विराटनगर । सरकारले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्यासीलाई बर्खास्त गरि पर्शुराम खापुङलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
सरकारले सोमबार प्रदेश १ सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरू पनि परिवर्तन गरेको छ । मन्त्रिपरिषद् बैठकले कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव प्रदेश प्रमुख थिए । उनीहरूलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सरकारले सिफारिस गरेको हो ।
प्रदेश १ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन्। कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका तिलक परियार यसअघि प्रदेश २ को प्रमुख थिए । माओवादी केन्द्र निकट उनलाई यसअघि केपी ओली सरकारले बर्खास्त गरेको थियो ।
सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन्। नयाँ प्रदेश प्रमुखहरूलाई राष्ट्रपतिले नियुक्त गरेपछि सपथग्रहण हुनेछ । यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि सरकारले परिवर्तन गरेको थियो ।