विराटनगर । कोरोना संक्रमणको दर बढ्न थालेपछि विराटनगरस्थित कोसी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारीलाई तीब्र पारिएको छ । ३२ शय्या आइसियुसहित ८० शय्या चालु रहेको अस्पतालमा थप भेन्टिलेटरसहित १८० शय्या सञ्चालनको तयारी छ ।
नागरिक केयर सेन्टरको सहयोगमा स्थापना गरिएको थप १०० शय्याको ब्लक पनि सञ्चालनको तयारी गरिएको हो । अस्पतालमा गत वर्षको कोरोना संक्रमण उच्च विन्दुमा पुगेको बेला शय्या विस्तार भएको थियो । तर, संक्रमणको विस्तार कम भएसँगै त्यसमा अन्य पूर्वाधार जडान गरिएको थिएन ।
मंगलबार अपरान्हसम्म थप गरिएको अक्सिजनसहित एक सय शय्याको सेटअप सकिएको छ अस्पतालले जनाएको । त्यसमध्ये ५ थान भेन्टिलेटरयुक्त शय्या पनि सञ्चालनयोग्य भएको छ । भेन्टिलेटरको माग बढेको खण्डमा तत्काल जडान गर्न सकिने १५ थान भेन्टिलेटर तयारी अवस्थामा राखिएको कोसी कोभिड अस्पतालका संयोजक बैजनाथ साहले जानकारी दिए ।
अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आउँदा मनिटरसहित ५० शय्याको आइसियु र त्यतिकै संख्यामा एचडियु शय्याहरु तयारी हुनेछन् । अस्पतालमा अहिले २६ थान भेन्टिलेटर रहेपनि ६ थान मात्र चालु अवस्थामा छन् । नयाँ ब्लकमा थप ५ थान भेन्टिलेटर जडान गरिएको छ ।
अस्पतालमा अक्सिजन तीब्र प्रवाह गर्न आवश्यक पर्ने उपकरणसमेत जडान गरिएको छ । अस्पतालमा ‘हाई फ्लो नोजल क्यानुला’ १५ थान रहेको र त्यसबाट बिरामीलाई ५० लिटरसम्म अक्सिजन प्रवाह गर्नसक्ने बताइएको छ । अस्पतालको बिस्तारित ब्लकमा यो सुविधा रहेको साहले जानकारी दिए ।
अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न मंगलबार अस्पताल परिसरमा नयाँ ट्रान्सफर्मर जडान गरिएको छ । २५० केभिएको जेनेरेटर जडान र त्यसको अर्थिङको काम पनि बुधबार दिउँसोसम्म सम्पन्न भइसक्ने व्यवस्थापन पक्षले जनाएको छ । शय्याहरुमा अक्सिजन पाइपलाइनको वायरिङ भइसकेको र एयरकण्डिसनहरुसमेत तयारी अवस्थामा रहेकोले बुधबारबाट अस्पताल पूर्णक्षमतामा सञ्चालन योग्य हुने दावी साहको छ ।
कोरोना संक्रमितको उपचारमा अक्सिजनको आपूर्ति नियमित गर्न अस्पताल परिसरमै अक्सिजन प्लान्ट स्थापनाका लागि सामाजिक विकास मन्त्रालयले पहल थालेको छ । अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्दा ठूलो परिमाणमा अक्सिजन आवश्यक पर्ने भएकोले मन्त्रालयले अक्सिजन ग्यास उत्पादकसँग समन्वय गरेर अस्पताल परिसरमै प्लान्ट सञ्चालन गर्न छलफल अघि बढाएको बताएको छ ।
जनशक्तिको भने अभाव
अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रविधि र पूर्वाधारका दृष्टिले तयारी अवस्थामा देखिएपनि जनशक्तिको भने अभाब छ । आाइसियु, एचडियु र भेन्टिलेटरसहितको सेवा विस्तार गर्दा अस्पताललाई ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरुको आवश्यकता पर्ने भएपनि सरकारले त्यसतर्फ ध्यान पु¥याएको छैन ।
कोसी कोभिड अस्पतालमा अहिले ४ जना मेडिकल अधिकृत र सेकेण्ड अनकल ड्युटीका लागि थप २ जना गरी ६ जना चिकित्सक कार्यरत छन् । नर्सिङतर्फ ७ जना कर्मचारी कार्यरत छन् । अन्य कर्मचारी १२ जना र सरसफाईतर्फ ८ जना गरी अहिले ३३ जना जनशक्ति कार्यरत छ । ३३ जना जनशक्तिबाट १८० शय्याको अस्पताल सञ्चालन सम्भव छैन ।
अस्पतालको क्षमता र सेवा विस्तारसँगै जनशक्ति थप गर्ने तर्फ पनि सरकारले सँगसँगै काम गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । एउटा भेन्टिलेटर सुचारु राख्न न्यूनतम ६ देखि ८ जना जनशक्ति आवश्यक हुने भन्दै सोही अनुपातमा जनशक्ति व्यवस्थापन गर्न अस्पतालले सरकारलाई सुझाव दिएको छ ।
भेन्टिलेटरकै लागि धरान जान बाध्य
अस्पताल पूर्ण क्षमतामा सञ्चालन नहुँदा कोभिड संक्रमित बिरामीहरुले सामान्य अक्सिजन र भेन्टिलेटर सेवा पाउनबाट बञ्चित हुँदै आएका छन् । निजी अस्पतालबाट भेन्टिलेटर सेवा लिँदा महंगो शुल्क तिर्नुपर्ने भएकोले न्यून आय भएका बिरामीहरुले उपचार गर्नै नसक्ने अवस्था छ ।
पछिल्लो समय अक्सिजन, भेन्टिलेटरको सुविधा र विश्वासका कारण बिरामीले विराटनगरमा भन्दा धरानमा पुगेर उपचार सेवा लिन इच्छुक देखिएका छन् । पछिल्ला दिनमा धरानमा उपचार गराउँदै गरेका विराटनगरका २ जना संक्रमित बिरामीको मृत्युले पनि त्यसको पुष्टि हुन्छ ।
अस्पतालमा २८ संक्रमित उपचाररत
मंगलबार अपरान्हसम्म २८ जना संक्रमितहरु उपचाररत रहेको कोसी कोभिड अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार उपचाररत २८ जनामध्ये ५ जना आइसियूमा छन् भने बाँकीले सामान्य अवस्थामा जनरल वेडमा बसेर उपचार सेवा लिइरहेका छन् ।