उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको ८ वर्ष बितिसक्दा पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।
२०६८ चैत २५ गते उर्लाबारीलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएकोमा प्रभावकारी अनुगमन नहुँदा कार्यान्वयन भनभएको देखिन्छ ।
उर्लाबारी नगरपालिकाले पञ्चवर्षे पूर्ण सरसफाईका लागि रणनीतिक कार्ययोजना तयार गरेर टोल, वडा र नगरसम्मेलन गर्नुपर्ने सरोकारवालाले बताएका छन् । खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुनु मात्रै ठूलो कुरा नभएको भन्दै स्थानीयले त्यसको पूर्वाधार तयार गर्न सार्वजनिक शौचाल निर्माणसहितका काम हुन नसकेको बताए ।
उर्लाबारी चौकबाहेक नगरमा अन्य कुनै ठाँउमा सार्वजनिक शौचालय छैन । सार्वजनिक शौचालय नभएका कारण सर्वसाधारणहरुले खुल्ला रुपमा दिसापिसाव गर्दै आएका छन् । बक्राहा घाटमा नाम मात्रको अर्काे एक सार्वजनिक शौचालय छ । तर, त्यो अधिकांश समय बन्द हुने भएकोले मलामी गएकाहरुले पनि प्रयोग गर्न पाउँदैनन् ।
खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेपनि कागजमा सीमित बनेको उर्लाबारीका ब्यापारी केशब सुवेदीले बताउनुभयो । खुल्ला दिसाको कारण बक्राहा घाट आसपासको वातावरण दुर्गन्धित बनेको उर्लाबारी–७ का मानध्वज कार्कीको भनाइ छ । खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दा १० स्थानमा सार्वजनिक शौचालय बनाउने योजना अघि सारिएकोमा अहिलेसम्म कार्यान्वयन भएको छैन ।
पूर्वाञ्चलमै पहिलो पटक मोरङको उर्लाबारीबाट सञ्चालनमा आएको घुम्ती शौचालय पनि आफैं बिरामी परेको छ । घुम्ती शौचालय लामो मर्मत सम्भारमा सम्बन्धित निकायले चासो नदिँदा अहिले काम नलाग्ने अवस्थामा पुगिसकेको छ । ट्याक्टरको सहयोगले एक ठाउँबाट अर्काे ठाउँमा सहजै पु¥याउन सकिने शौचालय मर्मतमा कसैले चासो दिएको छैन ।
खुल्ला दिसामुक्त घोषणा समन्वय समितिले २०६८ सालमा सञ्चालनमा ल्याएको शौचालयमा महिला र पुरुषलाई छुट्टाछुट्टै शौच गर्ने व्यवस्था रहेको थियो । शौचालय विभिन्न ठूला सभा, सम्मेलन, महोत्सव, विवाह, गोष्ठीलगायतका लागि उपयुक्त भएपनि प्रयोगबिहीन छ ।
नेपालीमा उखान नै छ ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ । बटुवाहरु आँउछन् बाटो छेवैको घारिमा पसेर टाउको निहुर्याएर निसंकोच शौच गर्छन् । तर, त्यही बाटो क्रस गरेर जानेहरुलाई समस्या हुने गरेको छ । खुल्ला दिसामुक्त घोषणा कार्यान्वयनको चुनौति यही हो ।