स्वाइन फिभरबाट बराक्षेत्रमा मर्नथाले बंगुर

ओसारपसार गर्न नगरपालिकाले लगायो रोक

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ खारखोलामा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभरका कारण ३१ बढी बंगुर मरेका छन् ।

खारखोलाका किसानको र्फममा देखा परेको अफ्रिकन स्वाइन फिभरबाट थप ६० बढी बंगुर बिरामी परेका छन् । ‘आइतबारसम्म स्वाइन फिभरका कारण ३१ वटा बंगुर मरेको पाइएको छ भने अरु धेरै बंगुर संक्रमित भएको पाइएको छ,’ वराहक्षेत्र नगर पशु शाखा प्रमुख विमल अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार वराहक्षेत्र–१ खारखोलाका कुमार विकको वंगुर फर्मबाट देखा परेको स्वाइन फिभर कृष्ण भुजेल, सुभा श्रेष्ठको फर्मका बंगुरमा सङ्क्रमण देखिएको छ । अफ्रिकन स्वाइन फिभर बंगुरमा देखापरेपछि संक्रमणलाई नियन्त्रणमा लिन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी, पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको टोली संक्रमित क्षेत्रमा खटिएको वराहक्षेत्र नगर पशु शाखाले जनाएको छ ।

नगर पशु शाखा प्रमुख अधिकारीका अनुसार अफ्रिकन स्वाइन फिबर वराहक्षेत्र नगरमै पहिलोपटक देखा परेको हो । वंगुरपालक किसानमा फ्लुले ठुलो क्षति पु¥याएको छ । वराहक्षेत्र नगरपालिकाको पशु प्राविधिक सहितको टोली संक्रमित स्थलमा खटिएर चुनालगायत मल्टी भिटामिन, एन्टिबायोटिक औषधी सङ्क्रमित क्षेत्रमा वितरण गरिएको जनाइएको छ ।

सङ्क्रमण रोकथाम तथा न्युनीकरण गर्न भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी र पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको प्राविधिक सहयोगमा नगरपालिकाले रोगको परीक्षण गर्ने, फर्ममा पुगेर संक्रमण बारेमा जानकारी, अन्य फर्मका सञ्चालकलाई सचेतना, औषधी वितरण लगायतका काम गरिएको नगरपालिकाका पशु सेवा शाखाका पशु प्राविधिक अधिकारीले जानकारी दिए ।

खारखोलाका किसान कुमार बिकको फर्ममा बंगुर मर्न थालेपछि नगर पशु शाखाले नमूना संकलन गरी केन्द्रीय ल्याबमा पठाएको थियो । नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर संक्रमण भएको पुष्टि भएको थियो ।

किसानले पालेको बंगुरको नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फ्लु नै भएको पुष्टि भएपछि सङ्क्रमित क्षेत्रमा शिलबन्दी गरिएको छ । अफ्रिकन स्वाइन फ्लुबाट बंगुरलाई जोगाउन जैविक सुरक्षा अपनाउन किसानहरुलाई सचेत गरिएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । संक्रमित क्षेत्रमा बंगुरको ओसारपोसारसमेत बन्द गरिएको जनाइएको छ ।

सोमबार, ०६ जेठ, २०८२, दिउँसोको १२:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर