राकेश कर्ण
दिनभरिको थकाई सम्झदै गत आइतबार राती करिब ९ बजे घर फर्किदैँ थिएँ । विराटनगर–५ स्थित सम्झना चौकमा प्रहरी र केही आम सर्वसाधारणलाई देखें । बाटो अँध्यारो भएकाले टाढाबाट हेर्दा त्यो दृश्य ट्राफिक चेकिङ जस्तै थियो । तर नजिक पुग्दा त्यहाँ दुर्घटना भएको रहेछ भन्ने कुरा थाहा पाएँ । विपरित दिशाबाट आउँदै गरेको स्कुटीले साईकल चालकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते साईकल चालकलाई स्थानीयले तत्कालै नजिकैको विराटनगर अस्पतालमा उपचारका लागि पठाइसकेका रहेछन् । स्कुटी चालक भने सामान्य घाइते भएको स्थानीयले बताए । घाइतेको हाल विराटनगर अस्पतालको आई.सि.यु कक्षमा उपचार भइरहेको छ । उनको टाउकाको दाहिने र देब्रे दुवै तर्फ रगत जमेको अस्पतालले जनाएको छ । न्यूरो सर्जनहरूले ३ वटा अपरेसन गरिसकेका छन्् । चौथो अपरेसनको तयारीमा छन् । आमाको आँखामा आँशु छ । बुवा केही बोल्न मान्दैनन् । पुरै परिवार अस्पतालमा बिरामीलाई रुँघेर बसिरहेको छन् । यो एउटा प्रतिनिधिमूलक घटना मात्र हो । मुलुकमा यस्ता दुर्घटना दैनिक हुने गरेका छन् ।
मोरङमा मात्रै पछिल्लो ६ महिनाको अवधिमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ४ सय २८ वटा सवारी दुर्घटना भएका छन् । जसमा परी ५१ पुरुष, १४ महिला र ३ जना बालबालिका गरि ६८ जनाले ज्यान गुमाएका छन् भने १ सय ५१ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय मोरङको चालु आ.ब.को अर्धवार्षिक समीक्षा अनुसार सबैभन्दा बढी पुसमा १ सय ६० वटा सडक दुर्घटनाहरू भएका छन् । जसमा परी १६ पुरुष, २ महिला र ३ बालबालिका गरि २१ जनाको ज्यान गएको छ भने ५२ जना गम्भीर घाइते भएका छन् ।
विशेषगरी सडक सञ्जालको विस्तार भएसँगै दुर्घटनाको दर पनि बढ्दै गएको छ । चालकको लापरबाही, ओभरस्पिड, ओभरटेक र ट्राफिक नियमको अवहेलनालगायतका कारणले सडक दुर्घटना मौलाउँदै गएको छ । जमिनको स्वरुप, भूगोलको अध्ययन, निर्माण कार्यमा प्रयोग हुने उपकरण तथा त्यसको दूरगामी असरको मूल्यांकन तथा विश्लेषणको अभावमा अनेक जोखिम निम्त्याउन थालेको छ । त्यसकै परिणाम प्रत्येक दिन सवारी दुर्घटना हुने क्रम पनि बढेको छ र त्यसमा परी शारीरिक, मानसिक, आर्थिक तथा भौतिक क्षति बढ्दैछ । वैज्ञानिक अध्ययन, अनुसन्धान र विश्लेषण गरी सञ्चालन भएका सडकमा भने ट्राफिक नियमको पालना नगर्ने कारणले दुर्घटना बढ्दै गएको सरोकारवालाको निष्कर्ष छ ।
सडक व्यवस्थापन तथा सुरक्षित यात्राको लागि जिम्मेवार इकाई ट्राफिक प्रहरी नै हो । मोरङमा त्यही इकाई अर्थात् जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले सडक व्यवस्थापनको कार्य गर्दै आएको छ । यस कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काले शिक्षित मानिसले नै ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढ्दै गएको बताउनुभएको छ । सवारी चालकले ट्राफिक नियमको उल्लंघन गर्ने गरेको र पैदलयात्रीले पनि सडकको जथाभावी प्रयोग गर्ने गरेकाले दुर्घटना न्यूनीकरण गर्न सकस भएको ट्राफिक प्रहरीको दुःखेसो छ । त्यसो त दुर्घटनाको पूर्वानुमान गर्न सकिँदैन । तर थोरै पनि सचेतता अपनाउने हो र सडक प्रयोगकर्ताले संयमित, उत्तरदायीपूर्ण र नियमको पालना गर्ने हो भने यसलाई कम गर्न सकिन्छ ।
ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउनु, ट्राफिक संकेतको पालना नगर्नु, जथाभावी पार्किङ गर्नु वा बिसाउनु, क्षमताभन्दा बढी यात्रु तथा भार बोक्नु र सडकको जीर्ण अवस्था जस्ता कारणले दुर्घटना रोक्न नसकिएको जनाएको छ । सवारी चालकले थोरै पनि ट्राफिक नियमप्रति सचेत रहने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, अनुशासित रहने हो भने दुर्घटना न्यूनीकरण गर्न सहज हुने थियो । त्यसैगरी सडक व्यवस्थापन गर्ने निकायले नियमित मर्मत–सम्भार गर्ने हो भने दुर्घटना रोक्न सकिने थियो । दुर्घटनाले हुनसक्ने क्षति कम गर्न सचेतनाका कार्यक्रमलाई तीव्रता दिँदै ट्राफिक जनशक्तिको उचित प्रबन्ध अहिलेको मुख्य आवश्यकता हो । यसो भए अकाल मृत्युको दरलाई कम गर्न र सुरक्षित जीवनको प्रत्याभूति गर्न सकिने थियो ।