शहरी क्षेत्रमा बालहिंसा धेरै

विराटनगर । ग्रामिण क्षेत्रभन्दा सहरी क्षेत्रमा बालवालिकाहरूमाथि हिंसाको घटना बढी हुने गरेको पाइएको छ । १७ स्थानीय तह रहेको मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिका क्षेत्रमा बालवालिकाहरूमाथि हिंसाको घटना भएको तथ्यांकले देखाएको छ ।

मोरङ प्रहरीको अभिलेख अनुसार जिल्लामा बालबालिकाहरूमा हुने हिंसाको घटनमा बृद्धि भएको पाइएको छ । गएको २ आर्थिक वर्ष र चालु आर्थिक वर्षको माघ महिनासम्मा मोरङमा २ सय ३३ जना बालवालिकाहरूमा हिंसाको घटना भएको प्रहरीको अभिलेखमा देखिन्छ ।

मोरङमा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा १८ प्रतिशत बालबालिकाहरूमा हिंसाको घटनामा बृद्धि आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा ६९ जना बालवालिकाहरूमा हिंसाको घटना भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५÷६६ मा ४२ जना बालवालिकाहरूमा हिंसाको घटनामा बृद्धि आएको मोरङ प्रहरीको अभिलेखमा उल्लेख छ । गत आर्थिक वर्षमा १ सय ११ जना बालवालिकाहरूमा हिंसाको घटना भएको डिएसपी राईले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०७६÷०७७ को माघ महिनासम्ममा २२.७५ प्रतिशत थप अर्थात ५३ जना बालवालिकाहरूमा हिंसाको घटना भएको छ ।

विराटनगरमा अघिल्लो आर्थिक वर्षमा ११ जना बालवालिकाहरूमा हिंसाको घटना भएकोमा आव २०७५÷७६ मा ९ जना बढी अर्थात २० वटा हिंसाको घटना भएको डिएसपी राईले बताउनुभयो । चालु आर्थिक वर्षमा पनि विराटनगरमा ९ वटा घटना भएको छ ।

विराटनगरपछि दोस्रोमा सुन्दरहरंैचा नगरपालिकामा हिंसाको घटना हुने गरिएको देखिएको छ । सुन्दरहरैंचनामा ३१ महिनामा ३३ वटा हिंसाको घटना भएको छ । अघिल्लो आर्थिक वर्षमा १२, गत आर्थिक वर्षमा १६ र चालु आर्थिक वर्षको माघसम्ममा ३ वटा हिंसाको घटना सुन्दरहरैचामा भएको प्रहरीको तथ्याङ्गमा देखिएको हो ।

जिल्लामा ८ वटा गाउँपालिका रहेकोमा सबैभन्दा बढी बालवालिकामा केराबारीमा देखिएको छ । केराबारीमा ३१ महिनामा १४ वटा बालवालिकामाथि हिंसाको घटना भएको छ । सबैभन्दा कम मिक्लाजुङ्ग गाउँपालिकामा घटना भएका छन् । मिक्लाजुङ्गमा अघिल्लो आर्थिक वर्ष र आर्थिक वर्षमा १÷१ वटा गरि २ वटा हिंसाको घटना भएको छ । यसैगरि ३१ महिनामा रङ्गेलीमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ११, लेटाङ्गमा १०, रतुवामाईमा ८, सुनवर्षीमा ७ र पथरीशनिश्चरेमा २३ वटा बालवालिकाहरूमा हिंसाको घटना भएको प्रहरीको तथ्याङ्गमा देखिन्छ ।

यसैगरि कानेपोखरी गाउँपालिकामा ८, जहदामा ९, कटहरीमा १२ र धनपालथान गाउँपालिकामा ७ वटा बालवालिकामाथि हिंसाको घटना भएको डिएसपी राईले बताउनुभयो । जवरजस्ती बल प्रयोग तथा डर र त्रास देखाएर बालबालिकाहरूमाथि हिंसाको घटना हुने गरेको डिएसपी राईले बताउनुभयो । ‘अहिले भएको घटनामा प्रलोभन, ललाईफकाई र घुमाउन लैजाने बहानमा बालवालिकाहरूमा हिंसाको घटना भएको देखिन्छ,’ उहाँले भन्नुभयो ।

प्रहरीका अनुसार नैतिक जिम्मेवारीको कमी र कानूनी दायित्व नबुझ्दा पनि बालवालिकाहरूमा हिंसाको घटना हुने गरेको छ । ग्रामिण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा जनसंख्या बढी भएको कारणले पनि हिंसाको घटना बढी देखिएको प्रहरीको भनाइ छ ।

आइतबार, ०२ चैत, २०७६, बिहानको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर