ग्रामथान अध्यक्षसहित जनप्रतिनिधिले गाडी नचढ्ने

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधन खोसेका छन् । खोला ठेक्का नलागेको भन्दै माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरुले प्रयोग गर्ने सवारीको चाबी खोसेका हुन् ।

लोहन्द्र खोलाबाट आउने राजस्वको ज्ञारेन्टी नभएसम्म गाडी आफूपनि सरकारी गाडी नचढ्ने उनले बताए । लोहन्द्रा खोलाबाट पालिकाले १ करोड ३५ लाख आम्दानी हुने अनुमान गरेको थियो । तर ठकेदार सम्पर्कमा नआएपछि पुन ठेक्का आह्वान गर्ने निर्णय भएको थियो । सो निर्णय अदालतको आदेशपछि रोकिएको छ ।

गत माघ ३० गते कार्यपालिका बैठकले लोहन्द्रा खोला ठेक्का पाएर पनि सम्झौताका लागि नआएका ठेकेदारको धरौटी जफत गरी कालोसूचीमा राख्न सिफारिस गर्ने र नयाँ ठेक्का आह्वान गर्ने निर्णय गरेको थियो । तर कार्यपालिका सदस्यलाई तीन दिनअगाडि नै बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीसहित वडाध्यक्षले उच्च अदालतमा रिट दायर गरेका थिए । उच्चले पालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

आज पनि ग्रामथानको कार्यपालिका बैठक बसेको थियो । कार्यपालिका बैठकमा राखिएका ६ मध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताइन् । उनका अनुसार बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति जनाएपछि बैठक स्थगित गर्दै अध्यक्षले कार्यकर्ता खटाएर चाबी खोसेका थिए ।

अध्यक्ष माझीले भने आफ्नो बाध्यता रहेको बताए । ‘उपाध्यक्ष र वडा अध्यक्षले प्रयोग गर्ने गाडी र बाइक चिट्ठी दिएर फिर्ता ल्याए, यो मेरो पूर्वाग्रह होइन,’ उनले भने, ‘यो बाध्यता हो, म पनि स्करपिओ चढ्दिन् ।’ गत मंसिर १६ को उपनिर्वाचनमा माझी नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षमा बिजयी भएका थिए ।

मङ्गलबार, २० फागुन, २०८१, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर