने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा बताउँछन् । उनले भने ‘कोरोना संक्रमण व्यापकरुपमा फैलिएको छ, यसको चेन ब्रेक गर्न जरुरी छ । त्यसका लागि कम्तिमा १५ दिन मानिसलाई बसैकै ठाउँमा रोक्ने स्तरको कडा लकडाउन गर्नुपर्छ । त्यसपछि १५ दिन खुला राखेर फेरि १५ दिन लकडाउनमा जाने तरिका अपनाउन सकेमा रोकथाम र नियन्त्रण कार्य प्रभावकारी हुन्छ ।’

सरकारले भाइरस प्रवाह हुन रोक्ने प्राकृतिक उपाय अवलम्बन गर्ने र दोश्रो खोप अभियान व्यापकरुपमा सञ्चालन गर्ने तर्फ ध्यान दिनु पर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । दैनिक व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने र सयौं मानिससँग सम्पर्कमा रहनुपर्ने फ्रण्टलाइनर व्यवसायीहरुका लागि सरकारले अहिलेसम्म खोपको प्रवन्ध नगरेको भन्दै उनीहरुले सर्वसाधारणलाई समेत लक्षित गरेर सरकारले सबैलाई खोप लगाउने तर्फ काम गर्नुपर्ने बताएका छन् ।

सोमबार, २० बैशाख, २०७८, साँझको ०७:४७ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर