विराटनगर । कोशी प्रदेशका सुपारी उत्पादक किसानहरुले यस वर्षको उत्पादन प्रशोधन गर्न थालेका छन् । बोटमा सुपारी तयार हुँदै गएका कारण किसानहरुले प्रशोधनको काम थालेका हुन् । सुपारी प्रशोधनको काम सुरु गरेका किसानहरु भने उत्पादित सुपारी कसरी बेच्ने भन्ने चिन्तामा परेका छन् ।
नेपालमा उत्पादित सुपारीको मुख्य बजार भारत हो । तर, विगत २ वर्षदेखि भारततर्फ सुपारी निर्यात भइरहेको छैन । नेपाल सरकारकै निर्णयका कारण नेपाली सुपारी भारततर्फ निर्यात हुन छाडेको हो । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले नेपालमा उत्पादित सुपारीको डिएनए (आनुवांशिक) परीक्षण गरेर मात्र निर्यात गर्न निर्देशन गरेपछि २०७९ सालदेखि सुपारी निर्यात भएको छैन ।
भारततर्फ सुपारी निर्यात बन्द हुँदा २०८० सालमा उत्पादन भएको सुपारी झण्डै आधाजति बिक्री भएको छैन भने २०८१ सालमा फलेको सुपारी जस्ताको त्यस्तै छ । फेरि नयाँ सुपारी उत्पादन हुनथालेको छ । दुई वर्षको बाली बेच्न नपाएका किसानहरुलाई नयाँ फसल कसरी बेच्ने भन्ने चिन्ताले सताउन थालेको हो । ‘अघिल्लो वर्ष उत्पादन भएको सुपारी नै बिक्री नभएर निरास भएका किसानहरुलाई यस वर्षको उत्पादन कसरी बेच्ने भन्ने चिन्ता बढेको छ,’ सुपारी उत्पादक किसान संघ, नेपालका अध्यक्ष निलकण्ठ तिवारीले भने, ‘सरकारले किसानको समस्या सुनेन, हामी कराउँदा कराउँदा थाकिसक्यौं ।’
कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा सांसद रमेशकुमार बस्नेतले नेपाली किसानहरुले उत्पादन गरेको सुपारी निर्यात हुन नसकेको भन्दै तुरुन्त निर्यात खुला गर्न सरकारसँग आग्रह गरे । स्वदेशमा उत्पादित सुपारी बिक्री नभइरहेको बेलामा सरकारले विदेशबाट सुपारी आयात गर्ने निर्णय गरेका कारण यहाँका किसानहरुले उत्पादन गरेको सुपारी बिक्री नहुने जोखिम झन् बढेको उनले बताए । संसद बैठकको सून्य समयमा बोल्दै सांसद बस्नेतले भने, ‘आफ्नै मुलुकमा उत्पादन भइरहेको वस्तुलाई प्राथमिकता नदिएर विदेशबाट आयात गर्ने सरकारको निर्णयले किसानहरु निरास भएका छन् । नेपाली किसानले उत्पादन गरेको सुपारी निर्यात गर्ने प्रबन्घ सरकारले छिटो गरोस् ।’
कोशी प्रदेशको इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा व्यवसायिक सुपारी खेती हुने गरेको छ । विगतमा किसानलाई सुपारी बिक्री गर्न कुनै समस्या थिएन । व्यापारीहरु किसानको खेतमै पुगेर सुपारी खरिद गर्दथे । तर, यतिबेला किसानको खेतमा न्यून संख्यामा मात्र व्यापारीहरु पुग्ने गरेको अध्यक्ष तिवारीले जानकारी दिए । ‘साना व्यापारीहरु अलिअलि गइरहेका छन्, बजार सुनिश्चित नभएपछि किसानहरुलाई बाली टिप्न, प्रशोधन गर्न र बिक्री गर्न नै ठूलो समस्या भइरहेको छ,’ उनले भने ।
सुपारी उत्पादक किसान संघका अनुसार नेपालको ४ हजार १११ हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको छ । गतवर्षको तथ्यांक अनुसार १४ हजार ६१७ मेट्रिक टन सुपारी उत्पादन भएको थियो । सुपारी उत्पादन विगत केही वर्षयता निरन्तर बढिरहेको छ भने चार पाँच वर्षयता सुपारी रोपण पनि अधिक बढेकोले दुई वर्ष पछिदेखि उत्पादनमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । संघका अध्यक्ष तिवारीले भने ‘दुई वर्षपछि नै उत्पादन बढेर झण्डै २० हजार मेट्रिक टन पुग्छ भने पाँच वर्षभित्रमै उत्पादन दोब्बर हुने देखिन्छ ।’
नेपालले अहिले झण्डै ९ अर्ब रुपैयाँ बराबरको सुपारी निर्यात गरिरहेको र यो चियापछि निर्यात हुने दोस्रो ठूलो कृषि उत्पादन भएको तिवारीले बताए । यति ठूलो परिमाणमा निर्यात हुने उत्पादनको बिक्री ठप्प हुँदा किसानहरुम चरम निरासा पैदा भएको छ भने राज्यले पनि ठूलो नोक्सानी व्यहोर्नु परिरहेको उनको भनाइ छ ।
निर्यात खोल्न सरकारलाई दबाब आयात खोलियो
भारततर्फ निकासी गर्न रोकिएको सुपारीको निर्यात खोल्न सुपारी उत्पादक किसान संघ, नेपालले निरन्तर प्रयत्न गरिरहेको जनाएको छ । सरकारका विभिन्न निकायहरुमा दुई दर्जनभन्दा बढी पत्राचारहरु गरेर निर्यात खुला गर्न दबाब दिइएको थियो । अध्यक्ष तिवारीले भने, ‘प्रधानमन्त्रीलाई मात्र तीन वटा, सभामुखलाई कम्तिमा १० वटा र सरकारका विभिन्न निकायमा १२ वटा पत्र बुझाएर पहल ग¥यौं तर कतैबाट काम भएन उल्टै यतिबेला सरकारले आयात खुला गर्ने निर्णय लियो ।’
डिएनए परीक्षणको काम सुरु नै भएन
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले २०७९ साउन १३ गते नेपालमा उत्पादित सुपारीको डिएनए (आनुवांशिक) परीक्षण गरेर मात्र निर्यात गर्न सरकारलाई निर्देशन दिएपछि सुपारीको निर्यात रोकिएको हो । त्यसका लागि सरकारले डिएनए परीक्षण गर्ने प्रक्रियाका लागि तयारी गर्नुपर्ने थियो । तर तीन वर्ष हुनलाग्दा समेत सरकारले डिएनए परीक्षणको कुनै प्रक्रिया अगाडि बढाएको छैन ।
सरकारले निर्यात खोल्नेतर्फ कुनै निर्णय नगरी आयात खोल्ने निर्णय लिएपछि संघले असन्तुष्टि जनाएको छ । तर विरोधमा कुनै धारणा सार्वजनिक गरेको छैन । अध्यक्ष तिवारीले भने, ‘हाम्रो सबै जाँगर मरेर आएको छ, दर्जनौं पत्राचार, भेटघाट आदिबाट त कुनै उपलब्धी भएन विज्ञप्तिको विरोधलाई कसले सुन्ला र ! त्यसैले चुपचाप बसेका छौं ।’