इटहरी । नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटर इटहरीले आयोजना गरेको कोशी प्रदेशस्तरीय खुला १० किलोमिटर दौडको उपाधि सरोज लिम्बूले जितेका छन् ।२६२औं सेना दिवसको अवसरमा आयोजित दौडमा निर्धारित दूरी ३१ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै लिम्बू च्याम्पियन बनेका हुन् ।
लिम्बूभन्दा १ सेकेन्ड ढिलागरी निर्धारित दूरी पार गरेका ओशन राई दोस्रो भए । ३२ मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै यमराज खत्री तेस्रो भए । महिलातर्फ लुत्रीमाया विश्वकर्मा प्रथम भइन् । उनले निर्धारित दूरी ४० मिनेट ४० सेकेन्डमा पूरा गरिन् भने सावित्रा लिम्बूले ४१ मिनेट १४ सेकेन्ड र सुधा तामाङ ४१ मिनेट ३६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो र तेस्रो भए । प्रथम हुनेले नगद ३० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाएका छन् ।
यसैगरि, ३ दशमलव २ किलोमिटर छात्र समूहतर्फ विनोद राई ११ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बने । सुवोध ढकालले १२ मिनेट ८ सेकेन्ड र पर्वत पराजुलीले १२ मिनेट ९ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र तेस्रो भए । छात्रातर्फ रेश्मा दर्जीले ११ मिनेट १ सेकेन्डमा निर्धारित २ दशमलव ५ किलोमिटर दूरी पूरा गर्दै प्रथम भइन् । वर्षा राईले ११ मिनेट ५१ सेकेन्ड र कुश्मा भुजेलले १२ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम र दोस्रो भए ।
एक किलोमिटर हृवीलचियरतर्फ विष्णुकान्त चौधरी प्रथम, निराजन विक दोस्रो र नवीराज राई तेस्रो भए । विजेता धावक धाविकाहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापति पवन घिमिरे लगायतले पुरस्कार प्रदान गरेका थिए ।