विराटनगर । मोरङको कानेपोखरी–५ भौंसाबारीमा सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलन्याश गरिएको छ । कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा सांसद गणेश उप्रेती (सुशील), माओवादी कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिना र सहिद लक्ष्मी फुयालकी पत्नी चुनमाया फुयालले भवनको शिलन्याश गरेका हुन् ।
कोशी प्रदेश सरकारको शहरी विकास तथा भवन निर्माण कार्यालयले चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्ये १७ लाख १२ हजार २०६ रुपैयाँको लागत स्टिमेटअनुसार भवन निर्माण सुरु भएको प्रतिष्ठानका अध्यक्ष दुर्गाबहादुर कार्कीले बताए । भवन निर्माणको ठेक्का आर्यपुत्र इन्फ्रा एण्ड कन्ट्रक्सनले लिएको हो ।
जनयुद्धको क्रममा सहिद बनेका लक्ष्मी फुयालको परिवारले प्रतिष्ठानलाई १७ धुर जग्गा दान दिएको थियो । सोही जग्गामा दुईतलाको भवन निर्माण गर्ने योजनाअनुसार काम सुरु भएको कार्कीले जानकारी दिए । भवन निर्माण सम्पन्न गर्नका लागि अझै ५० लाख रुपैयाँ आवश्यक पर्ने उनले बताए ।
भवनको शिलन्याश गर्दै पूर्वमन्त्री उप्रेतीले प्रदेश सरकारले निर्माणाधिन र अधुरा रहेका संरचनाका लागि बजेट विनियोजन गर्नुपर्ने बताए । उनले भवन निर्माण सम्पन्न गर्नका लागि आफूले पहल गर्ने बताए । यस्तै सांसद गीता तिम्सिनाले पनि आफ्नो तर्फबाट प्रतिष्ठानको भवन निर्माणलाई सहयोग गर्न बताइन् ।
अध्यक्ष कार्कीले कानेपोखरी गाउँपालिकाभित्रबाट जनयुद्धमा सहभागी भएर सहिद भएकाहरु ९ जनाको प्रतिष्ठान परिसरमा शालिक राख्ने, सहिद परिवारलाई प्रतिष्ठान मार्फत सहयोग गर्ने र समाज परिवर्तनमा सकारात्मक पहल गर्ने उद्देश्य रहेको बताए ।
कस्तो हों, सांसद् मात्र हुन् र ? गीता तिम्सिना संसदीय दलको पार्टीे सचेतक पनि हो , साथी हरुलाई सम्झाउनु पर्ने जस्ताे लाग्दैन, जे हों त्याे त लेख्नुस न
राम्रो काम