रामचन्द्र अधिकारी
कोरोनाले जतिबेला मानव जगतमा प्रवेश पाएको थियो र महामारीको रुपमा स्थापित हुँदै गरेको खबर सन् २०२० को सुरुवातसँगै सुनियो, हामीलाई खास मतलव लागेन । किनकि हामी यस्ता हल्लाखल्ला सुन्दा–सुन्दा नपत्याउने भएका थियौँ । कहिले ग्रह ठोेक्किने त कहिले भूकम्प जाने, कहिले कुन मितिमा मरिने भन्ने हल्ला वर्षेनी चल्थे । रोगकै कुरा गर्दा पनि कहिले सार्स त कहिले प्लेग, कहिले एन्थ्रास त कहिले वर्ड तथा स्वाइनफ्लू आदिको चर्चा चलिरहन्थ्यो । फ्लूबाहेकका अन्य रोगले नेपालीलाई खास छोएन । अनि हो कि होइन, हुन्थ्यो कि हुन्न भन्ने जस्तोमा नै हल्ला सकिन्थ्यो । यस्तैमा अभ्यस्त भएका हामीहरु कोरोनाको प्रकोपको सुरुवाती चरणदेखि चलिआएका केही कुरामा विश्वास पनि गरियो र यो भाइरस नेपाल नआउने कुरामा विश्वस्त भइयो ।
नेपालमा टर्ला–टर्ला भन्दै गर्दा भकाभक देखिन थाल्यो । आज यसैसँग संघर्ष गर्नुपरेको छ । हारजितको युद्ध जारी छ र अब कहिलेसम्म युद्ध चल्ने हो, कसैले भन्न सकेको छैन । सुरुका दिनमा हामीले सुन्यौ– यो भाइरसमध्येको सबैभन्दा खतरा हो, गर्मीमा यो टिक्दैन, नेपालीको प्रतिरोधी क्षमता असल भएकोले हामीलाई असर गर्र्दैन, दीर्घरोगी, बुढापाकालाई मात्र लाग्ने हो, यस्तै–यस्तै । तर, सुनेका यी सबै कुराको वैज्ञानिक रुपमा पुष्टि भएन, आजसम्म आइपुग्दा । नेपालीले नियमित खोपको रुपमा पाँचभन्दा धेरैवटा खोप करिब १० भन्दा धेरै रोगका विरुद्ध लगाएको हुनाले कोरोनाले आक्रमण गर्दैन, एक पटक लागेपछि पुनः दोहोरिँदैन, शंका लाग्यो भने १४ दिनभित्रमा रोगका लक्षणहरु देखिन्छन्, आरडीटी पोजिटिभ भयो भने पक्का भयो, जीउमा भाइरस छ, यस्ता कुराहरु पनि हामीले सुनेकै हौँ । अझै के–के सुन्नुपर्छ, सुन्दै जाऔँ ।
कोरोना भाइरस र यसबाट लाग्ने कोभिड १९ रोगका बारेमा वास्तवमा विश्वविज्ञ जनशक्ति नै अन्यौलमा परेको छ । यो नयाँ भाइरस भएको कारणले यसको आनीबानी आँतभेउ खास कसैले पाउन सकेको छैन । यसको नजिकको भाइरस सार्स र मेर्सका हाउभाउका आधारमा भाइरोलोजिष्टहरुले यसको बारेमा पनि केही बोले । तर, सो प्रमाणित नभएको अवस्था छ । त्यसैले यसका अरु कुरा के कस्ता हुने हुन् भन्ने तथ्य पुष्टि गर्न गाह्रो छ । त्यति मात्र कहाँ हो र ! नेपालमा त पीसीआर परीक्षणमा पोजिटिभ देखिएका मानिसमा लक्षण नै देखिएनन् । जसको मृत्यु भयो, उनीहरुमा मात्र लक्षण देखिए । लक्षण पनि जस्तो पढे जानेको उस्तो नभएजस्तो । जो मृतक युवकमा लक्षण देखिए, त्यस्ता आक्रामक लक्षण नआउनुपर्ने भन्ने सम्बन्धित विज्ञहरुले भन्ने गरेका छन् ।
अब हालसम्म पुष्टि भएका तथ्यहरुबारे कुरा गरौँ । भाइरस सजीव वा निर्जीव के हो भन्ने बारेमा हालसम्म विवाद छ । किनकि यसले दुबै लक्षण देखाउँछ । सानो कणको रुपमा हजारौँ वर्ष प्रकृतिमा यतिकै ढुंगामाटो जस्तो भएर बसिरहन पनि सक्छ । रसियामा केही वर्षअघि ३० हजार वर्ष पहिलाको भाइरस हिउँबाट पत्ता लगाइयो, जस्ताको तस्तै । भाइरस सन् १८८६ मा रसायनशास्त्रीले पत्ता लगाएका हुन् । हालसम्म ४ हजार ८ सय प्रकारका भाइरस अस्तित्वमा छन् । यो ह्युमन कोरोना भाइरस चाहिँ सन् १९६० मा मात्र पत्ता लागेको हो । यसका जम्मा ७ वटा प्रकार छन् । तीमध्ये चार वटाको असर मानिसमा खास छैन । मर्स, सार्स(कोभ १) र सार्स (कोभ२, हालको कोरोना भनिने) मात्र खतरनाक रोग फैलाउने हुन् ।
कुनै पनि भाइरल रोगको औषधी छैन किनभने यो कहिल्यै पनि एउटै अवस्थामा रहँदैन र जीवन चक्र सँगसँगै उत्परिवर्तन भइजान्छ । भाइरल रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता विकास भएपछि जीउमा यो प्रवेश गरेपनि खास असर नगरी सकिन्छ । अहिले नेपालीहरु जो संक्रमित भनिएका छन्, उनीहरुका जीउमा भाइरस छ । तर, प्रतिरोधी क्षमता बलियो भएकाले लक्षण नदेखिएको पनि हुनसक्ने अनुमान गरिन्छ । यसमा अर्को पनि कारण हुनसक्छ कि यही नभएर अर्कै कुनै यससँग मिल्ने भाइरसको आक्रमण भएको हुनसक्छ । अझै अर्को शंका के भने उसलाई सातमध्ये अघातक चारमध्ये पनि कुनैले आक्रमण गरेको हुनसक्छ । आरडीटीमा पोजिटिभ र पीसीआर नेगेटिभ पनि धेरैको छ । यो चाहिँ आरडीटीलाई खास कुनै पत्याउने आधार छैन । विश्व स्वास्थ्य संगठनले त यो विधि र प्रविधि प्रयोग नगर्नू भनेको छ । तथापि नेपालमा केही नगर्नुभन्दा यही भएपनि गरौँ भनेर गरिराखिएको छ ।
नेपालीलाई बीसीजीलगायतका खोपका कारण प्रतिरोधात्मक क्षमता बढेको र यस भाइरसको ठूलो आक्रमण नभएको भन्ने अर्धसत्य कुरा छ । यसमा विश्वास नगरिहाल्न सकिन्न । किनकि युरोपेली देशहरु, जहाँ यो धेरै फैलियो र मानिस मरे, त्यहाँ बीसीजी खोप नलगाए पनि हुने नियम थियो । त्यहाँ बीसीजीले रोक्ने रोग क्षयरोग (टीबी) सामान्य रोग मानिन्छ र यसलाई छेकबार नगरे पनि हुने त्यहाँको बुझाइ छ । यता चीन जहाँ कोभिड उत्पन्न भयो र धेरै मानिस मरे, त्यहाँ पनि साँस्कृतिक क्रान्तिका कारण बीसीजीलाई पहिला स्वीकार गरिएन । अहिले पनि उति अनिवार्य गरिएको छैन ।
कोरोनाले आक्रमण गरेपछि देखिने अन्तिम लक्षण भनेको निमोनिया हो । भाइरसले जीउलाई कमजोर बनाएपछि निमोकोकस व्याक्टेरियाले आक्रमण गरी निमोनिया लगाउने हो । उसो भए निमोनियाको खोप विकास भइसकेको छ र सो खोप लगाउनेहरुमा कोभिड लाग्दैन त ? विश्व स्वास्थ्य संगठन भन्छ, यसलाई सो खोपले थाम्दैन । त्यस्तै हेमोफिलस इन्फ्लुएन्जाको पनि खोप लगाएका मानिसले ढुक्क पर्न नसक्ने स्वास्थ्य संगठनले भनेको छ ।
गर्मीमा नआउला कि भन्ने थियो । यो पनि असत्य भयो अष्ट्रेलियामा निकै गर्मी छ, अहिले । तर, त्यहाँ पनि प्रकोप चलेकै छ । बूढालाई मात्र होइन बच्चा, शिशु सबैलाई देखिएको छ । तसर्थ यसमा केही भन्न सकिएन । पहिला गरिएका अनुमानहरु यो भाइरसको सम्बन्धमा पुष्टि गर्न नसकिएको अवस्था हो । घरायसी÷घरेलु÷आयुर्वेदिक तथा हामियोपेथिक औषधीहरुले केही काम गर्छ त भन्ने जिज्ञासा र विश्वास पनि छ । यर्थाथ के भने हाम्रा भान्सामा भित्रिने र छाकैपिच्छे भोजन गरिने केही वस्तुहरु अदुवा, बेसार, लसुन, प्याज, ताजा सागसब्जी, फलफूल आदिले प्रतिरोधी क्षमता बढाउने कुरामा दुईमत रहेन । तर, कोरोनालाई काँडेतार लगाउने कुरामा कुनै वैज्ञानिक आधार छैन ।
अन्य देशको तुलनामा नेपालमा संक्रमित कम हुनुका कारणमा पहिलो त चेकजाँच नै कम भएकोले संख्या पनि कम हुने नै भयो । दोश्रो पूर्वसावधानीका रुपमा अपनाइएको लकडाउन हो । यसको साँच्चै पालना भएको थियो र भारतबाट आउनेलाई रोक्न सकेको भए शिकारको संख्या एक सय नकट्ने रहेछ र मृत्यु निल हुनसक्थ्यो । बाहिरबाट आउनेलाई छेक्न नसके पनि लकडाउनले केही हैँसे गरेकै हो । तेस्रो कारण छ, नेपालको हावापानी र स्वच्छ वातावरण । जति वायु स्वच्छ उति कम कोरोना संक्रमण पाइएको छ, हालसम्मको रेकर्ड हेर्दा । एक त बलियो हावापानीमा हुर्किएका घामपानी खेपेका, वनऔषधी खाएका नेपालीको रोगसँग लड्ने क्षमता नै बलियो । अर्को प्रदूषण न्यून भएको हावा । किनभने यो भाइरस हावामा भएका धूलाका कणमा घर गरी बस्छ भन्ने कुराको पनि पुष्टि भएको छ ।
हाम्रो सावधानीको माध्यमको रुपमा लिइएको हात धुने चलन अति राम्रो । तर, सेनिटाइजर लगाउनु हानिकारक छ । त्यसमा पनि अनियन्त्रित रुपमा अप्रमाणिक कम्पनीहरुले हुलमुलमा बनाएका सेनिटाइजरले छाला सखाप पार्ने कुरामा दुईमत छैन । तसर्थ सेनिटाइजरभन्दा हात धुने काममै बल गरौँ । हात मात्र होइन अनुहार र खुल्ला भाग सबै नै साबुन वा ह्याण्डवास रसायनले धुनुपर्यो । विश्व स्वास्थ्य संगठनले हाम्रो मूख्याइँको उपहास पनि गरिरहेकै छ र भन्छ क्लोरिन पानी सडक वा घरमा छिट्ने, अरु कुनै अल्कोहलको स्पे्र हान्ने काम गर्दै नगर्नु । किनभने यसका लागि यी मिथ्या कुरा हुन् ।
केही मानिसहरुले नाकमा पानी हालेर निकाल्ने वा नाकको भित्री भाग पनि धुने प्रयास गरेको पाइयो कोरोनाबाट बच्न । तर, यो पनि निरर्थक प्रयास भन्छ, स्वास्थ्य संगठन । यस्तो प्रयासले साधारण राइनो भाइरस वा अन्य फ्लू भने नियन्त्रणमा आउनसक्छ । तर, कोरोना टेर्दैन । जब सजीव र निर्जीव दुवै रुपमा रहन्छ यो, तब यसबाट सावधानी निकै अप्ठेरो कुरा हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले बनाएको सचेतनामूलक पाटीमा लेखिएको छ – हाछ्यूँ गर्दा उछिटिएको छिटामा तीन घण्टा, एसी लगाएर बन्द राखिएको कोठामा केही दिन, तामाका भाँडामा चार घण्टा, प्लाष्टिक र स्टीलमा तीन दिन, कार्डबोर्डमा २४ घण्टा यो भाइरसको अक्रामक अवस्था रहिरहनेछ । त्यसैगरी शिशामा ९६ घण्टा, मोबाइल फोनको स्क्रीन(पर्दा)मा ९६ घण्टै, भित्तामा ३६ घण्टा र ओसिलो हावामा ३४ मिनेटसम्म अक्रामक रहन्छ । त्यसैले कुरा बुझौँ यी स्थान र वस्तु छुनुभएन । उसो त नछोइकन पनि भाइरस जीउमा सल्किन्छ । किनभने ६ फिटसम्म टाढाबाट पनि श्वासको माध्यमबाट फड्केर सर्छ ।
कोरोना चमेराबाट आएको शंका गरिएको छ । चमेरोबाट अन्य कुनै जीवमा गयो र त्यसबाट मानिसमा आयो भन्ने कुरामा वैज्ञानिकले विश्वास गरेका छन् । चमेरोबाट मात्र होइन, अधिकांश महामारीजन्य र मृत्युप्रदायक रोगहरु अन्य जंगली जनावर र हाम्रा घरपालुवा जनावरबाट पनि आउँछन् । त्यसैले कुनै पनि जनावरसँग घुममिल नगरौँ । यो भाइरस कडा र सबैभन्दा घातक चाहिँ होइन । जस्तै मानौ न रेबिज भाइरस कति खतरा छ, लागे पछि बाँचिदैन । तर, कोरोना लागे पनि बाचिन्छ । सय जना यसको शिकार भएका हुन् भने औषतमा चार जना मरेका छन् । त्यति मात्र होइन विस्तारै मानिसदेखि मानिसमा फैलिँदै आउँदामा यो पनि कमजोर बन्दै जान्छ र जति कान्छो सन्तानको भाइरस भयो उति नै कम आक्रमक र कमजोर । यसले हामीलाई रोगी बनाउन सक्दैन । अब हाम्रो आशा पनि यही हो कि ऊ कमजोर बन्दैजाला र हामी सबल बन्दै जाउँला । अरु केही उपाय छैन, खोप र दबाई नै बनेका छैनन् ।
इमेल: ramchandra.adhikari@gmail.com.