विराटनगर । नेपालमा कोरोना भाइरसको कारण अहिलेसम्म कसैको मृत्यु भएको पुष्टि भइसकेको छैन । गत बिहीबार काठमाडौंको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएको भएपनि पुनः परीक्षण भइहरेको भन्दै सरकारले मृत्युको कारणबारे आधिकारिक घोषणा गरिसकेको छैन ।
नेपालमा अहिलेसम्म भेटिएका संक्रमितहरुको अवस्था सामान्य रहेकोले कसैको मृत्यु नभएको हो । तर, सरकारले कसैको मृत्यु भएमा कसरी शवको व्यवस्थापन र अन्तिम संस्कार गर्ने भन्ने कार्यबिधि तयार गरिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि गएको चैत २५ गते नै जारी गरेको हो । कार्यविधिमा कोभिड १९ को कारण मृत्यु भएको शव जथाभावी सद्गत गर्न नहुने उल्लेख छ ।
कोभिड १९का कारणले मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्न नपर्ने र गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुनसक्ने हुनाले होसियारी अपनाएर गर्नुपर्ने कार्यबिधिमा उल्लेख छ । पोस्टमार्टम गरे यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर गर्न सकिनेछ ।
यस्तै कार्यविधिका अनुसार शवलाई चाँडो भन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्याउनुपर्दछ र शव लिन जानुपूर्व शववाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नुपर्दछ । शवलाई अस्पताल वा घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीईको पयोग गर्नुपर्दछ ।
कार्यबिधि अनुसार शवको पोस्टमार्टम गरेपश्चात तुरुन्त सबै सामाग्रीहरु डिसइन्फेक्टेन्ट गर्नुपर्छ । शवलाई कमभन्दा कम व्यक्तिले मात्रै छुने र मृतकको आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइ एक मटिर टाढाबाट पालैपालो एक–एक जनाले हेर्नसक्ने छन् ।