इलाम । इलाम नगरपालिकामा पर्ने साविक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची राजमार्ग स्थित माईखोला राजदुवाली खण्डको सडक भासिने क्रम अझै रोकिएको छैन ।
डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१/७२ सालमा भासिएको सडक मर्मतका लागि ६ करोडमा नयाँ प्रविधिमा आधारित एङ्करिङ विधिबाट सडक मर्मतको ठेक्का लगाएको थियो । निर्माण सकिएको सडक पुः भासिने क्रम रोकिएको छैन । बारम्बार सडक भासिएपछि राजदुवाली एङ्करिङ अर्थात रड र सिमेण्टको घोला प्वालबाट पठाएर जमिनमुनी पक्की बनाउने काम गरिएको थियो ।
बाटोको तलमाथि भित्ता काट्ने, सतहमा माटो तथा ग्राभेल भर्ने, तारजालीमा ढुङ्गाको ग्याबियन पर्खाल लगाउने, एङ्करिङ गर्ने र कालोपत्रे गर्ने कामको ठेक्का लिएको स्वच्छन्द जोशी सफल जेभी निर्माण कम्पनीले काम सम्पन्न गरेपनि सडकको अवस्था उस्तै छ । पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलो पटक मेची राजमार्गको राजदुवाली खण्डमा एङ्करिङ गरिएको थियो । यसले माटो भासिएर वा अन्य कारणले ठेलिएर तल सर्न वा पहिरो जानबाट रोक्ने भनिएपनि टिक्न सकेन ।
एङ्करिङ गर्दा पहिले फलामको पाइपले २५ मिटर भित्रसम्म प्वाल पारेर प्वाल क्लियर भएपछि ३२ एमएमको फलामको चार चार मिटरको रडलाई सकेटको माध्यमबाट जोड्दै हावाको दबावमा सिमेण्टको घोला र केमिकल फलामको पाइपमार्फत पठाइएको थियो । भित्र हावा पुग्ने स्थानसम्म र बाहिर ग्याबियन पर्खालसम्म केमिकलसहितको घोला भरिएपछि त्यसलाई बाहिरको प्वालसम्म जमाएर जम्मा १ सय ८२ वटा प्वालमा गरिएको भएपनि त्यसले काम नगरेपछि सडक झन् कुरुप बन्न थालेको हो ।
ठूलो रकम खर्चेर सडक मर्मत गरेपनि राजदुवालीदेखि भञ्ज्याङसम्म करिब ३ किलोमिटर कालोपत्रे सडक खण्ड लथालिङ्ग बनेको छ । कालोपत्रे भत्केर ठुल्ठूला खाल्डा परेको छ भने सडक भासिएर कतिपय स्थानमा सडकको आधाभन्दा बढी भाग नै बिग्रिँदा राजमार्ग एकतर्फीजस्तो मात्रै भएको छ ।
कालोपत्रे जीर्ण हुँदा सवारीका साधन दुर्घटनाको जोखिम भएको पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष ग्रिस्म सुव्वाको भनाइ छ । सडक अप्ठ्यारो भएकाले मर्मत गर्न व्यवसायीले पटक–पटक माग गरेपनि सडकको अवस्था उस्तै रहेको छ ।
माइखोलादेखि गोलाखर्क भञ्ज्याङ खण्डको करिब आधा दर्जन स्थानमा वर्षाैंदेखि राजमार्ग भत्किएको छ । यो स्थानमा मर्मतका लागि मात्रै करोडौं रुपैयाँ खर्च भइसकेको छ । ५ करोड हाराहारी रकम खर्चेर गरिएको ‘रक’ एंकरिङसमेत असफल भएपछि सडकको अवस्था दयनीय छ ।
सडक कार्यालयले भने बिग्रिएको राजदुवाली–भन्ज्याङ सडक खण्डको मर्मतमा लागेको ठेक्का अनुसार काम भईरहेको जानकारी दिएको छ । कार्यालयका सुचना अधिकारी विरेन्द्रकुमार यादवका अनुसार मुख्य दविएको ठाउँमा एङ्करिङ गरिएपनि सडक दविने नरोकिएको कारण त्यसलाई मर्मत गरेर जाने बताउनुभयो ।
भासिन क्रम नरोकिने र मर्मतका लागि राज्यको करोडौँ रुपैयाँ खर्च भएपछि सडकको रुट नै परिवर्तन गर्नुपर्ने मागसमेत हुन थालेको छ । २०५३ सालदेखि भासिन सुरु गरेको सडकको माइखोला माथिल्लो खण्डको ३ किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त भएको हुँदा जोखिम बढेको हो ।
–भगीरथ भण्डारी