पत्रकार महासंघको निर्वाचन र नेतृत्व

 अर्जुन आचार्य

नेपाल पत्रकार महासंघको २६ औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले दिएको समयसीमा अनुसार शनिबार केन्द्रीय समितिको मनोनयन भएको छ । प्रदेश समितिको मनोनयन १९ गतेलाई तोकिएको छ र जिल्ला शाखाको निर्वाचनको लागि मनोनयनको मिति २२ चैतलाई तोकिएको छ । केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिका लागि निर्वाचन भने चैत २५ गते एकैदिन हुनेछ । निर्वाचन हुने नहुने वा के हुने भन्ने अन्यौल आजका दिनसम्म आइपुग्दा एक हदसम्म सकिएको छ । अब देशमा ठूलै दुर्घटना वा कोरोना महामारीको ठूलै संकट आइलागेमा बाहेक निर्वाचन रोकिदैन । राजनीतिक र प्राविधिक कारणले अब निर्वाचन नहुने कुनै गुन्जायस छैन । सिंगो पत्रकार जगत आफ्नो नेतृत्व चयनको प्रक्रियामा सामेल भइसकेको छ ।

पत्रकार महासंघको निर्वाचन र नयाँ नेतृत्वको विषयमा सर्वत्र चासो छ । महासंघको नेतृत्वको विषयमा राजनीतिक पार्टीहरुले आफ्नो लविङ गरिरहेका छन्, विभिन्न उद्योगी व्यवसायीले पनि लविइङ थालेका छन् । नागरिक समाजले पनि महासंघको नेतृत्व चयन प्रक्रियालाई चासोका साथ हेरिरहेका छन् । त्यसभन्दा पनि महत्वपूर्ण कुरा भनेको पत्रकार महासंघको आगामी नेतृत्वले नेपालको पत्रकारिता, व्यवसायिक हित, प्रेस स्वतन्त्रताको मुद्दा, श्रमजीविहरुको हित, साना लगानीका मिडियाहरूको सुरक्षा, समानुपातिक विज्ञापनको मुद्दालाई कसरी लिन्छ ? र त्यसलाई गम्भीर ढंगले सम्बोधन गर्ने कार्यक्रम ल्याउने गरी नेतृत्व चयन कसरी गर्छ भन्ने विषय महत्वपूर्ण बनेको छ ।

नेपाल पत्रकार महासंघले हालसम्म देशको विभिन्न राजनीतिक परिवर्तन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकप्रति सँधै सचेततापूर्वक संघर्ष गरिरहेको छ । आगामी दिनमा पनि महासंघले गर्ने कतिपय संघर्षका नयाँ रूपलाई कसरी सम्बोधन गर्ने र नयाँ ढंगले आएका प्रविधियुक्त विभिन्न संचार माध्यमलाई व्यवस्थित कसरी बनाउने भन्ने विषय झनै पेचिलो बनेको छ । यस विषयमा पनि नयाँ नेतृत्वले ध्यान दिनु आवश्यक छ ।

मोरङमा कस्तो नेतृत्व ?

पत्रकार महासंघको नयाँ नेतृत्वको विषयमा केन्द्रमा उम्मेद्वारी आइसकेको छ । अब प्रदेशमा नयाँ नेतृत्वको उम्मेदवारी २÷४ दिनभित्रै आउनेछ भने जिल्ला शाखा मोरङमा पनि ५÷७ दिनमा नयाँ नेतृत्वको उम्मेदवारी आउँछ । ती उम्मेदवारको चयन पनि ११ दिनभित्रमा सम्पन्न भइसकेको खबर सार्वजनिक हुनेछ ।

मोरङ प्रदेश १ को राजधानी भएको जिल्ला हो । मोरङ प्रजातान्त्रिक आन्दोलनको अग्रणी थलो हो । त्यसकारण पनि पत्रकार महासंघ मोरङ शाखाको नेतृत्व चयन पनि सबैका लागि चासोको विषय बनिरहेको छ । विभिन्न गठनबन्धनहरुले मोरङलाई कसको भागमा पार्ने वा के हुने भन्ने चर्चा र बहस गरिरहेका छन् । तर, मोरङको आफ्नै मौलिक र फरक विशेषता छ । पत्रकार महासंघ मोरङको विगतदेखिकै नेतृत्व चयनको विषय निर्वाचनबाटै भएपनि कम विवादित र स्वस्थ प्रतिस्पर्धाबाटै भएको छ । निर्वाचित कार्यसमितिले पनि सहमतिका साथ नै भूमिका खेलिरहेको छ । पेशागत सुरक्षा, श्रमजीविको हित, सांगठनिक लविङ पनि जिल्लामा सहमतिका साथ नै भएको छ । तसर्थ यहाँ हामी प्रस्ताव गर्न चाहन्छौं, कि आगामी जिल्लाको नेतृत्व सर्वसम्मत ढंगले निर्वाचित गरौं ।

ठूला भनिएका संगठनहरुमा केही महत्वाकांक्षा र अन्य संगठनलाई अस्वीकार गर्ने विगतका प्रवृत्ति यस पटक कमजोर भएर उपस्थित छ । त्यसको कारण भनेको संगठनभित्रको अस्वस्थ प्रतिस्पर्धा र व्यवसायिक नेतृत्वको संकट हो । त्यसका साथै मोरङ पत्रकार महासंघमा हालसम्म पनि स्वतन्त्र र अग्रजहरुको महत्वपूर्ण भूमिकाले पनि यसपटक जिल्लामा सर्वसम्मत नेतृत्व चयनको विषय अगाडि उपस्थित भएको छ । नेतृत्वमा जाने पात्र र उसको प्रवृत्तिको विषयमा हामीले राम्रो बहस गर्नु आवश्यक छ । पत्रकार महासंघप्रति जनताले गर्ने अपेक्षा, सामाजिक संघ–संगठनको अपेक्षा, श्रमजीवी व्यवसायिक पत्रकारहरुको अपेक्षा र सम्मानित अग्रज व्यक्तित्वहरुको मनोकांक्षाको नेतृत्व गर्नसक्ने कुराको ग्यारेण्टी गरेर हामीले नयाँ नेतृत्व चयन गरौं ।

केही संगठनहरुले आफू ठूलो भएको, आफ्ना सदस्यहरु बढी भएको तर्क दिएर पत्रकार महासंघको नयाँ नेतृत्वमा दाबी गर्न मिल्दैन । त्यो सँगसँगै हामीले महासंघको गरिमा र महत्वलाई धूलिसात हुन नदिनका लागि विगतदेखि हुँदै आएका प्रयास र सोही अनुसारको नेतृत्व अगाडि बढाउन जो कुनै उपर्युक्त पात्रलाई अगाडि सारेर भएपनि सहमति गरौं । कुनै संगठनले कुनै संगठनलाई निषेध नगरौं । ठूला भनिएका संगठनहरुले यस पटक आफू एक कदम पछि हटेर महासंघलाई जिताउने र पत्रकारितालाई पनि जिताउने भूमिका खेल्नु आवश्यक छ । नत्र, कोही नेतृत्वमा आउने उसले जित्ने र पत्रकारिता हार्ने अवस्थाको सिर्जना नहोला भन्न सकिन्न । चेतना भया ।

आइतबार, १५ चैत, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर