कांग्रेस नेतृत्वमै गठबन्धनको सरकार बन्छः डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले वर्तमान गठबन्धनले नै सरकार बनाउने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा बिहीबार बिहान पत्रकार सम्मेलन आयोजना गरी नेता कोइरालाले गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहित केही दललाई मिलाएर नयाँ सरकार बन्ने जानकारी दिएका हुन् ।

‘नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनका सबै साझेदार दलहरु सँगसँगै रहेर नयाँ सरकार गठन हुन्छ,’ नेता कोइरालाले भने ‘चुनावको अन्तिम परिणाम आइसकेपछि कसरी सरकार बनाउने भन्ने विषयमा छलफल हुन्छ ।’ निर्वाचनबाट केही नयाँ पार्टीहरु अस्तित्वमा आएको भएपनि उनीहरुको वैचारिक रुझान प्रष्ट नभइसकेकोले उनीहरुलाई गठबन्धनमा आवद्ध गर्ने विषयमा केही समय पर्खनुपर्ने उनले बताए ।

‘नयाँ दलभित्र कसैले सेन्ट्रल टु राइट र केहीले सेन्ट्रल टु लेफ्ट भनेको विषय सार्वजनिक भएको छ,’ उनले भने, ‘यो विषय प्रष्ट भएपछि कसरी जाने भन्ने कुरा होला ।’ उनले सात वटा राष्ट्रिय पार्टी भएको र थप एउटा पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावनाको निकट रहेकोले अन्तिम परिणाम आएपछि सरकार गठनको विषयले मूर्तरुप लिने बताए ।

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएका कोइरालाले भावी प्रधानमन्त्रीको बारेमा भने मुख खोलेनन् । ‘प्रधानमन्त्री हुने कुरा कसैले चाहना गरेर मात्र हुँदैन, त्यसका लागि पहिले दलको नेता बन्नुपर्छ, नेता बन्नका लागि नम्बरको गेम हुन्छ,’ जसले नम्बर पु¥याउँछ उही दलको नेता हुने र प्रधानमन्त्री हुन्छ भन्ने कुरा सबैले बुझ्नु पर्छ’ उनले भने , ‘अहिलेसम्मको परिणामलाई हेर्दा नम्बर सभापतिकै पक्षमा देखिन्छ, यी सबै कुरालाई हेरेर हामी एउटा निर्णयमा पुग्छौं ।’

प्रधानमन्त्री जो बनेपनि सुशासन र भ्रष्टाचारका विरुद्धमा केन्द्रित भएर काम गर्नुपर्ने उनले बताए । ‘सुशासनबिना देशलाई अगाडि बढाउन सकिदैन । अब भ्रष्टाचारको विरुद्धमा हामी अघि बढ्नुको विकल्प छैन,’ आफ्नै पार्टीका नेताहरुले गर्ने भ्रष्टाचारका विरुद्धमा पनि अब सदनमा कुरा उठाएर सुशासनको पक्षमा हामी सशक्त भूमिका खेल्छौं’ उनले भने ।

आगामी सरकारमा सहभागिताको विषयमा पनि डा.कोइराला मौन रहेका छन् । ‘अहिलेको सन्दर्भमा मन्त्रिमण्डलमा सहभागी हुने कुरा अलि भेग भयो,’ उनले भने, ‘अब हामी काठमाडौं पुगेर पार्टी सभापतिसँग कुरा गर्छौं, सरकार कसरी बनाउने आदि विषयमा छलफल गरेर एउटा निर्णयमा पुग्छौं ।’

सम्पन्न आम निर्वाचनबाट नेपाली कांग्रेसले अपेक्षा गरेअनुसारकै परिणाम प्राप्त गरको नेता कोइरालाले बताए । ‘मैले गठबन्धन गर्दैगर्दा नै कांग्रेसले ९० सिट वरिपरि मात्र नतिजा ल्याउँछ भनेको थिएँ, प्रत्यक्षमा ५५ देखि ६० र समानुपातिकमा ३२ देखि ३५ कै अपेक्षा थियो त्यसै अनुसार परिणाम प्राप्त हुने देखिएको छ,’ उनले भने, ‘तर, नेपाली काँग्रेसका नेता कार्यकताले अझ इमान्दारिताका साथ मिहिनेत गरको भए यो भन्दा राम्रो परिणाम आउँथ्यो ।’

गठबन्धन दलभित्र सहयोग असहयोगको विषयमा आपसमा आरोपप्रत्यारोप चलिरहेको सन्दर्भमा उनले समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए । ‘कतै हाम्रा साथीहरु हार्नुभएको छ, कतै गठबन्धनका अरु साथीहरु हार्नुभएको छ । झलनाथजीले कांग्रेसलाई दोष दिनुभएको छ, कतिपय ठाउँमा हाम्रा साथीहरुले दोष लगाउनु भएको छ । यसको समीक्षा गरेर अगाडि बढ्नु पर्छ । अरु विकल्प छैन,’ उनले भने ।

बिहिबार, १५ मंसिर, २०७९, बिहानको ११:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर