तीन सय बढी संक्रमित आइसोलेसनबाहिर, वैशाखमा उद्घाटन भएको अस्पताल अझै सञ्चालन भएन

तीन सय आइसोलेसन थप गर्ने पछिल्लो निर्णय कार्यान्वयन हुने समय पनि अनिश्चित

विराटनगर । समुदायमै कोरोना भाइरसको संक्रमण फैलिएको कारण प्रदेश १ मा संक्रमितहरुको व्यवस्थापन हुन सकेको छैन । प्रदेश सरकारले समयमै आइसोलेशन बनाउन नसकेको कारण संक्रमितहरु घर, परिवार र समाजमै छन् ।

कोरोना संक्रमण देखिएकामा कुनै लक्षण नदेखिएको भएपनि अन्य व्यक्तिको सम्पर्कमा उनीहरुलाई जान नदिन छुट्टै आइसोलेट गरेर राख्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । तर, प्रदेश सरकारले दिएको तथ्यांक अनुसार बुधबार अपरान्हसम्म कोरोना संक्रमण पुष्टि भएका ८३ महिला र २३८ पुरुष गरी ३२१ जना आइसोलेशन पुग्न पाएका छैनन् ।

संक्रमितहरुको व्यवस्थापन हुन नसकेपछि प्रदेश १ सरकार मातहतको सीसीएमसीको बैठकले तत्काल ३०० शैय्याको आइसोलेशन व्यवस्थापन गर्ने तथा निजी अस्पताल र होटलमा पनि आइसोलेशन बनाउने निर्णय सोमबार गरेको छ । तर, उक्त निर्णय कहिले कार्यान्वयन हुन्छ भन्ने जवाफ मन्त्रीहरुसँग नै छैन ।

यसअघि चैत १३ गते निजी अस्पतालमा ८०० बेडको आइसोलेशन बनाउन सामाजिक विकास मन्त्रालयले दिएको निर्देशन र जेठ ९ गतेको सीसीएमसीको बैठकले ८५० बेड आइसोलेशन आफैं बनाउने भनि गरेको निर्णय पनि कागजमै सीमित रहँदा संक्रमणको जोखिम बढिरहेको छ । प्रदेशको राजधानी विराटनगरमा मात्र आइसोलेशन बेड अभाब हुँदा करिब एक सय संक्रमितको व्यवस्थापन हुन सकेको छैन ।

पछिल्लो समयमा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईको अध्यक्षमा बसेको प्रदेशस्तरीय सीसीएमसी बैठकले विराटनगरको माडवारी सेवा सदनमा ५०, रंगेली स्थित जनता क्याम्पसमा १००, सुनसरी हरिनगरा १ स्थित वि। जेनेरल अस्पतालमा ५०, बराह क्षेत्र स्थित कृष्णदास आश्रममा १०० शैय्याको आइसोलेसन स्थापना गर्ने निर्णय गरेको छ । जनता क्याम्पसमा भने रंगेली नगरपालिकाले प्रदेश सरकारको निर्णय अगाडि नै आइसोलेशन बनाएर संक्रमित राखिरहेको छ ।

प्रदेश सरकारले आइसोलेसन थप गर्ने निर्णय गरेपनि त्यसको कार्यान्वयन फितलो रहेको विगतका निर्णयहरुको कार्यान्वयन पक्ष हेर्दा स्पष्ट देखिन्छ । सरकारी काम कति फितलो छ भन्ने उदाहरण त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पताललाई हेरे पुग्छ ।

गएको वैशाख ११ गते प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरेसहितले निरीक्षण तथा उद्घाटन गर्नुभएको लेभल ३ को कोभिड–१९ अस्पताल अझै सञ्चालनमा आएको छैन । सुरुवातमा एक सय शैय्याको अस्पताल निर्माण गरी सञ्चालन आएको घोषणा गरिएको थियो । पछि प्रदेश सरकारले त्यसलाई ३०० बेडको बनाउने निर्णय गरेको थियो ।

त्यसबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नियमित पत्रकार सम्मेलनमा बीपीको कोभिड अस्पताल सञ्चालनमा आएको जानकारी दिएको थियो । तर, अस्पताल सञ्चालनमा आएको भनिएको चार महिना पुरा हुँदा पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । अहिले प्रतिष्ठानको पेइङमा निर्माण गरिएको आइसोलेशनमा कोरोना संक्रमित राख्ने गरिएको छ ।

प्रतिष्ठानमा ३०० संक्रमितलाई उपचार गर्नेगरी काम भएको प्रदेश सरकारले बताएको थियो । तर, अहिलेसम्म प्रतिष्ठानमा ९० जनाभन्दा धेरै संक्रमितले भर्ना हुन पाउने अवस्था छैन । बेडहरू सङ्क्रमितले खचाखच भरिएपछि प्रतिष्ठानले लक्षण नदेखिएका सामान्य सङ्क्रमितहरूलाई होम आइसोलेसनमा बस्न भनिरहेको छ ।

प्रतिष्ठानमा सरकारको १२ करोड ५० लाख रुपैयाँ लागतमा १३ वटा आइसियु, सिटी स्क्यान, अल्ट्रासाउण्ड, अप्रेशन थिएटर, एक्स–रे मेसिन, गाइनो, पेडियाट्रिक र प्रयोगशालासहितको कोभिड १९ अस्पताल निर्माण भएको जनाइएको थियो । तर, अझैसम्म अस्पताल सञ्चालन हुन नसक्नुमा प्रतिष्ठान नेतृत्वको अक्षमता स्पष्ट देखिएको सरोकारवालाले बताएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कोभिड अस्पताल सञ्चालनमा ध्यान नदिएको आरोप लगाउनुभयो । अस्पताल सञ्चालन हुन नसकेर संक्रमितहरु बाहिरै बस्न बाध्य भएको बेला प्रतिष्ठानको सिनेट बैठक बस्ने भन्दै उपकुलपतिसहितका पदाधिकारी काठमाडौं हिडेकोप्रति उहाँले आक्रोश व्यक्त गर्नुभएको छ ।

सिनेट सदस्यसमेत रहनुभएका राईले सिनेट बैठक स्थगित गरी कोरोना नियन्त्रणमा लाग्न अनुरोध गर्दा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रतिष्ठानका उपकुलपति गिरीलगायतका पदाधिकारीले अटेर गरेको गुनासो गर्नुभयो । प्रतिष्ठानले अटेर गरेकै कारण धरानमा १८ जना कोरोना संक्रमित घरमै रहेको बताउँदै उहाँले अब उपमहानगरपालिकाले हरियाली सामुदायिक वनको भवनमा २३ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको जानकारी दिनुभयो ।

प्रतिष्ठानले भने प्राविधिक कठिनाइका कारण कोभिड अस्पतालमा सङ्क्रमित भर्ना गर्न ढिलाइ भएको दावी गरेको छ । अस्पतालको लागि खरिद गरिएको उपकरण अझै आइनसकेकोले कोभिड अस्पताल पूर्णरूपमा सञ्चालन गर्न ढिलाइ भएको प्रतिष्ठानका रजिष्टार डा।मोहनचन्द्र रेग्मीले बताउनुभयो ।

यसैबीच चार महिना अगाडि उद्घाटन भएको कोभिड अस्पताल सञ्चालनमा नआएको भन्दै नेपाली कांग्रेस निकट नेपाल तरुण दल धरान नगर समिति र महेन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा मंगलबार तालाबन्दी गरेको थियो । ताला प्रहरीले तोडेको छ ।

प्रदेश १ मा बुधबारसम्म  १ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ११८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितहरु ६९३ जना छन् । जसमध्ये २५९ जना मात्र आइसोलेसनमा भर्ना पाएका छन् ।

बुधबार, २८ साउन, २०७७, दिउँसोको १२:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर