इँवाखोलाको विद्युत उत्पादन बन्द

ताप्लेजुङ । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको इँवाखोला जलविद्युत आयोजनाको उत्पादन चार दिनदेखि बन्द भएको छ । आयोजनाको विद्युत् गृहमा समस्या आएसँगै चार दिन अर्थात गएको बिहीबार रातिदेखि विद्युत् उत्पादन बन्द भएको हो ।

ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादित जलविद्युत् आयोजनाको विद्युत् गृहमा रहेको विभिन्न उपकरणमा समस्या आएका कारण उत्पादन बन्द हुन गएको हो । कुल ९.९ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट हाल उत्पादन ठप्प भएको छ । विद्युत् गृहको उपकरणहरूमा समस्या आएदेखि नै मर्मत तथा नयाँ सामग्री झिकाएर जडान तथा व्यवस्थापनको काम भइरहेको आयोजनाले जनाएको छ ।

केही दिनभित्रै मर्मत तथा उपकरणका सामग्री जडानको काम सम्पन्न हुने र विद्युत् उत्पादनले निरन्तरता पनि आयोजनाले जनाएको छ । हाल खोलामा पानीको मात्रा बढ्दै गएको र यो समय आयोजनाबाट पूर्ण क्षमताको विद्युत् उत्पादन हुने बेलामा समस्या आएर बन्द हुन पुगेको आयोजनाले जनाएको छ । आयोजना मर्मत तथा उपकरण जडानको काम सकिनासाथ उत्पादन सुरु हुने आयोजनाले जानकारी दिएको छ ।

तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवर्धनमा जलविद्युत् आयोजना निर्माण गरिएको हो। गत वर्षको वर्षात याममा आयोजनामा बाढी पहिरोले क्षति गर्दा तीन÷चार महिनासम्म उत्पादन ठप्प भएको थियो । बाढी पहिरोले क्षति गरेको संरचना करोडौ रुपियाँको लागतमा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको रिडी पावर कम्पनी लिमिटेडले जनाएको छ ।

सोमबार, ०६ जेठ, २०८२, दिउँसोको १२:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर