प्रधानमन्त्रीको सम्बोधन सुन्न सांसदलाई एमाले र काँग्रेसको ह्विप !

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशसभामा गर्ने सम्बोधनको लागि नेकपा एमाले र नेपाली काँग्रेसले आफ्ना सांसदहरुलाई ह्विप लगाएका छन् ।

नेकपा एमालेले प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सबै सांसदहरूलाई ह्विप जारी गरेको हो ।

सोमबार बसेको एमाले संसदीय दलको कार्यालय बैठकले मंगलबारको प्रदेशसभा बैठकमा सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको कोशी प्रदेशका प्रमुख सचेतक विदुर लिङ्थेपले जानकारी दिए । उनका अनुसार, कार्यकारी प्रमुखले संबोधन गर्ने भएकाले अनिवार्य उपस्थितिको निर्णय गरिएको हो ।

नेपाली काँग्रेसले पनि सबैलाई बैठकमा सहभागी हुन निर्देशन दिएको प्रमुख सचेतक गोपाल तामाङले बताए । प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठकमा सबैलाई सहभागी हुन निर्देशन गरिएको उनको भनाइ छ ।

दलहरुले सरकार निर्माण र महत्वपूर्ण मतदानको समयमा सांसदहरुलाई ह्विप लगाउने गरेका छन् । तर, प्रधानमन्त्रीको संबोधनकै लागि ह्विप जारी गरिएको घटना भने नौलो हो ।

प्रदेशसभाको बैठक मंगलबार २ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्रीले गर्ने सम्बोधनको लागि सबै तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकले काठमाडौंमा राजावादीहरूले गरेको आन्दोलनको समेत समीक्षा गरेको थियो । बैठकले पूर्वराजाले संविधान विपरित कार्य गरेको ठहर गरेको छ।

विपक्षी दलहरूले भने प्रधानमन्त्री ओलीले संबोधन गर्ने प्रदेशसभामा बैठक बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन् । सरकारले संसदमा विपक्षीले उठाएको विषय सम्बोधन नगरेको र संसदलाई पेलेर जाने प्रयास गरेको भन्दै विपक्षी दलहरुले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।

सोमबार, २६ फागुन, २०८१, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर