विराटनगर । सँगै मर्ने र सँगै बाँच्ने कसम खाएर प्रेमविवाह गरेकी श्रीमतिबाटै ज्यान गुमाउनुपर्ला भनेर कसले सोचेको हुन्छ र ? यस्तै नसोचेको घटनामा ज्यान गुमाए, विराटनगरमा औषधी व्यवसाय संचालन गर्ने ३३ वर्षीय देवीप्रसाद दुलालले ।
श्रीमानसँग सम्बन्ध राम्रो नभएको र मनमुटाव तथा झझगडा हुँदै आएकोले श्रीमति मीना श्रेष्ठ दुलालको योजनामा देवीको हत्या भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । १० वर्ष अगाडि प्रेम विवाह गरेका दुलालले श्रीमतिकै योजनामा ज्यान गुमाएका हुन् ।
प्रहरीले दुलालकी श्रीमति मीना श्रेष्ठ, सिराहा लहान नगरपालिका १० घर भई हाल विराटनगरमा बस्ने २१ वर्षिय ब्रहमदेव साह र इटहरी उपमहानगरपालिका १२ का २० वर्षिय सोनु साहलाई पक्राउ गरेको हो ।
इटहरी–१२ खनार घर भई विराटनगर १० मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्ने दुलालको आइतबार बिहान शंकास्पद मृत्यु भएको थियो । ओछ्यामा बेहोस भेटिएको भन्दै उनकी श्रीमति मीना श्रेष्ठ दुलालसहितले विराटनगरस्थित गोल्डेन अस्पतालमा लगेकोमा उनको मृत्यु भइसकेको थियो ।
मृतकको शरिरमा चोट देखिएको र श्रीमति मीनाको भनाई बाझिएको देखिएपछि अनुसन्धान गर्दा उनकै योजनामा हत्या भएको खुलेको मोरङ प्रहरीले जनाएको छ । श्रीमती मीना र ब्रह्मदेवको मुख्य योजनामा सोनुको पनि संलग्नमा दुलालको हत्या भएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो । प्रहरीले मीना र ब्रम्हदेवलाई आइतबार पक्राउ गरेको थियो भने सानुलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
देवीप्रसादको श्रीमतिसँग सम्बन्ध राम्रो नभएको र झैझगडा हुँदै आएकोले मीनाको योजना अनुसार हत्या भएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताउनुभयो । हत्यामा संलग्न ब्रम्मदेव चार वर्षदेखी दुलालको औषधि पसलमा काम गरेका थिए । श्रीमतिसँगको हिमचिमबारे जानकारी पाएपछि दुलालले ७ महिना अगाडि साहलाई कामबाट निकालिदिएको खुलेको छ ।
यसरी भएको दुलालको हत्या
श्रीमानसँग सम्बन्ध राम्रो नभएपछि मीनाले ब्रम्हदेवसँग मिलेर उनलाई पन्छाउने योजना बनाएका थिए । कामबाट निकालिएपछि पनि मीना र ब्रम्हदेवको इमोमार्फत नियमित कुराकानी भइरहेको थियो । देवीप्रसादको हत्या गरेपछि सबै टेनसन सकिने निश्कर्षमा पुगेका उनीहरु उचित अवसरको पर्खाइमा थिए ।
श्रीमानले शनिबार कोठामा साथीहरु बोलाएर ककटेल पार्टी गर्ने जानकारी पाएपछि मीनाले सोही दिन काम तमाम गर्ने योजना बनाइन् । ब्रम्हदेवलाई पार्टीमा मदिरा सेवन गरेपछि हत्या गर्न सजिलो हुने भन्दै तयारी गर्न मीनाले भनेपछि उनले सोनुलाई सहयोगीको रुपमा लिएका थिए । हत्याको पूर्वयोजनासहित मीनाले बोलाएपछि ब्रम्हदेव र सोनु डोरी, सर्जिकल ग्लोब्ससहित पुगेका थिए । हत्याका क्रममा फिङ्गर प्रिन्ट देखिने डरले उनीहरूले ग्लोब्स लगाएका थिए ।
देवीप्रसाद साथीहरुसँग बसेर ९ बजेसम्म मदिरा सेवन गरे । साथीहरु घर गएपछि उनी सुते । मीनाले देवीप्रसाद सुत्नु अगाडि नै ढोका खोलेर ब्रम्हदेव र सोनुलाई सिंढीमा लुकाएकी थिइन् । ११ बजे देवीप्रसाद सुतेपछि उनीहरुले प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरे । घाँटी कसिएपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको बायाँ आँखामा चोट लागेको थियो ।
मदिराको नसामा सुतेका दुलालको घाँटीमा ब्रम्हदेवले डोरीले सेका थिए भने सोनुले उनको खुट्टा समाते । घाँटीमा कसेको थाहा पाएपछि दुलालले प्रतिकार गर्दा डोरी नै चुँडिएको थियो । त्यसपछि मीनाले पनि घाँटी थिच्न सघाइन् । दुलालको प्राणपखेरु उडेपछि पनि उनीहरुले घाँटी थिचिरहे भने पेट र शरीरका अन्य भागमा लात्ती र मुक्का हाने ।
दुलालको नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव भेटिएको थियो । उनी सुतेको ओछ्यानमा पनि रगत लतपतिएको थियो भने घाँटीमा डोरीले कसेको डाम थियो ।
हत्यापछि केही समय आराम गरेर ३ बजेतिर मिनाले श्रीमान बेहोस भएको भन्दै छिमेकी गुहारेकी थिइन् । त्यसपछि उनलाई अस्पताल लगिएको अस्पतालले अगाडि नै मृत्यु भएको घोषणा गरेको थियो ।
मीनाले हत्यापछि दुलालको घाँटीको डाम हटाउन पोण्ड्स पाउडर दलेकी थिइन् । हत्यापछि तीन जना २ बजेसम्मसँगै बसे । २ बजेपछि सोनु र ब्रम्हदेव निस्किएपछि मीनाले छिमेकी र देवीप्रसादका साथीलाई फोन गरी श्रीमान बेहोस् भएको भन्दै बोलाएर एम्बुलेन्समा हाली गोल्डेन अस्पताल लगेका थिए । प्रहरी नियन्त्रणमा रहेकी मीनाले सुरुमा श्रीमानलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुनसक्ने भन्दै ढाँट्ने प्रयास गरेको प्रहरी अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।
ब्रम्हदेवले सोनुलाई मोटसाइकलमा राखेर राति २ बजे इटहरीको खनारस्थित घर पु¥याएका थिए । त्यसपिछि कोठामा आएर नुहाएपछि विहान सबेरै विराटनगर ४ बरगाछीस्थित काम गर्ने फार्मेशीमा पुगेका थिए ।
हत्याको योजना शुक्रबार बन्यो
प्रहरीका अनुसार मीनाले शुक्रबार ब्रम्हदेवसँग सल्लाह गरेर हत्याको योजना बनाएकी थिइन् । हत्यापछि बिरामी भएको देखाउन अस्पताल लगेर घटनालाई स्वभाविक मृत्यु भन्ने बनाउने प्रयास उनीहरुले गरेका थिए ।
प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीमा फेला पारेको छ । प्रहरील उनीहरुको साथबाट ४ थान मोवाइल, प्रयोग भएको ८ थान सिमकार्ड, पाउडर १ थान, कपडाको ब्याण्डेज १ थान, नाइलनको डोरी २ थान, सर्जिकल पन्जा ८ जोर, घटनास्थलबाट उठाएको रगत लागेको बेडकभर १ थान, सिरानीको खोल, ब्लयाङ्केटको टुक्रा थान १ र चुडिएको सिक्री पनि बरामद गरेको छ ।
हत्यामा संलग्न तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनापछि १ नं. प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले टोलीले संयुक्त रूपमा अनुसन्धान गरि २४ घण्टाभित्रमा अपराधी सार्वजानिक गरेको हो ।