संखुवासभा । उत्तरी क्षेत्र किमाथाङ्का नाकामा सङ्खुवासभाका सुरक्षा प्रमुख र निनियाँ प्रतिनिधिबीच भेटवार्ता भएको छ । सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल र चीन सरकारका प्रतिनिधिहरूबीच शनिबार भेटवार्ता भएको हो । सीमा सुरक्षा, नाका नियमित बनाउने, सीमा क्षेत्रका संरचना निर्माणलगायत विषयमा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी र चीन सरकारका स्थानीय प्रतिनिधिबीच किमाथांकामा भेटवार्ता भएको हो ।
शनिबार हेलिकोप्टरमार्फत सङ्खुवासभाका प्रजिअ पोखरेल, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेत सहितको टोली किमाथाङ्का पुगेको थियो । भेटवार्ताका क्रममा प्रजिअ पोखरेलले नेपाल र चीन जोड्ने मितेरी पुल र सडक निर्माण गर्न चीन सरकार सकारात्मक रहेको र लगानीको वातावरण बनाइदिन आग्रह गरेको बताए । चीन सरकार नेपालको सीमा नाका, पुल, सडकजस्ता पूर्वाधारका विषयमा लगानी गर्न सकारात्मक रहेको उनको भनाइ छ ।
भेटवार्तामा सीमा नाका, पुलका साथै भन्सारको विषयमा समेत छलफल भएको प्रजिअ पोखरेलले बताउ । जिल्लाका सुरक्षा प्रमुख टोलीले किमाथाङ्कास्थित भन्सारपरिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सीमा पोस्ट, सिमाना राखिएका विभिन्न सीमा स्तम्भहरूको समेत निरीक्षण गरेको थियो । किमाथाङ्का नाका जतिसक्दो चाँडो व्यवस्थित रूपमा खोलिनुपर्ने र खुला रूपमा आयात–निर्यात हुन पाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।
कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का सहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो । २०८१ जेठ १२ गते किमाथाङ्कासहित नेपाल –चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएका थिए ।
भोटखोलाका नागरिकले परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । भोटखोला क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको अनुमान छ । भोटखेला क्षेत्रमा आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ ।
किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका थिए । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका छन् ।
उत्तरी क्षेत्रमा किमाथाङ्कामा वि.स.२०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तर द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार २०५७ साल देखि सदरमुकाम खाँदबारी रहेको छ । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाका मात्र पुग्न सकिन्छ । खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी १ सय ६२ किमि छ ।