के मोटाउनु गल्ती हो ?

 भूमिका विष्ट

मधुका बुवा फौजमा जागिरे थिए । आमा गृहिणी । घरकी एक्ली सन्तान मधु गाउँको सबभन्दा राम्रो विद्यालयमा पढ्थी । उनको जीवनमा कुनै पनि कुराको कमी थिएन । तर, पनि उसलाई सधैं एउटा चिन्ताले सताउथ्यो, ‘म किन मोटी भएँ ?’ १४ वर्षमै उनको तौल ८० केजी भैसकेको थियो । त्यही भएर मधु घरबाट कामै नपरी बाहिर निस्किन रुचाउदैनथी । निस्कियो कि छरछिमेकका कुरा सुन्न परिहाल्थ्यो, ‘उ मोटी आई’ । मोटोपनका उनका धेरै किस्साहरू थिए, मन दुखाउने । बेलाबेलामा मलाई आएर सुनाइरहन्थी । म दुनियाँको वास्ता नगर भनेर ढाडस दिन्थेँ। । एकदिन मधु र उनकी आमा, मामा घर जान बसमा चढेका रहेछन् ।

मधुलाई देख्ने बित्तिकै सहचालक भाइ कुर्लेछन्, ‘बाबा हो, दुई जना अटाउने सिटमा एकैजना पो बसाउनुपर्ने भयो ।’ सहचालकको कुरा सुनेर बसमा भएका सबै गलल हाँसे । मधुको मन भने कटक्क भयो । मामा घर पुग्नेबित्तिकै पनि सुरू भैहालेछ, ‘भान्जी अलि खाना कम खानु के, धेरै मोटो भयो भने बिहे गर्न पनि अप्ठ्यारो हुन्छ ।’ मामाको कुराले मधुलाई त्यो रात निद्रा परेन ।

मामाघरबाट फर्केपछि मधुले मलाई भनी, ‘म मोटी हुँदा अरूलाई किन यति पीर ?’ मसँग त्यो गम्भीर प्रश्नको जवाफ थिएन । मैले मधुलाई ‘भो छोडिदे अरूको कुरामा ध्यान न दे’ भनेँ । उसले फेरि भनी, ‘मामाघरमा यही कुरा मैले मेरी दिदी पर्ने मामाकी छोरीसँग पनि भनेँ, अपरेसन गरेर मासु फाल्दे भन्ने जवाफ पाएँ’ । विश्वास गरेको मान्छेले यस्तो भन्दा उनलाई टेकेको हाँगो नै भाँचिएजस्तो भयो रे । एकदिन दिउँसो स्कूलबाट फर्केपछि मधु सिधै मेरो घरमा आई । म पनि स्कूलबाट भर्खरै घर पुगेर खाजा खाँदै थिएँ । मैले मधुलाई पनि ‘आइज खाजा खा’ भनेँ ।

मधुले तीन दिनदेखि आफूले खाना एकदमै थोरै खाएको कुरा गरी । म छक्क परेँ, मैले मधुलाई खान नखाएर मात्र दुब्लाउने हो र भनी सम्झाएँ । ऊ दुब्लाउने हर उपाय अपनाउन अघि सरेकी थिइ । तैपनि उनको खेदो खन्ने मान्छेको कमी थिएन । एकदिनको कुरा । मधुको कक्षाका सबै मिलेर मधुको खिल्ली गर्न ऊ स्कूल पुग्नुअघि नै सल्लाह गरेका रहेछन् । मधु कक्षामा पुग्ने बित्तिकै, ‘गुड मर्निङ मोटी मिस’ भनेछन् । साथीहरूले मोटी र मिस भनेको कुरा लिएर मधु हेडसरकहाँ गइछिन् । ‘मोटीलाई मोटी र पातलीलाई पातली नभने के भन्छन् त ?’ हेडसरले उनको घाउमा झन् नुन छर्केछन् ।

