सबै पालिकामा २ हजार क्षमताको क्वारेन्टाइन बनाउन दलहरुको सुझाब

विराटनगर । मोरङका राजनीतिक दलहरुले लकडाउनको समयमा उत्पन्न समस्या समाधान गर्न र कोरोना संक्रमणको रोकथाम तथा उपचारमा सघाउन साझा पहल थाल्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार विराटनगरमा बसेको नेकपा, नेपाली काँग्रेस, समाजवादी, राप्रपा र राजपाका नेताहरुले लकडाउनको समयमा उत्पन्न समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेका हुन् ।

दलहरुले जिल्लाका सबै तहका कार्यकर्ताहरुलाई सर्बदलीय संयन्त्रको साझा धारणा अनुसार एक भएर लकडाउनमा उत्पन्न समस्या समाधान गर्न र संक्रमण रोकथाम तथा उपचारमा सहयोग गर्न निर्देशन दिनुभएको छ । दलहरुले किसानहरुले उत्पादन गरेको बस्तु, वेचबिखनका लागि सहज बनाउन आवश्यक व्यवस्थापनमा सहयोग गर्ने, खाद्यान्न उद्योगहरु सञ्चालन गराउन सहयोग गर्ने र तरकारीजन्य उत्पादनहरुको बिक्री सहज बनाउन सहयोग गर्नै तथा आयात रोक्न आवाज उठाउने निर्णय गरेका छन् ।

सबै पालिकाहरुमा मल, बिउ र बिषादीको व्यावस्था गराउन सहयोग गर्ने, सिमा क्षेत्रका हरेक पालिकाहरुमा २ हजार क्षमताको क्वारेन्टाइन निर्माण गराउने, पीसीआर परीक्षणको दायरा बढाउन पहल गर्ने दलहरुको निर्णय भएको नेकपाका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । साथै विदेशमा रहेका नेपालीहरुलाई प्रशासनको समन्वयमा घर फर्काउन प्रदेश र संघीय सरकारसँग आग्रह गर्ने दलहरुले बताएका छन् ।

दलहरु बाँझो जमिनमा अनिवार्य खेती गर्न लगाउने, समाजिक सदभाव बिगार्न नदिने र बिकास निर्माणका कामहरु सम्पन्न गराउन सहयोग गर्नेमा पनि एकमत भएका छन् । बैठकमा नेकपाका मोरङ अध्यक्ष ऋषिकेश पोखरेल , काँग्रेसका सभापति डिकबहादुर लिम्बु, राजपा अध्यक्ष मोहम्मद कादिर , समाजबादी पार्टीका राजकुमार यादव र राप्रपाका अध्यक्ष माधव आचार्य सहभागी थिए ।

दलहरुले ईदउल फित्रमा अंकमाल नगरि घरमै बसेर नवाज आदा गरेर मनाउन मुस्लिम समुदायलाई अनुरोध पनि गरेका छन ।

शनिबार, १० जेठ, २०७७, रातीको १०:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर