विर्तामोड । भारतीय नागरिकको एक समूहले नेपाल प्रवेश गर्ने प्रयास गर्दै झापाको दक्षिणी सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीको अस्थायी पोस्टमा आक्रमण प्रयास गरेपछि गोली चलेको छ ।
भारतीय जत्थाले आफूमाथि आक्रमण गर्न खोजेपछि दक्षिणी झापाको कचनकवल सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।
आक्रमणको प्रयास भएपछि सशस्त्र प्रहरी प्रतिकारमा हवाई फायर गरेको हो । कचनकवल १ घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
शनिबार साँझ साढे ७ बजेको समयमा करिब दुई सय भारतीय नागरिकको जत्थाले नेपाली भूमिमा आएर सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेको थियो । प्रहरीले गोली चलाएपछि उनीहरू त्यहाँबाट भागेका थिए। भारतीय नागरिकले सीमा क्षेत्रमा आएर आक्रमण प्रयास गरेपछि भारतीय एसएसबीसँग समन्वय गरिएको झापा प्रशासनले जनाएको छ ।
केही दिनअघि नेपाली भूमिमा अन्नबाली लगाएका भारतीय नागरिकलाई नेपालका सुरक्षाकर्मीले सीमामै रोकेका थिए । सोही विषयलाई लिएर उनीहरू फेरि आएको बताइएको छ। केही दिनअघि मात्र झापा गाउँपालिका ४ स्थित सुकुमबासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलरमा भारतीहरुले आक्रमण गर्न खोजेपछि सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो ।