कोशी कोभिड–१९ अस्पतालमा भेन्टिलेटर र आइसियु सञ्चालन

विराटनगर । प्रदेश नं. १ मा लक्षणसहितका बिरामीहरु बढेसँगै विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको सुविधा विस्तार गरिएको छ ।

अस्पतालमा लक्षणसहितका बिरामीहरुको उचित उपचार गर्ने लक्ष्यका साथ १० वटा आईसीयु बेड, २ वटा फिक्स्ड भेन्टिलेटर र ३ वटा पोर्टेबल भेन्टिलेटरसहितको सुविधा विस्तार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सरकारले गत चैतमा सञ्चालन गरेको अस्पतालमा अक्सिजन र भेन्टिलेटरको अभाबमा  केही समय अगाडि कोरोना संक्रमण भएका विराटनगरस्थित विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको थियो । त्यस प्रकरणमा चौतर्फी आलोचना खेपेको प्रदेश सरकार विरुद्ध  मृतककी छोरीले उच्च अदालत विराटनगरमा रिटसमेत दायरगरेपछि सरकारले भेन्टिलेटर र आइसियु सञ्चालनमा आएको जानकारी दिएको हो ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मलेन गरि मन्त्रालयले कोभिड अस्पतालमा उपचाररत लक्षणसहितका गम्भीर प्रकृतिका बिरामीहरुलाई नियमित अक्सिजन प्रवाहमा थप समस्या हुन नदिन दक्ष जनशक्तिलाई तयारी अवस्थामा राखिएको जनाएको छ । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा सञ्चालनमा आएको आईसीयुमा अहिले ३ जना व्यक्तिहरुको उपचार भईरहेको पनि मन्त्रालयले जनाएको छ ।

अस्पतालमा आईसीयु र भेन्टिलेटर सञ्चालनका लागि पहिलो २ साता आवश्यक जनशक्तिको व्यवस्थापन कोशी अस्पताल र कोभिड– उपचार केन्द्रमा कार्यरत कर्मचारीहरुबाट गरिएको छ । थप जनशक्ति व्यवस्थापनका लागि आईतबारदेखि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्शलाई क्रिटिकल केयर तालिम सञ्चालनको तयारी गरिएको मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिनुभयो ।

साउनको दोश्रो सातादेखि कोरोना संक्रमणको अनुपातमा वृद्धि हुँदै गईरहेकाले बढी संक्रमण देखिएका तथा स्थानीय तहहरुमा थप आईशालेसन केन्द्र तयार गर्ने काम भईरहेको पनि मन्त्रालयले जनाएको छ । हाल प्रदेश नं. १ का ११ स्थानहरुमा करिब ९ सय बेड क्षमताको आईशोलेसन केन्द्रहरु सञ्चालनमा रहेका दावी मन्त्रालयले गरेको छ । जसमा बुधबार बेलुकीसम्मको तथ्याङक अनुसार ४ सय ९९ जना संक्रमितहरुको उपचार भईरहेको छ ।

कोरोना संक्रमणको दर बढेसँगै प्रदेश सरकारले कोरोना परिक्षणको क्षमतामा पनि वृद्धि गरेको छ । साउन ३० गतेदेखि झापाको मेची अस्पतालमा पनि ल्याब सञ्चालनमा आएपछि कोरोना परिक्षणको दर उकालो लागेको छ ।

पछिल्लो १० दिनमा प्रदेशमा १९ हजार ९ सय २६ जनाको पिसिआर परीक्षयण भएको छ । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ हजार १ सय ८९, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ६ हजार ४ सय ९१, कोशी अस्पताल विराटनगरबाट ४ हजार ९३ र मेची अस्पताल झापाबाट १ हजार १ सय ५३ जनाको पिसीआर परिक्षण गरिएको मन्त्रालयको दाबी छ ।

प्रदेश सरकारले लक्षण देखिएका गम्भीर प्रकृतिका बिरामीहरुलाई धरान रेफर गर्ने र सामान्य प्रकृतिका बिरामीहरुलाई कोभिड अस्पतालमा राख्ने गर्दै आएकोमा अब विराटनगरमै लक्षण देखिएका विरामीको उपचार हुने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । गम्भीर प्रकृतिका बिरामीहरुबाहेक अन्य सबैलाई सम्बन्धित स्थानीय तहमा व्यवस्थापन गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।

गत चैत्र २१ गतेदेखि सञ्चालनमा ल्याईएको कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा हाल २४ महिला र २८ पुरुष गरि ५२ जना उपचाररत छन् ।

बिहिबार, ०४ भदौ, २०७७, बिहानको ११:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर