कोशी प्रदेशसभामा ‘राजा’ शब्द निषेध : रेकर्डबाट हटाउन सभामुखको निर्देशन

विराटनगर । कोशी प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सविना बजगाईंले प्रयोग भएको ‘राजा’ शब्दलाई रेकर्डबाट हटाइएको छ ।

प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईँले देशमा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र डलर खाएर डलरे नेताहरुले राजाको विरोध गरेको बताएकी थिइन् ।

बजगाईंले ‘डलर खाएको’ भन्दै बोलेको विषयमा एमाले प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले नियमापत्ती जनाउँदै सो शब्द रेकर्डबाट हटाउन माग गरेका थिए भने माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले ‘राजा’ शब्द हटाउन माग गरेका थिए ।
‘राजाले प्रजातन्त्र दिवसको अवसरमा जनतालाई शुभकामना दिएको विषयलाई लिएर गणतन्त्रका मसिहा ठान्ने केही नेताहरुले राजालाई थुन्ने अभिव्यक्ति सञ्चार माध्याममा आएको देखिएको छ । यस कुराको म घोर निन्दा र भत्र्सना गर्दछु’ बजगार्इंले भनेकी थिइन्, ‘यी सबै अभिव्यक्ति विदेशबाट आउने डलरको भरमा आएका हुन् ।’

बजगाईंको अभिव्यक्तिप्रति एमालेका प्रमुख सचेतक लिङ्थेपले नियमापत्ती जनाए । उनले भने, ‘डलर खाएको भनेर अप्रमाणित कुरा बोल्नु भएको छ । कि प्रमाण पुर्याउन अनुरोध गर्दछु । नभए त्यो शब्द हटाउन माग गर्दछु ।’

डलर खाएको पुष्टि गर्न सभामुखले बजगाईलाई फेरि समय दिए । त्यसक्रममा बजगारईले फेरि भनिन्, ‘संघीयता, धर्मनिरपेक्ष र गणतन्त्र लाद्नका लागि विदेशबाट विभिन्न माध्यामबाट डलर भित्रिएको कुरा अहिले अमेरिकाका राष्ट्रपतिबाट पनि सार्वजनिक भएको छ । सदनमार्फत पनि यो कुरा आइरहेको अवस्थामा यो कुरा तथ्यमा टेकेरै हामीले डलरवादी भनेका हौं । यो गणतन्त्र यहि सदनबाट खारेजको माग गर्न चाहन्छु ।’

समय नदिँदै फेरि लिङ्थेपले ‘सभामुखले नै दोहोरी गराउने कोसिस गरेको भन्दै यहि व्यवस्थामा बसेर सदनभित्र नै व्यवस्था खारेजीको माग गर्न पाइने कि नपाइने भन्ने प्रश्न गरे । ‘संविधानमा भएको व्यवस्थाभित्र बसेर यो नै खारेज गर्नुपर्छ भन्ने घोर आपत्ती जनक छ, यो भन्न पाइँदैन’ उनले थपे, ‘राजाले बोल्नु भो । राजाले बोल्ने कुरामा केही नेताले आपत्ती गर्नुभयो । आपत्ती गर्ने कुरा लोकतन्त्रले दिएको अधिकारकै विषय हो । हामीले लडेर ल्याएकै अधिकारको विषय हो, सभामुख महोदय ! डलर खाने, डलरेहरू भनेर भन्न पाइन्छ कि पाइँदैन ? यो रेकर्डबाट हटाउनु पर्छ ।’

बजगाईं र लिङ्थेपले पटक–पटक ‘राजा’ शब्द प्रयोग गरेकोप्रति माओवादी सांसद शेर्पाले नियमापत्ती गरे । ‘नेपालको संविधानले र प्रदेशसभा नियमावलीले राजा चिन्दैन । अहिलेको संविधानमा वा नेपालमा कोही राजा छैन’ उनले भने, ‘त्यसकारण यो राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् ।’

केहीबेरको दोहोरीपछि सभामुख अम्बरबहादुर विष्टले ‘राजा’ र ‘डलर खाएको’ विषय रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । सभामुख विष्ट राप्रपाबाट निर्वाचित सांसद हुन् । उनले राजा शब्दलाई हटाउन निर्देशन दिएपछि राप्रपाका सांसदबाहेक प्रदेशसभाका सबै सांसदले टेबल ठोकेर समर्थन जनाएका थिए ।

त्यसपछि विशेष समयमा बोलेका राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले राजा नेपाली जनताको मनमनमा भएको भन्दै संविधानले चिनेको जिकिर गरेका थिए ।

आइतबार, ११ फागुन, २०८१, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर