रेवती ढुङ्गाना 'रफ्तार'
जुठे साईलो झिसमिस नहुँदै पर जंगलसम्म पुगेर प्राय घाँस दाउरा लिएर आउने गर्दथ्यो। गुजारा चलाउनु पर्ने भएकोले उसले एकदुई वटा गाई, बाख्रा, पनि पालेको थियो । पिठ्युँ भर साहुको भारि बोकेर घर खर्च धान्ने गर्दथ्यो। कहिल्यै उसको खुट्टामा चप्पल हुँदैन थियो । जिउमा सुकिलो लुगाफाटो कहिले लाएर हिंडेको देखिँदैन थियो । अभाब र संघर्ष दैनिकी थियो उसको।
एक दिन झिसमिसै रुखमा चढेर घाँस काटेर झार्ने क्रममा उ अकस्मात लड्न पुग्यो । निकै अबेर सम्म घर फर्केर नआए पछि गाउँ घरमा जुठे हरायो भन्दै सनसनी हल्ला फैलियो । सबै जुटेर खोजी गर्न थाले।
केहीबेरको खोजि गरेपछि उ एउटा रुखको फेदमा तनक्क भएर ढलिरहेको र मुखबाट हलहलि रगत छादेको अबस्थामा फेला पर्यो।अबेर भेटिएकोले उसको चोला उठिसकेको रहेछ। उ निकै गरिब थियो । उसँग कति पनि रकम संचित थिएन। गाउँलेहरुले जसोतसो उसको काजकिरियासम्म चाहिँ चन्दा उठाएर गराई दिए। उसैको भरोसामा बाचेका परिबारमा नाबालक बच्चाहरुको विचल्ली हुन पुग्यो । नाबालक बच्चाहरुकी आमा पनि दमको रोगले छ महिना अघिनै बितेकी थिइन।
मनकारी छिमेकीका घरमा मागेर खाँदै तिनिहरु हुर्कन थाले। मागेर खान नपाएको दिन भोकभोकै पुर्लुक्क सुत्थे र फुसुक्क निदाउँथे। अहिले उनीहरुको घरै मुन्तिर वडाध्यक्षको डोजरले विशाल सडक खन्दैछ। उनीहरुको सबै बारिमा फराकिलो गाडी बाटो बनिरहेको छ।
भाईले दिदिलाई चिच्याई चिच्याई परै सुनिने गरि प्रश्न सोध्दै थियो । वडाध्यक्ष अङ्कल त आफ्नो डोजरमा सरकारी पैसा लगानी गरेर कति धनी हुनु भो १ हामी चाहिँ कहिले धनी हुन्छौं रु
एकहुल युवा उसको उजाड जिन्दगीको सन्नाटापूर्ण प्रश्न सहन नसकेर, डोजरले विभत्स पारेको उसको बारीको डिलबाट शिर निहुँराउँदै तलतिर लागे।