कोरोना उपचारमा भेन्टिलेटर र आइसियू अभाबः जटिल अवस्था आइसकेको चिकित्सकको भनाइ

विराटनगर । कोरोना संक्रमणको दर बढेसँगै प्रदेश १ को अवस्था जटिल बन्दै गएको छ । संक्रमितको संख्या बढेपछि प्रदेश राजधानी विराटनगरमा आइसियु र भेन्टिलेटरको अभाव भएको छ भने अस्पतालहरुमा अक्सिजनसहितको शैय्यासमेत पाउन छाडेको छ ।

विराटनगरका अस्पतालहरुमा करिब १२० हाराहारीमा भेन्टिलेटर भएपनि कोभिड १९ को उपचार प्रयोजनमा भने २१ वटा भेन्टिलेटर मात्र प्रयोगमा ल्याइएको छ । कोभिडका बिरामीका लागि प्रयोग गर्न छु्ट्याइएको सबै २१ वटा भेन्टिलेटर आइतबार प्याक छन् ।

पछिल्ला दिनहरुमा आईसियू र भेन्टिलेटर खोज्दै अस्पतालको सम्पर्कमा आउने संक्रमितहरुको संख्या बढ्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । सीमित स्रोत साधनका कारण गम्भीर अवस्थाका बिरामीलाई समेत आइसियु र भेन्टिलेटर उपलव्ध गराउन नसक्ने दुःखद् अवस्था उत्पन्न भएको छ ।

‘आइसियु र भेन्टिलेटर खोजी गर्दै दिनको ५०–६० फोन आउन थालेको छ, ’ विराट कोभिड अस्पतालका डा. स्वस्तिक कोइरालाले भन्नुभयो ‘श्वास फेर्न गाह्रो भएर अस्पताल आएका, सिरियस केसहरुसमेत हामीले फर्काउनु परिरहेको छ ।’ अस्पतालमा ठाउँ नभएपछि फर्काएका कतिपय बिरामीलाई घरमै अक्सिजन दिएर राखिरहेको र शैय्या खाली हुनासाथ बोलाएर अस्पतालमा भर्ना गर्ने गरेको डा.कोइरालाले जानकारी दिनुभयो ।

आइसियू मात्र होइन, केही दिनयता स्वासप्रश्वासमा समस्या भएर अस्पताल आइपुगेका संक्रमितहरुलाई अक्सिजनमा समेत राख्न नसक्ने जटिल अवस्था आएको छ । ‘कोभिडको उपचारमा जटिलता आइसक्यो,’ डा. कोइरालाले भन्नुभयो ‘आइसियू छैन भने अक्सिजनमा भएपनि राखिदिनु पर्यो भनेर बिरामीका आफन्तले भन्नुहुन्छ । हामी त्यो पनि उपलव्ध गराउन नसक्ने अवस्थामा छौं ।’

प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोसी कोभिड १९ उपचार केन्द्रमा १० शैय्याको आइसियु छ भने ५ वटा भेन्टिलेटर सञ्चालन गरिएको छ । यस्तै विराट अस्पतालको कोभिड उपचार केन्द्रमा विराटनगरकै सबैभन्दा धेरै १८ शैय्याको आइसियू सञ्चालन गरिएको छ । नोवेल मेडिकल कलेजले सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा ९ शैय्याको आइसियु र चारवटा भेन्टिलेटर छ । न्यूरो अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ७ शैय्याको आइसियू छ । कोभिडका बिरामीको उपचारका लागि विराटनगरमा जम्मा ४४ शैय्या आइसियू सञ्चालन गरिएको छ, जुन सक्रिय संक्रमित संख्याको आधारमा न्यून भएको चिकित्सकहरुले बताएका छन् ।

विराटनगरका अस्पतालहरुमा आइसियू र भेन्टिलेटर खोजी गर्दै सुनसरीको धरान, इनरुवा, इटहरी क्षेत्रबाटसमेत धेरै फोनहरु आउने गरेको नोबेल मेडिकल कलेजका प्रवन्धक नारायण दाहालले बताउनुभएको छ । ‘केही दिनदेखि मेरो काम आइसियु र भेन्टिलेर खोज्नेहरुलाई समन्वय गर्ने मात्रै भएको छ,’ दाहालले भन्नुभयो ‘आइसियू चाहियो भन्नेहरु धेरै आउन थाले तर हामीले माग अनुसार उपलव्ध गराउन सकेका छैनौं ।’

सुनसरी इटहरीका अग्रज पत्रकार कृष्ण अधिकारीलाई स्वासप्रश्वासमा समस्या भएपछि आइतबार बिहानदेखि धरानदेखि विराटनगरसम्मका अस्पतालमा आइसियू खोजी गरिएको थियो । तर, आइसियू कतै फेला पर्न सकेन । अक्सिजनसम्म दिएर भएपनि अस्पतालमा राख्न खोज्दासमेत साँझसम्म शैय्या नपाइएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले बताउनुभएको छ । अरु धेरै बिरामीहरुले यस्तै वा यो भन्दा कठिन अवस्थाको सामना गर्नुपरेको छ ।

होम आइसोलेसनमा ५ हजार बिरामी
संक्रमण बढेसँगै गम्भीर प्रकारका बिरामीको संख्या पनि थपिदै गएको छ । तर, त्यही अनुपातमा आइसियू र भेन्टिलेटरको पूर्वतयारी नगरेका कारण उपचार नपाएर धेरैको ज्यान जाने अवस्था आउन लागेको भन्दै उपचारमा संलग्नहरुले चिन्ता व्यक्त गरेका छन् । आइतबारसम्म प्रदेश १ मा ५ हजार ३८६ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ४ हजार ८३५ जना होम आइसोलेसनमा बसिरहेका छन् । त्यो संख्या आइतबार संक्रमण पुष्टि भएका ४०९ जना बाहेकको हो ।

सरकारी अस्पताल न्यून क्षमताको भएको र निजी अस्पतालले सञ्चालनमा ल्याएका उपचार केन्द्रहरुको क्षमता भन्दा बढी संक्रमित भएपछि संक्रमित नचाहेर पनि घरमै बस्न बाध्य छन् । लक्षण देखिएका सयौं बिरामी घरमै बस्न वाध्य हुँदा होम आइसोलेसनमा बसेकै अवस्थामा पनि संक्रमितहरुको मृत्यु हुुने र उनीहरुले न्यूनतम उपचारसम्म नपाउने अवस्था प्रदेश १ मा पनि देखिन थालेको छ ।

भेन्टिलेटर थप्ने अवस्था छैन
कोभिड उपचारमा निजी अस्पतालहरुको भर परेको सरकारले आवश्यक समन्वय र सहयोग नगर्दा निजी अस्पतालहरुसँग भएका करिव १० प्रतिशत भेन्टिलेटर मात्र कोभिड उपचारमा प्रयोग गरिएको छ । विराटनगरका अस्पतालहरुसँग मात्र करिव १२० बढी भेन्टिलेटरहरु छन् । सरकारले समन्वय गर्ने हो भने करिव ५० वटा भेन्टिलेटर सजिलै कोभिडमा प्रयोग गर्न सकिने अवस्था रहेको त्यस क्षेत्रका जानकारहरुले बताएका छन् । तर, सरकारले त्यस तर्फ गम्भीरतापूर्वक पहल नगरेको उनीहरुको भनाई छ ।

न्युरो अस्पताल विराटनगरले भने प्रदेश सरकारले अनुमति दिए आइसियू र भेन्टिलेटर केही संख्यामा थप गर्न सकिने बताएको छ । न्युरोका कोभिड अस्पतालको व्यवस्थापन हेर्दै आउनुभएका अजित बस्नेतले भन्नुभयो ‘आइसियु र भेन्टिलेटर माग गर्नेको चाप बढेको छ, अहिले ७ वेड आइसियू र २ भेन्टिलेटर हामीले चलाएका छौं, प्रदेश सरकारले अनुमति दिए केही थप गर्न सकिन्छ र त्यसको प्रक्रिया बढाएका छौं ।’

अरु अस्पतालहरुले भने तत्काल भेन्टिलेटर र आइसियू शैय्या थप गर्ने अवस्था नरहेको बताएका छन् । ‘भेन्टिलेटर थप्ने भन्नासाथ स्रोतको कुरा आउँछ, जनशक्तिको कुरा आउँछ,’ डा. स्वस्तिक कोइरालाले भन्नुभयो ‘प्रयास त अस्पताल व्यवस्थापनले गरिरहेकै छ, तर त्यो त्यति सजिलै हुनसक्ने अवस्था छैन ।’

प्रदेश सरकारको अलमल
संक्रमितको संख्या दिनहुँ वृद्धि हुँदै गएको र गम्भीर प्रकारका बिरामी बढ्दै गएको बेला आवश्यक आइसियु र भेन्टिलेटर तयारी गर्ने विषयमा प्रदेश सरकारको अलमल देखिएको छ । आइसियु र भेन्टिलेटर थप्नुपर्ने बेलामा प्रदेश सरकार एक हजार बेडको आइसोलेसन बनाउने प्रस्ताव माग्दै सुस्ताएको छ । हजार वेडको आइसोलेसन बनाउने कुरा पनि अलपत्र बन्दा सरकार मौन छ ।

सामाजिक विकास मन्त्रालयले आइसियु र भेन्टिलेटरको समस्या समाधानका लागि गरिरहेको पहलका विषयमा जानकारी लिन खोज्दा मन्त्रालयका जिम्मेवार व्यक्तिहरु सम्पर्कमा आउनुभएन । मन्त्री घिमिरेका प्रमुख स्वकीय सचिब तिलक बस्नेतले पछिल्लो अवस्थाको विश्लोषण गरेर त्यसको व्यवस्थापन गर्न मन्त्रालयले कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकमा विशेष प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिनुभएको छ ।

दसैंअघि नै प्रदेशमा दैनिक १२०० सम्म नयाँ संक्रमित पहिचान हुने अनुमान गरेर मन्त्रालयले त्यसको व्यवस्थापनका लागि प्रस्ताव तयार गरिरहेको मन्त्रालयले जनाएको छ ।

सोमबार, २६ असोज, २०७७, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर