समाजवादी क्रान्तिको केन्द्र

२०५२ साल फागुन १ गते थालनी भएको जनयुद्धका आधार क्षेत्रहरू नै पूँजीवादी जनवादी क्रान्तिका केन्द्रहरू थिए । सामान्तवादी उत्पीडन चर्को थियो । त्यसप्रकारको उत्पीडनविरुद्ध जनताको संगठित संघर्षका कारण उन्नत चेतना पैदा भयो । जनयुद्धको तयारीका क्रममा पैदा भएको उन्नत चेतनाका कारण मुख्य फौजी कारवाहीको सुरुवात रोल्पा, रूकुम, गोरखा, सिन्धुली र काभ्रेबाट भएको थियो । यो संघर्ष सहितको उन्नत चेतना देशभरि फैलियो र जनयुद्धले एकपछि अर्को किर्तिमान तयार गर्दै अगाडि बढ्यो । जनवादी क्रान्तिको मुख्य शक्ति किसान हुने हुनाले गाउँबाट शहर घेर्ने रणनीति अन्तर्गत ती जिल्लाहरु केन्द्र बन्नु स्वभाविक नै थियो । अहिले हामी समाजवादी क्रान्तिको चरणमा छौ । जहाँ पूँजीवादी उत्पीडन र शोषण चर्को हुन्छ त्यहीँ संघर्षको केन्द्र बन्दछ । उन्नत चेतना पनि त्यहीँ हुन्छ । हिजो सामान्तवाद विरुद्धको संघर्षको चेतनाको केन्द्र पश्चिम थियो भने पुँजीवादविरुद्धको चेतनाको केन्द्र पूर्व बन्नु स्वभाविक र नियम सङ्गत कुरा हो । यो संघर्ष मुख्यतः दलाल र नोकरशाही पुँजीवादका विरुद्ध केन्द्रित हुन्छ । समाजवादी क्रान्तिको मुख्य शक्ति मजदुर हुने हुनाले समाजवादी क्रान्तिको केन्द्र पुँजीवादको विकास भएको स्थान मुख्यतः शहरी क्षेत्र हुन्छ र हिजोका आधार क्षेत्रहरू समाजवादी उत्पादनका भ्रुण विकास गर्ने स्थानमा बदलिन्छन् । यसर्थ २०२८ सालको झापा विद्रोहको चेतना, २००७ सालको मजदुर आन्दोलनको पृष्ठभूमि र पूर्वी पहाडमा लामो समयदेखि पुँजीवादी उत्पादन प्रणाली अभ्यास भइरहेको सन्दर्भमा आउँदा समग्र पूर्वी नेपाल समाजवादी आन्दोलनको आधार क्षेत्र वा केन्द्र बन्दछ । यस प्रयोजनका लागि झापा, मोरङ, सुनसरी र इलाम महत्वपूर्ण जिल्ला हुन् । हिजोको रोल्पाको स्थान झापाले लिने सम्भावनालाई नकार्न सकिन्न ।

हाम्रो पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पनि उपत्यका, मधेश र पूर्वलाई समाजवादी आन्दोलनको आधारभूमि मानेको छ । ढिलै भने पनि पार्टीको ध्यान यसतर्फ जानु सुखद कुरा हो । संविधानसभा निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को आयोजनामा २०६४ चैत २२ गते झापाको विर्तामोडमा भएको आमसभा ऐतिहासिक र दुरगामी महत्वको थियो । पूरै विर्तामोड बजार नै सभास्थल जस्तै बन्यो । जनताको त्यो महासागरले समाजवादी क्रान्तिको केन्द्र झापा बन्दैछ भन्ने संकेत गरेको थियो । एउटा क्षेत्रमा उमेदवार तय गर्ने सवालमा उपयुक्त छनौट नहुँदा झापा क्लिनस्वीप हुन सकेन । माओवादीले झापामा ७ सिटमध्ये ५ वटामा मात्र सफलता प्राप्त ग¥यो । तर, ०७४ र ०७९ को स्थानीय निर्वाचनमा झापामा एउटा पालिकामा पनि जित्न सकेन । किन यस्तो हुन गयो ? त्यसबेला राजा नागार्जुन गइसकेका थिए । पुँजीवादी जनवादी क्रान्ति मूलतः सफल भइसकेको थियो । प्रधान कामलाई सहायक बनाइराख्दा परिणाम सुखद रहेन । हामीले परिस्थिति बदलिएपछि नीतिगत बदलाव गर्न नसक्दा नेपाली जनता र राष्ट्रले निकै हन्डर खानु पर्यो । हामीले प्राथमिकता दिएनौं र अहिले हामी पछिप¥यौं । समाजवाद उन्मुख संविधान बनेपछि हामीले उपत्यका, मधेस र पूर्व र शहरी क्षेत्र हाम्रो प्राथमिकता परेन । जनयुद्धका आधार क्षेत्र नै हाम्रो रोजाइमा पर्न गयो । परिणामस्वरूप पार्टी ३२ सिटमा खुम्चन पुग्यो । माओवादी केन्द्रले गरेको यो कमजोरी निकै महँगो पर्न गयो । यही एउटा कमजोरीका कारणले हुन गएको क्षतिले समग्र आन्दोलनमानै असर ग¥यो । ढिलै भएपनि नेतृत्वले यो कुरा बुझेर पहल लिएपछि रफ्तारमा परिणाम आउन थालेको छ । पूर्वमा चौथो स्थानमा रहेको माओवादी पार्टी स्थानीय उपनिर्वाचनमा सिट र मत दुवै हिसाबले पहिलो पार्टी बनेको छ । मुख्य नेतृत्वले कुरा बुझेर पहल र सक्रियता बढाएपछि पार्टी मात्र होइन देशमा कायापलट हुन्छ भन्ने कुरा यो परिणामले पुष्टि गरेको छ ।

२०८१ जेठमा अध्यक्ष प्रचण्डको उपस्थितिमा पूर्वमा कार्यरत केन्द्रीय समितिका सदस्यहरु, प्रदेश पदाधिकारी र जिल्ला संयोजक सहितको बैठकले गरेको निर्णय अनुरूप पूर्वेली संगठन सुदृढीकरण अभियान १ नं. प्रदेशमा जनस्तरसम्म पुगेपछि नेता कार्यकर्तामा स्वाभिमान जाग्नुका साथै सिङ्गो पार्टीको सक्रियतामा अभियानको उल्लेख भूमिका रह्यो । समाजवादी क्रान्तिको केन्द्र अब पूर्व बन्दैछ भन्ने कुरा अध्यक्ष प्रचण्डको सांकेतिक अभिव्यक्तिले १ नं प्रदेशमा ठूलो सकारात्मक हस्तक्षेप भयो । त्यसपछि अध्यक्ष प्रचण्डको सबै क्रियाकलाप पूर्व केन्द्रित हुन थाल्यो । अध्यक्षले पनि प्राथमिकता बदल्नुभयो । अध्यक्ष प्रचण्डको मोरङको ग्रामथानको नेताचोकको पार्टी प्रवेश कार्यक्रम, सुनसरीको इटहरीमा वाइसीएलको कार्यक्रम, विर्तामोडको पार्टी प्रवेश कार्यक्रम, प्रदेश कमिटीको बैठक तथा प्रशिक्षण र मोरङको ग्रामथानको विजय तथा धन्यवाद सभालगायतका कार्यक्रमले २०६४ को निर्वाचनको झझल्को सांकेतिक रुपमा देखिन गयो । यसै पृष्ठभूमिमा गत माघमा सम्पन्न केन्द्रीय समितिको ऐतिहासिक बैठकले पूर्व पार्टी कामको केन्द्र बन्ने स्पष्ट निर्णय लियो । त्यसपछि झापाको गौरिगंजको गाउँपालिका सम्मेलन र खबरदारी सभा, दमक नगरपालिकाको सम्मेलन र खबरदारी सभा र प्रदेश परिषद्को विस्तारित बैठक तथा प्रशिक्षण जस्ता अनगिन्ती कार्यक्रमले केन्द्रीय समितिको निर्णयको सकारात्मक असर देखियो । माओवादीले सुरू गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियानको अभूतपूर्व सफलतासँगै हजारौंको पार्टी प्रवशले २०८४ को निर्वाचनमा पूर्वमा माओवादीले विजयको इतिहास दोहो¥याउने सुनिश्चित जस्तै छ । मध्य पहाडी राजमार्ग र हिमाली भेग केन्द्रित अभियानसम्म आइपुग्दा पूर्वले नयाँनयाँ किर्तिमान बनाउँदै अगाडि बढ्ने निश्चित छ । आठौं महाधिवेशनको समाजवादी कार्यदिसाको जगमा गत केन्द्रीय समितिको बैठकमा पारित लेफ्ट लाइनमा दृढताका अगाडि बढ्दै जाँदा समाजवादी क्रान्तिको नेतृत्व लिन पूर्वले कुनै कसर बाँकी राख्ने छैन ।

बुधबार, २१ फागुन, २०८१, बिहानको १०:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर