विराटनगर। नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका स्थित दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभएको छ । वैशाख ३० गते भारतबाट नेपाल आएपछि क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएर आइतबार विहान उनको मृत्यु भएको थियो ।
लगातार दुई घन्टा वान्ता गरेका उनको बिहान ४ बजे मृत्यु भएको थियो । मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।
शनिबार मात्र कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो मृत्यु पुष्टि भएको थियो । सिन्धुपाल्चोककी २६ वर्षीया सुत्केरी महिलाको बिहीबार मृत्यु भएको थियो । मन्त्रालयले शनिबार उनको मृत्यु कोरोना संक्रमणबाट भएको घोषणा गरेको थियो ।
पहिलो मृत्यु भएको तीन दिनपछि दोस्रो मृत्यु भएको छ । नेपालमा पहिलो पटक गत माघ ९ गते कोरोना संक्रमित भेटिएका थिए । अहिलेसम्म २९२ जना संक्रमित भएका छन् भने ३६ जना उपचारपछि निको भएका छन् ।