प्रधानमन्त्रीको स्पष्ट अडानः भारतले भूमि फिर्ता गर्नैपर्छ

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको भन्दै फिर्ता लिएरै छोड्ने बताउनुभएको छ ।

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मंगलबार प्रधानमन्त्री ओलीले भारतले नेपाली भुमिमा सेना राखेर जबरजस्ती नेपाली भूमि विवादित बनाएको बताउनुभयो ।

सरकारले प्रचार गर्नको लागि मात्र नयाँ नक्सा नबनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न नदिने बताउनुभयो । भारतलाई तत्काल नेपाली भुमि फिर्ता गरेर असल मित्रतालाई कायम राख्न आग्रह गर्दै उहाँले नेपाली भूमि अकुपाइ गरेर अर्घेल्याइँ नगर्न चेतावनी दिनुभयो ।

कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने बताउादै प्रधानमन्त्री ओलीले सरकारले निर्णय गरेको नक्सा भोलिसम्ममा सार्वजनिक गरिने जानकारी दिनुसभयो । संविधानमा प्रतिक चिह्न संशोधनका लागि पनि प्रस्तुत गरिने उहाँको भनाइ छ ।

नेपालको स्वाभिमानमा आँच आउने अभिव्यक्ति नदिन छिमेकी राष्ट्रहरूलाई आग्रह गर्दै ओलीले नेपालको स्वाभिमानमाथि कमजोर र निम्छरा वचनहरू नबोल्न आग्रह गर्नुभयो । उहाँले भारतसामू लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न भनेर प्रश्न गर्दै तर, जे लक्षण देखिएको छ, त्यसले सजिलो छैन भन्ने देखाएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भारतलाई प्रश्न गर्दै ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’ भन्नुभयो । नेपालले सत्यमेव जयते विश्वास गर्ने उल्लेख गर्दै उहाँले त्यसकारण आफ्नो भूमि फिर्ता गर्नसक्ने बताउनुभयो ।

भारतको मिचाहा प्रवृत्तितर्फ इंगित गर्दै प्रधानमन्त्रीले भारतीय प्रतीक चिन्हको प्रसंग उल्लेख गर्नुभयो । ‘सत्यको जित हुन्छ कि सिंहको जित हुन्छ’ भन्ने कुराको जवाफ पनि भारतसँग सोध्ने उहाँको भनाइ थियोे । ‘अशोकाले स्थापना गरेको चारतिर फर्केको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सत्यमेव जयते भारतको प्रतीक चिन्हमा लेखेको छ तर म विश्वास गर्छु । हामी सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्छौ । म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंहमेव जयते ?’

मङ्गलबार, ०६ जेठ, २०७७, दिउँसोको ०२:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर