आदरणीय दाजु कमरेड क्रान्तिकारी लाल सलाम। तपाईंलाई सुरुमै एउटा क्रान्तिकारी आदर्श व्यक्तित्वको रुपमा स्वीकार र सम्मान गर्न चाहन्छु। तपाईंले नेपाली क्रान्तिमा खेल्नुभएको अतुलनीय योगदानलाई पनि सम्मान गर्न चाहन्छु। हो तपाईंको विगत सम्मान गर्न लायक छ। इतिहास सबैको धेरथोर हुन्छ र त्यसमा तपार्ईँँको इतिहास उच्च कोटीको छ भन्ने कुरामा दुईमत हुन सक्दैन। त्यसैले फेरि पनि शिर झुकाएर तपाईंको इतिहासलाइ सम्मान व्यक्त गर्दै मेरा केही भावनाहरु र तपाईंलाई विनम्रतापूर्वक केही सुझावहरु दिन चाहन्छु। आशा छ हजुरले अन्यथा लिनु हुने छैन। हुनत एउटा कम्युनिष्ट हुनुको नाताले यति धेरै आदरार्थी हुन नपर्ने हो। तैपनि तपाईंको योगदानको उच्च सम्मान गर्दै व्यक्त भावनाहरुलाई अन्यथा लिनुहुने छैन भन्ने आशा पनि लिएको छु।
आदरणीय कमरेड ! तपाईंलाई थाहा छैन भनेर म कसरी भनौं ? तपाईंले बुझ्नु भएको छैन भनेर कसरी आरोप लगाउ ? अहिलेको सङ्कटपूर्ण अवस्थाको ज्ञान छैन भनेर कसरी भनौं ? म एकदमै अन्योलमा छु कमरेड। तपाईंले विगतमा दिनुभएको शिक्षादिक्षा प्राप्त गरेर म आज पनि क्रान्ति यहि पार्टीले गर्ने देखिरहेको छु। तर तपाईं ले किन देख्न छाड्नु भयो कमरेड ? तपाईंलाई थाहा छ? विगतमा मोहन बैद्य किरण ,बाबुराम भट्टराई र अनगिन्ति नेता र नेतृत्वहरुले यो पार्टीलाई धारेहात लगाउनु भएको होइन र ? ती नेता र नेतृत्व आज कहाँ छन् ? तपाइँले देख्नुभएको छैन भनेर म कसरी विश्वास गरौं कमरेड ? आज देशमा कम्युनिष्ट नाममा पचासौं पार्टी छन् भने माओवादीबाट छुटेका नै दर्जनौं पार्टी छन् भन्दा तपाईंलाई कस्तो लाग्छ ? मेरो भने शिर निहुरेको छ कमरेड। अब तपाईं फेरि एउटा नयाँ पार्टी खोल्ने तयारीमा हो कमरेड ? तपाईंलाई लाग्छ तपाईंको यो अभियान सफल हुनेछ ? म दावाका साथ भन्न सक्छु कि आज तपाइलाई हौस्याउने पार्टीभित्र वा बाहिरका जोसुकै होउन तिनीहरूले तपाईंलाई अन्तिमसम्म साथ दिने छैनन्। दुस्मनहरूको उद्देश्य यो पार्टी बन्न नदिनु, बनिहाले चल्न नदिनु र चलिहाले सफलतामा पुग्न नदिनुसम्म हुनेछ। तर, तिनीहरुको उद्देश्य पुरा भएको भोलिपल्ट तपाईंलाई मरेको जनावरलाइ जुम्राले छाडेर गएजस्तै तपाईंलाई छाडेर जाने छन्, प्रष्ट भए हुन्छ।
तपाईंलाई अन्यथा लाग्ला मैले पार्टी फुटाएर जानुअघि कमरेड बादल कमरेड बाबुराम कमरेड विप्लवलाई पनि पार्टी नफुटाउन सुझाव दिने धृष्टता गरेको थिएँ। तर त्यसबेला मेरो त्यो इमान्दार प्रयासलाइ उहाँहरुले बचकना ठान्नुभयो सायद। हुन त अहिले पनि उहाँहरु स्विकार गर्न तयार हुनुहुन्न। तर देखिसक्यो दुनियाँले कि उहाँहरुले उठाएका एजेण्डा आज कहाँ छन् ? उहाँहरूले लगेका उर्जावान कार्यकर्ताको विशाल पङ्क्ति आज कहाँ छन् ? उहाँहरू त आफूले गरेको अपराधको फल चाख्दै हुनुहोला तर ती निर्दोष कार्यकर्ताको राजनितिक जीवन किन बर्बाद पारेको ? ती निर्दोष इमान्दार बहादुर कार्यकर्ताको अल्पज्ञानको दुरुपयोग गरेर रस चुसिसकेपछि तिनीहरुलाई तेतिकै अलपत्र किन छाडेको ? तीमध्ये केही फेरि के कसरी आफ्ना उर्जावान जिन्दगी तपाईं जस्तैको गुटबन्दीको सेवा गरेर सिद्धिसकेपछि बुढेसकालमा त्यही जेनतेन मूलघरकाले जोगाइदिएको झुत्रे घरमा फर्किएको इतिहास तपाईंले भुल्नु भयो ? हो अब केही बचेकालाई सिध्यउन तपाईं अग्रसर हुनु भएको हो ? हो भने तपाईंसँग मेरो गम्भीर असहमती छ। किनकि मानिसको जीवन एकदमै छोटो छ। सबै कुरा आफैंले एक्पेरिमेन्ट गरेर सिक्ने हो भने इतिहासमा प्राप्त शिक्षाको के काम ? विगतमा अरु कमरेडहरुले गरेका राम्रा नराम्रा कुराबाट सिक्नुस् यो अहिलेको बालहठ त्याग्नुस्। कम्युनिष्ट पार्टीको वृहत्तर एकतामा जोड दिनुस् । कमसेकम नेपाली क्रान्तिका पिता कमरेड प्रचण्डसँग सहमती र सहकार्यको अपेक्षा राख्नुस्। दुःखका साथ भन्नुपर्छ विगतमा आफ्नै नेता भनिएकाहरुले चारतिरबाट चिथोरेर झण्डै इतिहास बनाइसकेको यो पार्टी फेरि फुटाएरप्रतिक्रान्तिको सेवा गर्ने धृष्टता नगर्नुस्। यो मेरो प्यारो नेता मानेर दिएको तपाईं र हामीसँगको हितमा दिएको सुझाव हो। सक्नुहुन्छ भने यो सुझावलाई सहजतापूर्वक लिनुस् सक्नुहुन्न भने पनि तपाईंको विचारको सम्मान त फेरि पनि गरिनेछ तर साथ दिएर होइन विदाइका हात हल्लाएर।
आदरणीय दाजु कमरेड यो पार्टी तपाईंको पनि हो मेरो पनी हो, लाखौं अगुवा कार्यकर्ताहरुको हो करोडौं नेपाली जनताको हो र हो हजारौ शहिदहरुको, बेपत्ताहरुको घाइतेहरुको। दाजु कमरेड अब अवस्था पहिलाजस्तो रहेन। खासगरी जेनजी आन्दोलनपछि राजनीतिक दलप्रति र राजनैतिक नेताहरूप्रति जनताले प्रस्न खडा गरिसकेका छन्। तपाईंलाई लाग्ला त्यो आक्रोश मुख्य नेताहरुप्रति मात्र हो। यदि यो सोच्नु भएको छ भने तपाईं बिलकुलै गलत बुझाइमा हुनुहुन्छ। जसरी तपाईं लगायतले कमरेड प्रचण्डलाई दोष दिइरहनुभएको छ त्यसैगरी तपाईं र तपाईंको पुस्ताको विरुद्ध आवाज उठाउने विशाल पङ्क्ति छ । कुरा त्यतिमा सीमित भएको थियो भने पनि ठिकै हुन्थ्यो कमरेड तपाईं पछाडिको मेरो पुस्ताको बारेमा पनि बजार बिग्रिएको छ। हो कमरेड अहिले यसो थामथुम पारेर जोगाएको यो सानो घर कुनै पनि बेला एकै झोंक्कामा उडाएर लैजान सक्छ। यसो भनिरहँदा ममाथि कायरताको आरोप पनि आउन सक्छ तर, केही छैन सत्यलाइ आत्मसात नगरेकै कारण आजको अवस्था आएको कुरा बुझ्न जरुरी छ।
आदरणीय दाजु कमरेड प्रचण्ड नेतृत्वको यो पार्टीमा तपाईं असुरक्षित हुनुहुन्छ भनेर कसैले पत्याएको छैन। कमरेड प्रचण्डको उदारवादी समस्याको मारमा हामी सबै बेला बेलामा पर्ने गरेको भएपनि उहाँमा तानाशाही प्रवृत्ति छ भनेर लगाइने आरोपमा कुनै सत्यता छैन। त्यसैले तपाईंमा धैर्यताको आवश्यकता छ। हामी तपाईंका नै कार्यकर्ता हौं। आउनुस् कमरेड पार्टीलाई विश्वास गर्नुस् कमसेकम पार्टी कार्यकर्तालाई विश्वास गर्नुस्। पार्टी भित्रको समस्या पार्टीभित्रै टुङ्गोमा पुर्याउँ । वृहत्तर एकतामा जोड दिँदै समाजवदी क्रान्तिको आधार खडा गरौं। पुस्तान्तरण र हस्तान्तरणको एउटा उपयुक्त विधिको विकास गरौं। महान एकताको बाटोमा अघि बढौं। महान समाजवदी क्रान्तिको पक्षमा जुटौं। अस्तुः
