अर्जुन आचार्य
‘नाटक… नौटङ्की… नाटक, नौटङ्की…’ र ‘हामी यहाँ छौं,’ अपमान…., पछिल्लो समयमा लाखौं मानिसले थेगो बनाएको शब्दहरू हुन् । नाटक र नौटङ्की भन्ने शब्द अहिले चर्चित हुनुको कारण भनेको नेकपाको विवादसँगै बढेको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेयता गरेको कतिपय काम कारबाही तथा अभिव्यक्तिहरू नाटकै हो भनेर सार्वजनिक मन्तव्य दिनुभएको थियो । नाटकै हो.. नाटकै हो.. नाटकै हो.. भन्दै प्रचण्डले गरेको आलोचनात्मक अभिव्यक्तिको प्रधानमन्त्री केपी शर्मा ओलीले आफू समर्थकको कार्यक्रममा प्रचण्डकै लवजमा अभिनय गर्दै भने ‘यो नौटङ्की नै हो…, नौटङ्की नै हो…, नौटङ्की नै हो… ।’
त्यसपछि यि शब्द सामाजिक सञ्जालमा भाइरल नै बनेका छन् । अझ भनौं सामाजिक संजाल टिकटकमा मनोरञ्जन लिनेहरूले प्रचण्डले भनेको नाटक र प्रम ओलीले भनेको नौटकंकीलाई संयोजन गरेर गीतको रूप समेत दिएका छन् । यस्तै अर्को शब्द हो ‘हामी यहाँ छांैं ।’ प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले संसद विघटनको विरुद्धमा ‘हामी यहाँ छांै’ भन्दै सडकमा बसेपछि यो शब्द पनि नेपालीले थेगोको रुपमा प्रयोग गरिरहेका छन् । जहाँ पुग्यो त्यही फोटो खिच्यो, फेसबुकमा हाल्यो, ‘हामी यहाँ छौं…’ लेख्यो । यो नारालाई पनि नेपालीहरूले मनोरञ्जनात्मक, प्रचारात्मक र व्यंग्यात्मक ढङ्गले नै प्रयोग गरिरहेका छन् । यस्तै माधवकुमार नेपालले पटकपटक ‘केपी ओलीबाट अपमान भयो’ भन्ने कुरा पनि नेताहरूको भाषणबाजीमा प्रयोग भइरहेको शब्द हो । यि माथिका शब्दहरू मध्ये पनि नाटक र नौटङ्की भने अहिले टिकटकमा अत्याधिक प्रयोगमा छन् ।
प्रधानमन्त्रीले गरेको एउटा नाटक (प्रतिनिधिसभा विघटन)कै पेरिफेरिमा अहिले राजनीति घुमिरहेको छ । त्यसलाई प्रतिगमनको रूपमा व्याख्या गर्नु संविधानअनुसार र जनताको चाहना अनुसार नै हो । तर, त्यस कुरालाई ढाकछोप गर्न प्रधानमन्त्री ओली पक्षले प्रचण्ड र माधवको अभियान नौटङ्कीको रुपमा व्याख्या गरिरहेका छन्, त्यो स्वभाविक छ । तर, कतिपय सर्वसाधरणले पनि यसलाई ब्यंग्यवाण गरिरहेका छन् । यो किन भयो भने, प्रतिगमन विरुद्ध आन्दोलनरत नेताहरूले पनि विगतमा आफूले गरेको वाचा पुरा गर्न नसक्नु, जथाभावि बोल्नु, आफ्नो जीवनशैली परिवर्तन गर्न नसक्नु । तिनै नेताहरूको वरिपरिका मानिसहरूको सानमान र रफाव देख्दा जनता आजित नै छन् । त्यही कारण पनि नाटक र नौटङ्की जस्ता शब्दहरू अहिले चर्चित बनेको हो । त्यसबाहेक मान, अपमान, परिवारवाद, किर्तेप्रसाद, बाँदर, ढेडु, लाटोकोसेरो, मुसो, अरिङ्गाल, हात्ती, लामखुट्टे, अपराधि, ब्याँसो, भेडा, जोगीलगायत थुप्रै शब्दहरू एकले अर्कोलाई गाली गर्न खर्चेका छन् । ति सबै शब्दहरूलाई सामाजिक संजालमा भने मनोरञ्जनको रुपमा शेयर, कमेन्ट र लाइक गरिरहेको देखिन्छ । नेताहरूले आफ्नो आलोचना कसरी भइरहेको छ । आफूले भनेका बोलेका शब्दहरू सर्वसाधरणले कसरी रेकर्ड गरिरहेका छन् र स्मरणमा राखिरहेका छन् ? अनि भविश्यमा ति शब्दहरूले कस्तो क्षति पुग्छ ? भन्ने विषयमा घोत्लिनुपर्ने देखिन्छ । नाटक, नौटङ्कीलाई प्रहसन र गीतको रुपमा व्यंग्य वाण गर्ने जनताहरूले नै हो । आगामि दिनमा त्यस्तो बोल्ने नेताहरुको भविष्य निर्धारण गर्ने पनि तिनै जनताहरु हुन् भन्ने कुरा नेताहरूले थाहा पाउन जरुरी छ ।
खासमा नाटक भनेकोे वृहत नेपाली शब्दकोषले ४ वटा बुँदामा व्याख्या गरेको छ । जस्तैः नाटक भनेको १) कुनै देश, काल र वातावरणसँग सम्बद्ध नरनारीको चरित्र र कार्यलाई पात्रहरूका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा, दृश्य काब्य । २) रङ्गमञ्चमा अभिनय गरेर देखाउन मिल्ने गरी लेखिएको कुनै कथावस्तु । ३) पाँचदेखि दश अङ्कसम्म हुने, प्रख्यात धीरोदात्त, दिव्य वा अदिव्य नायक हुने, पञ्चसन्धिले युक्त र वीर आदि रसको समावेश भएको रूपकको एक भेद । ४) वास्तविक रुपमा नभएर देखाउनका निमित्त मात्र गरिने कुनै काम, देखावटी वा बनावटी कुरा ।
नौटङ्कीलाई भने शब्दकोषमा यसरी ब्याख्या गरिएको छ । जस्तैः नौटङ्कीको अर्थ मेला, पर्व र हाटबजार आदिमा जनसाधारणलाई देखाइने हल्का किसिमको मनोरञ्जन गराउने नाचगान, नाटक आदि । शब्दकोषमा उल्लेखित नाटक अनुसार नेताहरूले अहिले गरिरहेकै छन् । तर, नौटङ्कीको अर्थ अलिक भेग देखियो । नेताहरूको गतिविधि र आरोप प्रत्यारोप नौटङ्की नै होे भन्न सकिन्छ । अबको नागरिक आन्दोलनले, यसखालको नाटक र नौटङ्की फेरि फेरि भइरहने श्रृंखला बन्द गराउनु नै सबै नागरिकको कर्तव्य र दायित्व बनेको छ ।