हुन त यसका बारेमा उनका बाबा–आमाले स्कूलमा गुनासो भने नगरेका हैनन् । ‘यस्तो कुरामा पनि गुनासो सुनाउने ? बरू छोरीको बजन घटाउन लाग्नुस्’ भन्ने जवाफ पाए । मधुले यी सारा कुरा मलाई रूँदै भनि । उसलाई सम्झाउन र आत्मबल बढाउनबाहेक म केही गर्न सक्दैन थिएँ ।
त्यसपछिको एक दिनको कुरा । पहाडमा बस्ने मधुकी फुपू उसको घर आएकी थिइन् । उनी एकदमै दुब्ली थिइन् । फुपू दुब्लो देखेर आमाले सञ्चो बिसन्चो सोध्नुभएछ । फुपूले आफूलाई कुनै विमारी नभएको तर घरमा काम गर्ने एक्लै भएकोले दुब्लाएको भनेछिन् । फुपूको कुरा सुनेको दिनदेखि मधुले घरको सबै काम एक्लै गर्न सुरू गरिन् । घरको मात्र नभई ऊ खेतबारीको काम पनि गर्थी । दुब्लाउनको उपाय केही थाहा पाउनेबित्तिकै ऊ त्यही गर्न थाल्थी । गाईभैंसीलाई घाँस काटेर हाल्थी । बाख्रा चराउन जान्थी । बाख्रा चराउन जंगल भएका बेला गोठाला गएकाहरूले उनलाई सँगै खेलाएनछन् ।

‘मोटी दगुर्न सक्दिैन भनेर कसैले टिममा राखेनन्,’ मधुले मलाई सुनाइ । मन दुखेर के गरूँ–गरूँ भएपछि ऊ मकहाँ आउँथी । सारा कुरा सुनाउँथी । हल्का हुन्थी । अनि आत्मविश्वास सम्हालेर घर जान्थी । काम धन्दा सम्हाल्थी । जति गरे पनि उनको मोटोपन कहिल्यै घटेन । उनले घटाउन सकिनन् । उनको बुबाले उसलाई व्यायाम नपुगेको भनेर हरेक दिन कचकच गरिरहनु हुन्थ्यो । बुबा घरमा नहुँदा पनि मधुलाई फोन गरेर व्यायाम गरेको नगरेको खबर लिरहनु हुन्थ्यो ।
एकपटक गाउँमा बिहे थियो । मधुको उमेरका साथीहरूले पाइन्ट टिर्सटलगाउने सल्लाह गरेछन् । मधुलाई पनि पाइन्ट लगाउन रहर थियो । तर, मोटी देखिन्छे भनेर आमाले सुट मात्र सिलाइदिइन् । मन मारेर मधु सुट लगाएरै जान बाध्य भइन् । त्यतिबेला उनी एक जना दाई पर्ने मान्छेसँगै बिहे घर गइन् । अल्लि ठूलाले पनि उनलाई ‘दिदी’ भन्दै नमस्कार गरेछन् । दाइलाई भने ‘भाइ’ भनेछन् । यो कुराले मधुको मन झन् झन् भाँचियो । नबुझ्नेहरूले मात्र होइन, मधुले विश्वास गरेका आफन्त र साथी भाइले नै मधुको मोटोपनको मजाक उडाउँथे । यही कुराले मधु आफ्नो पढाइमा पनि ध्यान दिन सकिन ।

रातभरि मनमा कुरा खेलाउनु, कक्षामा झुपुझुपु हुनु उनको दैनिकी हुनथाल्यो । एकपटक कक्षामा मधु निदाएकी थिई । सरले उठाएर प्रश्न सोध्नुभएछ । मधुले जानिनछ । अनि त सरको पारो छुटेछ । ‘मोटो ज्यानको मोटो बुद्धि, गैंडा कहीँ कि !’ भन्दै सरले गाली गर्नुभएछ । त्यस दिनदेखि उसलाई कक्षामा जलगैंडा भन्न थाले । मधुलाई स्कूल जान मन लाग्न छाड्यो । ऊ घरबाहिर निस्कन छाडी । कोठाभित्रै टोलाएर बस्नथाली । खाना पनि खान छाडी । धेरै दिनदेखि मधु मकहाँ पनि आउन छाडी । खबर लिन म आफैं उनको घर पुगेँ । उनकी आमा पिँढीमा झोक्राइरहेकी थिइन् । बाबा प्रहरीकोमा जानुभएको रहेछ । ‘तीन दिनदेखि मधु गाउँबाट बेपत्ता छे’ आमा मलाई समातेर रून थाल्नुभयो । कहाँ गई ? के गरी होली ? त्यो रात म पनि निदाउन सकिनँ, मनमा एउटै प्रश्न नाचिरह्यो, ‘के मधु मोटाउनु गल्ती थियो ?’

शुक्रबार, १० बैशाख, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर